
काठमाडौँको बल्खुस्थित सुमो तथा ईभी भ्यानको टिकट काउन्टरमा कार्यरत ७ जना कर्मचारीहरूलाई प्रहरीले पक्राउ गरेको छ । लागुपदार्थ सेवन गरी यात्री तथा पैदलयात्रीहरूलाई दुःख हैरानी र सास्ती दिएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बल्खु क्षेत्रका टिकट काउन्टरमा खटिएका कर्मचारीहरूले लागुपदार्थ सेवन गरी अभद्र व्यवहार गर्ने गरेको जनगुनासो आएपछि प्रहरीले विशेष अप्रेशन चलाएको थियो । सोही क्रममा मिति आइतबार नेपाल प्रहरी अस्पताल महाराजगञ्जका प्राविधिक ल्याव टेक्निसियन, लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र प्रहरी वृत्त कालीमाटीबाट खटिएको संयुक्त प्रहरी टोलीले आकस्मिक परीक्षण गरेको थियो ।
परीक्षणका क्रममा लागुपदार्थ सेवन गरेको पुष्टि भएपछि प्रहरीले रौतहटका २० वर्षीय वसन्त कुमार यादव, चितवनका २७ वर्षीय साजन गुरुङ, तनहुँका २३ वर्षीय पारस गुरुङ र सोही जिल्लाका ३३ वर्षीय अनुप गुरुङलाई पक्राउ गरेको छ । त्यसैगरी झापाका ३८ वर्षीय बिक्कि श्रेष्ठ, काठमाडौँ बल्खुका ४२ वर्षीय अर्जुन भण्डारी र धादिङका २४ वर्षीय अस्मिन लामिछाने पनि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार पक्राउ परेका सातै जनालाई काठमाडौँ जिल्ला अदालतबाट ‘लागुपदार्थ सेवन’ कसुरमा सोमबार ५ दिनको म्याद थप अनुमति लिई हिरासतमा राखिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।