०४ साउन २०८३, सोमबार
भेनेजुएलामा अमेरिकी आक्रमण

मादुरो पक्राउ पर्दाको अवस्थाबारे ट्रम्पको खुलासा, घरभन्दा पनि किल्लाजस्तो स्थानमा भेटिए

पुस १९, २०८२
काठमाडौं
मादुरो पक्राउ पर्दाको अवस्थाबारे ट्रम्पको खुलासा, घरभन्दा पनि किल्लाजस्तो स्थानमा भेटिए

वासिङ्टन । अमेरिकी सैन्य कारबाहीसँगै भेनेजुएलामा निकोलस मादुरोको शासनसत्ता ढलेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा ठूलो मात्रामा हवाई आक्रमण गरिएको र राष्ट्रपति निकोलस मादुरोलाई उनकी पत्नी सिलिया फ्लोरेससहित नियन्त्रणमा लिई 'देश बाहिर लगिएको' पुष्टि गरेका छन्।

शनिबार फक्स न्युजसँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले यस अपरेशनका सनसनीपूर्ण विवरणहरू साझा गर्दै मादुरो लुकेको स्थान कुनै सामान्य घर नभई 'एउटा मजबुत किल्ला' भएको बताएका छन्।

ट्रम्पका अनुसार अमेरिकी विशेष फौजले मादुरोलाई नियन्त्रणमा लिन निकै सावधानीपूर्वक योजना बुनेको थियो। 'हामीले यो अपरेशन चार दिनअघि नै गर्ने तयारी गरेका थियौँ, तर मौसमले साथ दिएन,' ट्रम्पले भने, 'हामीलाई पूर्ण रूपमा सफा मौसम चाहिएको थियो। अचानक मौसम खुल्यो र हामीले आक्रमणको आदेश दियौँ।'

मादुरो पक्राउ पर्दाको अवस्थाबारे वर्णन गर्दै ट्रम्पले भने, 'उनी यस्तो घरमा थिए जुन घरभन्दा पनि बढी किल्लाजस्तो देखिन्थ्यो। त्यसको चारैतिर ठोस स्टिलको घेरा थियो। हामीले निकै शक्तिशाली र सर्जिकल आक्रमण गर्नुपर्‍यो।' उनले मादुरोलाई आत्मसमर्पण गर्न एक हप्ताअघि नै अल्टिमेटम दिएको समेत खुलासा गरे।

बीबीसीको अमेरिकी साझेदार सीबीएस न्युजका अनुसार यो उच्च जोखिमयुक्त अपरेशन अमेरिकी सेनाको कुख्यात 'डेल्टा फोर्स'ले सम्पन्न गरेको हो। अधिकारीहरूका अनुसार भेनेजुएलाका विभिन्न रणनीतिक स्थानहरूमा एकसाथ आक्रमण गरिएको थियो। बीबीसी भेरिफाईले काराकासको ला कार्लोटा सैन्य विमानस्थल, ला गुएरा बन्दरगाह, हिगुएरोटे विमानस्थल र फुएर्टे ट्युना सैन्य परिसरमा भीषण बमबारी भएको पुष्टि गरेको छ।
बीबीसी संवाददाता विल ग्रान्टका अनुसार यो शीतयुद्धपछिको अमेरिकी महाद्वीपमा भएको सबैभन्दा ठूलो अमेरिकी सैन्य परिचालन हो। केही हप्तादेखि बढ्दै गएको तनावले अन्ततः यो युद्धको रूप लिएको हो।

यसैबिच आफ्ना राष्ट्रपति पक्राउ परेपछि भेनेजुएला सरकारले राष्ट्रिय संकटकाल घोषणा गरेको छ। भेनेजुएलाको कार्यवाहक नेतृत्वले अमेरिकी आक्रमणविरुद्ध अन्तर्राष्ट्रिय जगतसँग सहयोगको अपिल गरेको छ। आन्तरिक मामिला मन्त्री डियोस्डाडो काबेलोले नागरिकहरूलाई शान्त रहन र सेनामाथि भरोसा राख्न आग्रह गरेका छन्।


अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भेनेजुएलामा अब थप सैन्य कारबाहीको आवश्यकता नरहेको संकेत दिएका छन्। रिपब्लिकन सिनेटर माइक लीका अनुसार रुबियोले अबको प्रक्रिया राजनीतिक र कानुनी हुने विश्वास व्यक्त गरेका छन्।

अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले मादुरो र उनकी पत्नीमाथि न्यूयोर्कको दक्षिणी जिल्ला अदालतमा 'नार्को-टेररिज्म' (लागूऔषध आतंकवाद), कोकिन तस्करी र मेसिन गन जस्ता खतरनाक हतियार राखेको अभियोगमा मुद्दा दर्ता गरिएको जानकारी दिइन्। 'उनीहरूले अब अमेरिकी माटोमा अमेरिकी न्यायको कठघरामा उभिनुपर्नेछ,' बोन्डीले भनिन्।

छिमेकी देशहरूको सतर्कता
कोलम्बियाले आफ्ना सैनिकहरूलाई भेनेजुएला सीमामा तैनाथ गरेको छ। राष्ट्रपति गुस्ताभो पेट्रोले सम्भावित शरणार्थी संकटलाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसंघको तत्काल बैठक माग गरेका छन्।

 क्युबा, चिली र बोलिभिया जस्ता देशहरूले अमेरिकी हस्तक्षेपको कडा निन्दा गरेका छन् भने बेलायती प्रधानमन्त्री कीर स्टार्मरले यसमा आफ्नो देशको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलाको तेल उद्योगमा अमेरिका अब बलियो रूपमा संलग्न हुने स्पष्ट पारेका छन्। यसले भेनेजुएलाको प्राकृतिक स्रोतमाथि अब अमेरिकी नियन्त्रण बढ्ने संकेत दिएको छ। समाचारहरुका अनुसार मादुरोलाई अमेरिकी सेनाले आफ्नो देश लगेको छ । 

salt training

कमेन्ट गर्नुहोस्