
विभिन्न माग राख्दै अनसनमा बसेका डा. कमल भुसाल (निकोलस भुसाल)को स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पताल भर्ना गरिएको छ ।
उनलाई बुधबार दिउँसो अस्पताल भर्ना गरिएको हो । उनलाई अस्पताल भर्ना गरेपछि नेपाल चिकित्सक संघले डा. भुसालको जीवन रक्षाका लागि अविलम्ब आवश्यक कदम चाल्न सरकारसँग माग गरेको छ ।
'काठमाडौंको माइतीघर मण्डलामा आमरण अनसनमा बस्नुभएका नेपाल चिकित्सक संघका आजीवन सदस्य डा. कमल भुसाल (निकोलस भुसाल)को स्वास्थ्यमा विभिन्न समस्याहरू देखा परेकाले नेपाल चिकित्सक संघको पहलमा उहाँलाई काठमाडौंको वीर अस्पतालमा भर्ना गरिएको छ । डा. भुसालको जीवन रक्षाका लागि अविलम्ब आवश्यक कदम चाल्न नेपाल चिकित्सक संघ नेपाल सरकारलाई हार्दिक आग्रह गर्दछ,' संघले भनेको छ ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै भुसालले आमरण अनसन शुरू गरेका थिए ।

