२९ असार २०८३, सोमबार

मगर दम्पती हत्या प्रकरण : ​श्रृंखलाबद्ध हत्या र लुटपाटमा संलग्न​​ ४ जना पक्राउ​

पुस २०, २०८२
काठमाडौं
मगर दम्पती हत्या प्रकरण : ​श्रृंखलाबद्ध हत्या र लुटपाटमा संलग्न​​ ४ जना पक्राउ​

ओखलढुंगामा श्रृंखलाबद्ध हत्या र लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।​

चिशंखुगढी गाउँपालिका ६ मा किराना पसल सञ्चालन गर्ने ६० वर्षीय शोभितमान थापा मगर र उनकी श्रीमती ६० वर्षीया रत्नमाया थापा मगरको हत्या अनुसन्धान गर्दा उनीहरूले अर्का एक जनाको पनि हत्या गरेको रहस्य खुलेको हो ।

गत मंसिर १५ गते राति ८ बजे मगर दम्पतीको कोदालो प्रहार गरी हत्या भएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय ओलढुंगाको संयुक्त अनुसन्धानका क्रममा हत्यामा संलग्न उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ओखलढुंगा चिसाङ्गका मिलन भन्ने संगम राई, विनोद राई, प्रकाश भुजेल र अशोक भुजेल छन् ।

उनीहरूले मगर दम्पतीको हत्या गरेर गोठमा लगि स्याउलाले छोपिदिएका थिए । हत्या गर्नुको पछाडि लुटपाटको उद्देश्य रहेको प्रहरीले जनाएको छ । हत्यापछि मगरको पसल तथा कोठामा रहेको नगद र सुनका गरगहना लुटपाट गरेर उनीहरू भागेका प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरी अनुसन्धानका क्रममा उनीहरूले गत असोज २६ गते राति १० बजे ओखलढुंगाकै सिद्धिचरण नगरपालिका ४ चार्खुमा खेती किसानी गरेर बस्ने एकल महिला ५२ वर्षीया रत्नकुमारी कटवाललाई बन्चरो प्रहार गरेर हत्या गरेको रहस्य खुलेको छ ।

कटवालको हत्या गरेर उनीहरूले नगद र सुनका गरगहना लुटेका थिए ।

प्रहरीले उनीहरूको साथबाट हत्यामा प्रयोग भएको बन्चरोका साथै मृतक रत्नकुमारीको घरबाट लुटिएका सुनका गहना बरामद गरेको छ ।

अशोक भुजेलको घरबाट खुकुरी, विनोद राइको खल्तीबाट शोभितमानको किराना पसलबाट लुटिएको सयको रिचार्ज कार्ड, विनोद राईको र दोर्जे भन्ने अशोक भुजेलको घरबाट दुई नाल भरुवा बन्दुक बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार पक्राउ परेका चारै जनाविरुद्ध ​ओखलढुंगा जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि म्याद लिएर अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्