०६ साउन २०८३, बुधबार

उत्साहजनक सहभागितासँगै सकियो किन्डर ओलम्पिक

पुस १५, २०८२
काठमाडौं
उत्साहजनक सहभागितासँगै सकियो किन्डर ओलम्पिक

नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ)द्वारा काठमाडौँमा आयोजित एनएसएसएफ १३औं किन्डर ओलम्पिक मंगलबार सम्पन्न भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको कार्यक्रमको दोस्रो चरणमा ६७ विद्यालयका करिब एक हजार ६ सय विद्यार्थी सहभागी भएको आयोजकले जनाएको छ ।

दशरथ रंगशालामै भएको पहिलो चरणको किन्डर ओलम्पिकमा उपत्यकाका विभिन्न ३४ विद्यालयका एक हजार पाँच सय ४० विद्यार्थी सहभागी थिए ।

सहभागीहरूको मार्चपासपछि पूर्वसांसद् माधव सापकोटाले ओलम्पियन भारोत्तोलक कमलबहादुर अधिकारीलाई किन्डर ओलम्पिकको टर्च हस्तान्तरण गरेका थिए ।

कमलसँगै ओलम्पियन एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र कबड्डीकी मानमति विष्टले ओलम्पिक टर्चलाई दशरथ रंगशालाको ट्रयाकमा परिक्रमा गराएका थिए ।

पहिलो चरणमा पनि यी चार खेलाडीले नै ओलम्पिक टर्चलाई ट्रयाकमा परिक्रमा गराएका थिए । कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको शुभकामना सन्देश प्रशारण गरिएको थियो भने पहिलो चरणको कार्यक्रमको संक्षिप्त श्रव्यदृष्य पनि प्रस्तुत गरिएको थियो ।

किन्डर ओलम्पिकमा विभिन्न १२ खेलको प्रतिस्पर्धा भएको थियो । बालबालिकाका लागि मनोरञ्जनात्मक प्रदर्शन पनि राखिएको थियो ।

एनएसएसएफका महासचिव राजकुमार कार्कीले उत्साहजनक सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गरे । उनले आगामी संस्करण अझ भव्य रूपमा आयोजना गर्ने प्रतिबद्धता जनाए ।

पुस १२ गते भएको पहिलो चरणको कार्यक्रमको सभामुख देवराज घिमिरेले उद्घाटन गरेका थिए । यसअघि पुस ४ गते शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले किन्डर ओलम्पिकको मस्कट अनावरण गर्नुका साथै एनएसएसएफका अध्यक्ष विनोद श्रेष्ठलाई ओलम्पिक टर्च हस्तान्तरण गरेका थिए ।

सानै उमेरदेखि बालबालिकालाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले सन् २०१२ मा ईसीईटीएले किन्डर ओलम्पिकको सुरुआत गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्