१० साउन २०८३, आइतबार
कांग्रेसमा किचलो

पेचिलो बन्यो कांग्रेसको महाधिवेशन विवाद, जोडतोडले अघि बढ्यो विशेषको तयारी

पुस १६, २०८२
काठमाडौं
पेचिलो बन्यो कांग्रेसको महाधिवेशन विवाद, जोडतोडले अघि बढ्यो विशेषको तयारी

आज १६ पुस अर्थात् नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भइसक्नुपर्ने दिन ।

महिनौं लामो विवादलाई निर्णयमा पुर्‍याउँदै १५ मंसिरको केन्द्रीय समिति बैठकले गरेको निर्णय लागु हुन्थ्यो भने यतिबेला देशभरका ६ हजार ७४३ वडामा नेपाली कांग्रेसले नयाँ कार्यसमिति पाउने थियो ।

तर, विडम्बना वडा अधिवेशन गर्नुपर्ने दिन नेपाली कांग्रेसभित्र नियमित कि विशेष महाधिवेशन भन्ने ‘आगो’ सल्किएको छ । संस्थापन पक्ष अर्थात् सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको पक्ष वर्तमान कार्यतालिका अनुसार महाधिवेशन गर्न नसक्ने स्पष्ट अडानमा छ ।

त्यसलाई काउन्टर दिँदै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको समूह भने विशेष महाधिवेशन गर्न लागि परेका छन् । यसले देखाउँछ, कांग्रेस ‘महाधिवेशन नियमित कि विशेष’ भन्ने आगोमा जल्दैछ ।

मंगलबार बिहान पत्रकारहरूसँग संवाद गर्दै सभापति शेरबहादुर देउवाले २१ फागुनको आम निर्वाचनअघि नियमित महाधिवेशन हुन नसक्ने बताए । नियमित हुन नसक्ने अवस्थामा विशेष महाधिवेशनको औचित्य झन् पुष्टि नै हुन नसक्ने उनको भनाइ थियो ।

‘महाधिवेशन गरेर गए निर्वाचनमा त्यसको असर पर्छ । महाधिवेशनमा अवसर नपाउनेहरू चुनाव हराउन लाग्छन्,’ देउवाको भनाइ थियो ।

त्यही भनाइ आएको २४ घण्टापश्चात महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालमा लेख्दै विशेष महाधिवेशनको पुस मसान्तमा हुने बताए ।

महामन्त्री थापाको स्टाटस आएको केही समयपश्चात यो समूह विशेष महाधिवेशनका लागि विभिन्न छलफल र भेलामा जुटेको छ ।

अनामनगरस्थित महामन्त्री थापाको सम्पर्क कार्यालयदेखि अन्य विभिन्न स्थानमा छलफल र बैठकहरू भइरहेका छन् ।

संस्थापन पक्षले चुनावअघि महाधिवेशन नगर्ने भनेपश्चात विशेष महाधिवेशन पक्षधर नेताहरू भने पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा विशेष महाधिवेशन गर्ने तयारीमा लागेका छन् ।

 ‘विशेष महाधिवेशनको तयारी गर्न विभिन्न मिटिङ शुरू भएको छ । तयारीका लागि विभिन्न छलफल भइरहेको छ । विशेष महाधिवेशनले स्वरूप लिन थालेको छ,’ एक नेताले भने ।

१५ मंसिरको केन्द्रीय समिति बैठकले म्याराथन गतिमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको थियो, जसमा नयाँ क्रियाशील सदस्यता वितरण र पुरानाको नवीकरण ११ पुसभित्र सक्ने तालिका बनाइएको थियो ।

क्रियाशील व्यवस्थापन समिति संयोजक गगन थापा नेतृत्वले काम गरे पनि क्रियाशीलको सूची फाइनल भइसकेको छैन । पार्टीमा क्रियाशील सदस्यता नै महाधिवेशनको मेरुदण्ड हो ।

क्रियाशील सदस्यबाट नै क्षेत्रीय प्रतिनिधि छानिने र त्यसले महाधिवेशन प्रतिनिधि छान्ने गर्दछ । नेपाली कांग्रेसमा निरन्तर १५ वर्ष क्रियाशील सदस्य भएको जो कोही पनि केन्द्रीय सभापति लड्न पाउँछ । त्यसैले क्रियाशीलको लफडा नमिलेसम्म पार्टीले अधिवेशन गर्न सक्दैन ।

कांग्रेसमा क्रियाशीलको लफडा र किचलोको विषय नयाँ भने होइन । अघिल्ला महाधिवेशनमा पनि विवादरहित ढंगले क्रियाशील सदस्यता फाइनल भएको होइन ।

पुराना विवादहरू पनि बाँकी नै रहेको र नयाँमा काम गर्न नसक्दा पार्टीको १५ औँ महाधिवेशन छोटो समयमा हुन नसकेको हो । त्यसैले विशेष महाधिवेशन गर्दै चुनावअघि नै नेतृत्व परिवर्तन गर्न कांग्रेसीहरू लागिपरेका हुन् ।

महामन्त्रीद्वयले नै आह्वान गर्दैछन् विशेष महाधिवेशन

२३ र २४ भदौको जेनजी विद्रोहपश्चात कांग्रेसभित्र महाधिवेशनको बहस तीखो बनेर छेडिएको हो ।

२४ गते निर्धात कुटाइ खाएर सभापति शेरबहादुर देउवा सेनाबाट उद्धार हुँदै स्वास्थ्य लाभ गरिरहँदा देउवाले नेतृत्व छाड्नुपर्ने र महाधिवेशन गर्नुपर्ने आवाज उठेको थियो । सके नियमित, नसके विशेष महाधिवेशन गर्नुपर्ने मत पार्टीमा थियो । संस्थापन पक्षले भने यसलाई सहज मानेन ।

