
परम्परागत एसेस टेस्ट क्रिकेट शृंखलाको पाँचौं तथा अन्तिम खेलका लागि शुक्रबार इङ्ल्यान्डले आफ्नो टोलीको घोषणा गरेको छ ।
पाँच टेस्टको शृंखला घरेलु टोली अस्ट्रेलियाले यसअघि नै जितिसकेको छ । शृंखलामा अस्ट्रेलियन टोली ३–१ ले अगाडि छ ।
शृंखलाको पहिलो, दोस्रो र तेस्रो टेस्टमा अस्ट्रेलिया विजयी भएको थियो । चौथो टेस्टमा भने भ्रमणकारी टोली इङ्ल्यान्ड विजयी भएको थियो ।
पाँचौं टेस्ट आइतबारदेखि शुरू हुनेछ । पाँचौं टेस्टका लागि घोषित इङ्ल्यान्डको १२ सदस्यीय टोलीमा दुई वटा परिवर्तन गरिएको छ ।
स्पिनर शोएब बशीर र तीव्रगतिका बलर म्याथ्यू पट्सलाई टोलीमा समावेश गरिएको छ । यसका अतिरिक्त, गस एटकिन्सनलाई पनि टोलीमा स्थान दिइएको छ ।
टोलीको कप्तानी बेन स्टोक्सले गर्नेछन् भने अनुभवी जो रुटलाई पनि टोलीमा समेटिएको छ ।
इङ्ल्यान्डको टोलीमा बेन स्टोक्स (कप्तान), सोएब बशीर, ज्याकब बेथल, ह्यारी ब्रुक, ब्राइडन कार्स, ज्याक क्रावली, बेन डकेट, विल ज्याक्स, म्याथ्यू पट्स, जो रुट, जामी स्मिथ र जोस टङ छन् ।
पाँचौं टेस्ट हुने सिड्नी क्रिकेट ग्राउन्डमा हालसम्म इङ्ल्यान्डले ५७ टेस्ट खेलेको छ । त्यसमध्ये इङ्ल्यान्डले २२ खेल जितेको छ । २७ टेस्टमा इङ्ल्यान्ड पराजित भएको छ ।
आठ टेस्ट भने बराबरीमा सकिएको छ । इङ्ल्यान्डले सिडनी क्रिकेट ग्राउन्डमा अन्तिम टेस्ट सन् १५ वर्षअघि जितेको थियो ।
अस्ट्रेलियाका अनुभवी ब्याट्सम्यान उस्मान ख्वाजाले पनि पाँचौं टेस्टपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरिसकेका छन् ।