
नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकका कम्पनीमा रहेको ग्राहक विवरण क्यूआर कोडबाट लिंक प्राप्त गरी अपडेट गर्न सकिने कार्य (अनलाइन केवाईसी अपडेट) को परीक्षण थालेको छ ।
हाल दूरसञ्चार कार्यालय, सुन्धाराबाट यसको परीक्षण थालिएको नेपाल टेलिकमले जनाएको छ ।
सो सम्बन्धी परीक्षण कार्यको आरम्भ नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत गंगा सागर मातन्छे र प्रादेशिक निर्देशनालय काठमाडौं, बागमती प्रदेशका निर्देशक इन्दल यादवले संयुक्त रूपमा गरे ।
सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत गंगा सागर मातन्छेले नेपाल टेलिकमको सेवालाई ग्राहकमैत्री बनाउनमा यसले भूमिका खेल्ने अपेक्षा गरे ।
प्रादेशिक निर्देशनालय काठमाडौं, बागमती प्रदेशका निर्देशक इन्दल यादवले थोरै समयमा धेरै कार्य सम्पन्न हुन गई कम्पनीको उत्पादकत्वमा समेत प्रभाव पर्ने विश्वास व्यक्त गरे ।
दूरसञ्चार कार्यालय, सुन्धाराका कार्यालय प्रमुख निर्मल चटौतले डिजिटल रूपान्तरण, पेपरलेस वर्क र डाटा अद्यावधिक कार्य गर्नका लागि यसले सहयोग पुग्ने अपेक्षा गरे ।

यस अनुसार हाल आफ्नो नाम वा अन्य विवरण सच्याउनु पर्ने अवस्था भएका ग्राहकहरूले ग्राहक सेवा केन्द्रमा रहेको क्यूआर कोड स्क्यान गरी आवश्यक विवरण भर्न सक्ने छन् ।
सो विवरणको आधारमा नेपाल टेलिकमको सिस्टमले ग्राहकको विवरण प्रमाणित गरी अद्यावधिक गर्नेछ ।
हाल पहिलो चरणको परीक्षणको क्रममा क्यूआर कोडबाट स्क्यान गर्न सकिने अवस्था भएको र भविष्यमा नेपाल टेलिकमको वेबसाइट वा एपबाट समेत ग्राहक विवरण भर्न सकिने व्यवस्था हुने प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिए ।
उनका अनुसार पहिलो चरणमा दूरसञ्चार कार्यालय, सुन्धाराबाट परीक्षण प्रारम्भ गरिएको र सो परीक्षणको सफलतापश्चात क्रमशः काठमाडौं उपत्यकाका अन्य कार्यालय र उपत्यका बाहिरका कार्यालयमा समेत यो सुविधा उपलब्ध हुनेछ ।