इतरलाई काउन्टर दिन थालेपश्चात् उनीहरूले महाधिवेशन माग्दै प्रतिनिधिहरूमार्फत हस्ताक्षर अभियान चलाएका थिए । गुरू घिमिरे, देवराज चालिसे, मनोजमणि आचार्य, सीता मिजार, उमा शिवाकोटी, मधु आचार्यलगायत हस्ताक्षर अभियान चलाउन लागि परे ।

महामन्त्री थापाकै सचिवालयमा बसेका नेता/कार्यकर्ताहरूले यस अभियानलाई सफल बनाए । २ हजार ८४४ जनाको हस्ताक्षर संकलन गरे । उनीहरूले २८ असोजमा पूर्णबहादुर खड्का कार्यवाहक सभापति बनेपश्चात् २९ असोजमा हस्ताक्षर बुझाए ।

पार्टी विधानको धारामा टेक्दै ४० प्रतिशतमाथि हस्ताक्षर बुझाएपश्चात विशेष महाधिवेशनको माहोल बनेको थियो । तर, संस्थापन पक्षले नियमित महाधिवेशन गर्नुपर्ने भन्दै निरन्तर दबाब दिएपश्चात कांग्रेसले २६ देखि २८ सम्म १५ औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोबमोजिम केन्द्रीय महाधिवेशन हुन नसकेपश्चात विशेष गर्ने कसरत भएको हो ।

यतिसम्म कि नियमित महाधिवेशन गर्ने भए वडा क्षेत्र र केन्द्रको महाधिवेशन गर्नुपर्छ भन्दै तालिका संशोधन गर्न सकिने प्रस्ताव गगन थापाले केही दिनअघिको कार्यसम्पादन समिति बैठकमा राखेका थिए । उक्त प्रस्ताव पनि पास नभएपश्चात विशेष महाधिवेशन गर्ने निर्णयमा थापा पनि पुगेका हुन् ।

‘नियमित हुन सकेन । अब विशेष महाधिवेशन हुन्छ । पुस मसान्तमै हुन्छ,’ महामन्त्री थापा भन्छन् ।

विशेष महाधिवेशन पक्षधर अर्का नेता देवराज चालिसेसहितको टीम पुगेर पाँच दिनअघि विशेष महाधिवेशन गर्ने भन्दै स्मरण पत्र बुझाएका थिए ।

उनै चालिसे अब विशेष महाधिवेशनको दिशामा पार्टी अघि बढेको बताउँछन् ।

‘विधानसम्मत अधिवेशन माग्नेले पार्टी विभाजन गर्छ कि विधानबमोजिम अधिवेशन नगर्नेले ?’ चालिसे भन्छन्, ‘आज वडा अधिवेशन भएन । यसरी कसरी पार्टी चल्छ ?’

विशेष महाधिवेशन पक्षधर अर्का एक नेताका अनुसार विशेष महाधिवेशन पार्टी केन्द्रीय कार्यालयले बोलाउने छ ।

यसको अर्थ दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा विशेष महाधिवेशन गर्ने तयारी रहेको उनले बताए ।

‘पार्टी केन्द्रीय कार्यालय महामन्त्रीद्वयको नियन्त्रणमा हुन्छ । पार्टी केन्द्रीय कार्यालयले अधिवेशन बोलाउने भनेको महामन्त्रीद्वयको आह्वानमा अधिवेशन हुने हो,’ ती नेताले थपे ।

संस्थापनको अडान-चुनावपश्चात् मात्र वाडबाटै अधिवेशन

संस्थापन पक्षीय नेताहरू भने २१ फागुनको निर्वाचनपश्चात् मात्र पार्टी महाधिवेशन हुने स्पष्ट अडानमा छन् ।

पार्टी प्रवक्ता प्रकाशशरण महतले लोकान्तरसँग कुरा गर्दै चुनावअघि कुनै पनि हालतमा पार्टीको १५ औँ महाधिवेशन नहुने बताए ।

उनले शुरूआतमै असम्भव कार्यतालिका ल्याएको भन्दै क्रियाशील सदस्यता नटुंगिँदै कसरी महाधिवेशन हुन्छ ? भन्ने प्रश्न गरे ।

‘तालिका नै सम्भव नहुने गरी आएको थियो, अनि कसरी आज वडा अधिवेशन हुन्छ त ?’ महतले भने ।

कहिले हुन्छ त महाधिवेशन ? भन्ने प्रश्नमा उनले भने- ‘आमनिर्वाचनपश्चात मात्र वडादेखि अधिवेशन हुन्छ ।’

उनले पार्टी निरन्तर क्रियाशील सदस्यता टुंगो लगाउने दिशामा अघि बढ्ने पनि बताए । नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्ने तयारीमा महामन्त्रीहरू जुटेका छन् नि ? भन्ने प्रश्नमा उनले विशेष महाधिवेशन हुनै नसक्ने बताए ।

‘कताबाट विशेष भनेको? आम निर्वाचनमा जाने कि विशेष अधिवेशन लडेर बस्ने ?,’ महतको थप प्रश्न थियो, ‘अव्यावहारिक कुरा हुन्छ ? पार्टी चल्छ ?’

उनले निर्वाचनको तयारीमा जुट्दा विशेष महाधिवेशन भनेर केन्द्रमा को आउने भन्दै थप प्रतिप्रश्न गरे ।

मंगलबार बिहान पार्टी सभापति शेरबहादुर देउवाले पनि विशेष महाधिवेशन नहुने बताएका थिए ।

 

salt training

कमेन्ट गर्नुहोस्