
गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय सुरक्षासँग सम्बन्धी जोखिमको मूल्यांकनका सम्बन्धमा प्रदेश तहबाटै सुरक्षा सम्बन्धी सूचना संकलन, विश्लेषण, मूल्यांकन गरी शान्ति सुरक्षालाई भरपर्दो र मजबुत बनाउन निर्देशन दिएका छन् ।
गृहमन्त्री अर्याल प्रदेशका कर्मचारी नेतृत्व तथा सुरक्षा अधिकारीलाई विद्यमान सुरक्षा अवस्था, अपराध नियन्त्रण, सीमा सुरक्षा तथा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।
सातै प्रदेशका प्रमुख सचिव तथा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव र सुरक्षा निकायका प्रतिनिधिसहित मंगलबार मन्त्रालयमा बसेको बैठकलाई सम्बोधन गर्दै अर्यालले कानूनले दिएको अधिकार, व्यवहार र असल अभ्यासलाई समेत मनन गरी कर्मचारी र सुरक्षा निकायको मनोबल उच्च बनाई निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिए ।
‘सम्पूर्ण कर्मचारीहरूले प्रशासकको भूमिका भन्दा पनि सहजकर्ता, समन्वयकर्ता एवं उत्प्रेरकको भूमिका निर्वाह गर्नु अहिलेको आवश्यकता हो,’ अर्यालले भने,‘ तपाईंहरू आफूले प्राप्त गर्नुभएको प्रशासकीय अधिकारलाई र आफ्नो निर्णयको शक्तिलाई बोध गरेर प्रदेश र संघबीच समन्वयात्मक भूमिका खेल्दै निर्वाचनलाई सफल पार्न लागिपर्नुहोस् ।’
सुरक्षा संयन्त्र चुस्त र मजबुत बनाउनुपर्ने धारणा राख्दै गृहमन्त्री अर्यालले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, सहयोग र समन्वय कायम गरी समाजलाई थप गतिशील र प्रभावकारी बनाउने विषयमा जोड दिएका थिए ।
संविधानको मर्म अनुरूप तिनै तहबीच सहकारिता, समन्वय र सहअस्तित्वको सिद्धान्तको आधारमा संघीयतामा सुरक्षाको विषयलाई केन्द्रविन्दुमा राखेर संघ र प्रदेशको सम्बन्ध, सम्पर्क बढाई असल अभ्यासलाई अझ सुदृढ बनाउनुपर्ने उनको भनाइ छ ।
बैठकमा गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचनमा सुरक्षा संवेदनशीलता, भौगोलिक अवस्था र अन्य विषय र कारणसमेत पहिचान गरी विगतको अभ्यास र कमी कमजोरी भए सुधारसमेत गरी प्रभावकारी रूपमा सकारात्मक परिणाम देखिने गरी निर्वाचन कमान्ड पोस्टबाट सुरक्षा व्यवस्था मिलाउन ध्यान दिनु पर्नेमा जोड दिएका थिए ।
उनले राजनीतिक दलसँग सहयोग, समन्वय गरी स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रोयाक्टिभ भई कार्य गर्न निर्देशन दिएका थिए ।
बैठकमा कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्र कुमार पौडेल, बागमती प्रदेशका बाबुराम अधिकारी, गण्डकी प्रदेशका डण्डुराज घिमिरे, लुम्बिनी प्रदेशका कृष्णप्रसाद काप्री, कर्णाली प्रदेशका वीरेन्द्र कुमार यादव, सुदूरपश्चिम प्रदेशका वैकुण्ठ प्रसाद अर्याल र मधेश प्रदेशका कायम मुकायम प्रमुख सचिव कमल प्रसाद भट्टराई, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि र गृह मन्त्रालयका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।