
अफ्रिकी मुलुक कङ्गोमा ईस्लामिक समूहसँग सम्बन्धित विद्रोहीले तीन गाउँमा एकैसाथ आक्रमण गर्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।
उत्तर–पश्चिम नर्थ किभु प्रान्तमा राति सात किलोमिटरको क्षेत्रमा विद्रोहीले हमला गरेको स्थानीय नेता माकाएर सिभिकुनुलाले बताए । उनले भने, 'तीन गाउँमा एकसाथ हमला भयो। राति ८ बजेदेखि १० बजेसम्म गोलीबारी भयो । १५ जनाको मृत्यु भयो र १३ घर जले ।'
स्थानीय बासिन्दाहरूले पनि यस आक्रमणलाई पुष्टि गरेका छन् । सेनाले दुई जना सैनिकको पनि मृत्यु भएको जनाएको छ ।
यो समूह प्रारम्भमा युगान्डाका पूर्व विद्रोहीहरूले गठन गरेका थिए र १९९० दशकदेखि उत्तरपूर्वी कङ्गोमा सक्रिय छन् । यसले हजारौं सर्वसाधारणको हत्या गरिसकेको छ ।
सन् २०२१ देखि युगान्डाका सैनिकहरू कङ्गोको सेनासँग मिलेर यस समूहविरुद्ध लडेका छन्, तर हिंसा रोक्न सफल भएका छैनन् ।
विद्रोही प्रायः असहाय नागरिकमाथि हमला गर्छन् र त्यसपछि जङ्गलतर्फ भाग्छन् ।