
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिग्जलाई धम्की दिएका छन् । उनले अमेरिकाले सही ठानेको बाटो नअपनाए डेल्सी रोड्रिग्जको हालत अपदस्थ राष्ट्रपति निकोलस मादुरोभन्दा पनि खराब हुन सक्ने चेतावनी दिएका हुन् ।
द अटलान्टिक म्यागजिनलाई दिएको अन्तर्वार्ताका क्रममा उनले यस्तो चेतावनी दिएका हुन्। यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले डेल्सी रोड्रिग्जसँग कुराकानी गरेको र भेनेजुएलाका जनताको जीवनस्तर सुधार्ने विषयमा अमेरिका राखेका अपेक्षामा उनी काम गर्न तयार रहेको ट्रम्पले बताएका थिए ।
न्युयोर्क पोस्टलाई दिएको अर्को अन्तर्वार्तामा ट्रम्पले डेल्सी रोड्रिग्जले अमेरिकाको कुरा माने भेनेजुएलामा अमेरिकी सेना तैनाथ गर्न नपर्ने बताएका छन् । उता, डेल्सी रोड्रिग्जले भने निकोलस मादुरोलाई सत्ताबाट हटाइएको विषयको आलोचना गर्दै अमेरिका मादुरोलाई फिर्ता पठाउनुपर्ने माग गरेकी छन् ।
ब्लूमबर्गका अनुसार भेनेजुएलाको सर्वोच्च अदालतले उपराष्ट्रपति रहेकी डेल्सी रोड्रिग्जलाई अन्तरिम राष्ट्रपतिको रूपमा तत्काल सम्पूर्ण अधिकारसहित कार्यभार सम्हाल्न आदेश दिएको छ ।
ट्रम्पले भेनेजुएलाको अवस्था अहिले अमेरिकाको नियन्त्रणमा रहेको दाबी गरेका छन् । आइतबार राति एयरफोर्स वनमा पत्रकारसँग कुरा गर्दै उनले अमेरिका भेनेजुएलाको नयाँ नेतृत्वसँग प्रत्यक्ष सम्पर्कमा रहेको बताएका थिए ।
उनले हालसम्म आफूले डेल्सी रोड्रिग्जसँग प्रत्यक्ष कुरा नगरे पनि आफ्ना सहयोगीहरूले सम्पर्क गरिरहेको बताएका थिए । ट्रम्पका अनुसार सहयोगको बदलामा अमेरिकाले डेल्सी रोड्रिग्जलाई केही दिएको छैन, तर उनी सहकार्य गरिरहेकी छन् ।
ट्रम्पले भेनेजुएलाको तेल र अन्य स्रोतमा अमेरिकालाई पूर्ण पहुँच चाहिएको बताएका छन् । उनले भेनेजुएलालाई ‘मरेको देश’ भन्दै तेल कम्पनीमार्फत ठूलो लगानी गरेर पूर्वाधार पुनर्निर्माण गर्नुपर्ने बताएका छन् ।
अमेरिकी सैनिकले जनवरी २ को राति भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरी न्यूयोर्क लगेको छ । उनीहरूलाई हाल डिटेन्सन सेन्टरमा राखिएको छ र हतियार तथा लागुऔषधसम्बन्धी मुद्दामा मुद्दा चलाइने जनाइएको छ ।