
संयुक्त राज्य अमेरिकाको संयुक्त सेनाका प्रमुख जनरल ड्यान केनले शनिबार बिहान भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिन गरिएको अमेरिकी सैन्य अपरेसनबारे विस्तृत विवरण सार्वजनिक गरेका छन् ।
उनका अनुसार महिनौंको तयारीपछि अत्यन्त गोप्य र योजनाबद्ध ढंगले यो अपरेसन सम्पन्न गरिएको हो ।
उक्त कारबाहीलाई अपरेसन ‘एब्सोल्युट रिजोल्भ’ नाम दिइएको थियो । अपरेसनमा १५० भन्दा बढी विमान प्रयोग गरिएका थिए, जसमा लडाकु विमान, बमवर्षक, निगरानी तथा गुप्तचर विमान र हेलिकप्टर समावेश थिए ।
स्थलसेना, नौसेना, वायुसेना, मरीन, स्पेस फोर्स तथा विभिन्न गुप्तचर निकायसहित संयुक्त फोर्स मिशनमा संलग्न थियो ।
प्रयोगगरिएकाविमानहरू:
जनरल केनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार राति १०:४६ बजे मिसन शुरू गर्न आदेश दिएका थिए । राष्ट्रपतिबाट आएको ‘गुड लक एन्ड गडस्पिड’ सन्देश सम्पूर्ण फोर्ससम्म पुर्याइएको थियो । मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिने 'एक्स्ट्र्याक्सन फोर्स'मा कानून कार्यान्वयन निकायका अधिकारीहरू पनि सहभागी थिए ।
हेलिकप्टरहरू भेनेजुएलातर्फ अघि बढ्दा समुद्र सतहभन्दा करिब १०० फिट माथि उडिरहेका थिए । लक्ष्य नजिकिँदै गर्दा हेलिकप्टरहरू सुरक्षित रूपमा मादुरोको परिसरमा अवतरण गर्न सकून् भनेर हवाई प्रतिरक्षा प्रणाली निष्क्रिय पारिएको केनले बताए । हेलिकप्टरहरू स्थानीय समयअनुसार बिहान २:०१ बजे परिसरमा पुगेका थिए ।
परिसरमा अवतरणलगत्तै गोली प्रहार भएको र आत्मरक्षाका लागि अत्यधिक बल प्रयोग गरी जवाफ दिइएको केनले जानकारी दिए । एउटा हेलिकप्टरमा प्रहार भए पनि उडानयोग्य नै रहेको जनाइएको छ ।
मादुरो र उनकी पत्नीलाई अमेरिकी न्याय विभागका अधिकारीहरूले अमेरिकी सेनाको सहयोगमा नियन्त्रणमा लिएका थिए । यस क्रममा कुनै मानवीय क्षति नभएको केनको दाबी छ ।
हेलिकप्टरहरू परिसरबाट बाहिरिँदा लडाकु विमान र ड्रोनले सुरक्षात्मक फायर उपलब्ध गराएका थिए । एक्स्ट्र्याक्सन फोर्स पूर्वी समयअनुसार बिहान ३:३९ बजे समुद्रको माथि पुगेपछि मादुरो र उनकी पत्नीलाई अमेरिकी युद्धपोत यूएसएस इवो जिमामा लगिएको थियो ।
यसबीच, भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले शनिबार बिहान राज्य टेलिभिजनमार्फत ‘निर्दोष मानिसहरूको मृत्यु भएको’ दाबी गरेकी थिइन् । तर, उनले त्यसबारे कुनै ठोस विवरण दिइनन् ।
पछि दिएको भाषणमा पनि उनले यो विषय उल्लेख गरिनन् ।
जनरल केनले यो मिशन अत्यन्त सूक्ष्म योजना र महिनौंको अभ्यासको परिणाम भएको बताए । उनका अनुसार अमेरिकी सेना सीआईए, एनजीए र एनएसएसहितका गुप्तचर निकायसँग नजिकबाट समन्वयमा थियो ।
उनका अनुसार अमेरिकी गुप्तचर निकायलाई मादुरोको दैनिक गतिविधिको सम्पूर्ण विवरण थाहा थियो– 'उनी कहाँ सर्थे, कहाँ बस्थे, कहाँ यात्रा गर्थे, के खान्थे र कहाँ काम गर्थे' भन्ने सबै जानकारी उनीहरूसँग थियो ।
केनका अनुसार अपरेसन डिसेम्बरको शुरूमै तयारी अवस्थामा थियो । तर, आश्चर्यजनक ढंगले गर्नुको प्रभाव अधिकतम हुने भएकाले उपयुक्त दिनको प्रतीक्षामा तयारीलाई तत्कालका लागि रोकिएको थियो ।