
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कम्पनीको सञ्चालक समितिका अध्यक्ष उदीप श्रेष्ठको सभापतित्वमा सोमबार विराटनगरमा साधारण सम्पन्न भएको हो ।
अध्यक्ष श्रेष्ठले कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणसहितको वार्षिक प्रतिवेदन पारित गर्ने र सञ्चालक समितिको प्रतिवेदन तथा अन्य प्रस्तावहरू अनुमोदनका लागि सभा समक्ष राखे ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले स्वागत मन्तव्य राख्दै कम्पनीको प्रगति विवरण र कम्पनीका भावी कार्यक्रमहरू पेश गरे ।
कम्पनी स्थापना कालको तेस्रो वर्षमा ४ करोड ७ लाख ५८ हजार ६४२ खुद नाफा आर्जन गर्न सफल भएको भण्डारीले बताए । उनले कम्पनीलाई लघु जीवन बीमाको क्षेत्रमा अब्बल बनाई आगामी दिनमा शेयरधनीलाई उचित प्रतिफल दिन सक्षम बनाउने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै, सभामा नेपाल बीमा प्राधिकरणकी कोशी प्रदेश प्रमुख प्रिती देवले कम्पनीको सफलताको शुभकामना व्यक्त गरिन् ।

अध्यक्षले साधारणसभा समक्ष पारित वा अनुमोदनका लागि राखेका सबै प्रस्तावहरूमाथि छलफल भई सभाबाट अनुमोदन भएका छन् ।
— आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्न पेश गरिएको प्रस्ताव सभामा छलफल भई उक्त प्रतिवेदन सर्वसम्मतले पारित भयो ।
— आव २०८१/८२ को लेखापरीक्षकको प्रतिवेदनसहित लेखापरीक्षण गरिएको २०८२ असार मसान्तको वासलात र सोही मितिमा समाप्त आव २०८१/८२ को नाफा नोक्सान हिसाब, अन्य विवरणहरूसहितका अनुसूचीहरू पारित गर्न पेश गरिएको प्रस्ताव सभामा छलफल भई लेखापरीक्षकको प्रतिवेदनसहित लेखापरीक्षण गरिएको आव २०८१/२०८२ वित्तीय विवरण सभाबाट सर्वसम्मतले पारित भयो ।
— लेखा समितिको सिफारिसमा नेहा एन्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई बाह्य लेखापरीक्षणका लागि नियुक्त गर्ने प्रस्ताव सभाबाट सर्वसम्मतीले पारित भयो ।
— गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले हालको चुक्ता पुँजी रु. ७५ करोडको १०० प्रतिशत (१:१) हकप्रद शेयर जारी गर्ने सम्बन्धमा नियामक निकायको स्वीकृतिपश्चात आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पारित ।
