२४ जेठ २०८३, आइतबार

डडेल्धुरा अस्पताल अशान्त- अध्यक्ष ओझामाथि दुर्व्यवहार, आकस्मिकबाहेक सेवा बन्दको चेतावनी

पुस २३, २०८२
धनगढी
डडेल्धुरा अस्पताल अशान्त- अध्यक्ष ओझामाथि दुर्व्यवहार, आकस्मिकबाहेक सेवा बन्दको चेतावनी

डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझामाथि बुधबार उनकै कार्यकक्षभित्र मोसो दलिएको छ । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट समूहले अस्पतालभित्रै प्रवेश गरी अध्यक्ष ओझामाथि दुर्व्यवहार गरेको हो ।

घटनाको जिम्मेवारी कम्युनिस्ट युवा संगठन नेपाल, डडेल्धुराले लिएको छ । संगठनका जिल्ला अध्यक्ष सहविरद्वारा हस्ताक्षरित आरोपपत्रमार्फत अस्पताल अध्यक्ष ओझामाथि ‘जनकारबाही किन ?’ भन्दै दश बुँदे आरोप सार्वजनिक गरिएको छ ।

के छन् आरोप ?

आरोपपत्रमा अध्यक्ष ओझामाथि गम्भीर भ्रष्टाचार र बेथिति गरेको भनिएको छ । जसअनुसार कमिसनको लोभमा अस्पतालका स्वास्थ्य उपकरण जानाजानी बिगारेर नयाँ खरिद प्रक्रिया अघि बढाई लाखौं रूपैयाँ भ्रष्टाचार गरेको, दक्ष र अनुभवी जनशक्ति भर्ना नगरी आर्थिक चलखेलमार्फत् अस्पताललाई राजनीतिक भर्ती केन्द्र बनाएको, अस्पताललाई मदिरा सेवन गर्ने थलो बनाएको भनिएको छ ।

यसैगरी, तेस्रो कार्यकाल सकिन लाग्दा पनि आय–व्यय विवरण सार्वजनिक नगरेको र सार्वजनिक सुनुवाइ नगरेको, सेवा, मर्मत तथा निर्माणका काममा आफ्ना नजिकका कोटेसन दिलाई कमिसन खाने गरेको,  अस्पताललाई कमाइ खाने भाँडो बनाउँदै चरम भ्रष्टाचार गरेको आरोप नेकपा बहुमतले लगाएको छ ।

स्थायी दरबन्दी खाली राखी करार तथा डोरहाजिर कर्मचारीमार्फत जनस्वास्थ्यसँग खेलवाड गरेको, सुदूरपश्चिमकै रेफरल अस्पताल हुँदाहुँदै सेवा प्रवाहमा चरम लापरबाही गरेको, खरिद प्रक्रियामा मनपरी गर्दै गुणस्तरभन्दा कमिसन दिने आपूर्तिकर्तालाई प्राथमिकता दिएको, कमिसनका लागि महँगा उपकरण खरिद गरी थन्क्याउने, सूचना लुकाउने र अस्पतालको छवि खस्काएको जस्ता आरोप लगाइएको छ ।

अस्पताल विकास समितिको आपत्ति

घटनाप्रति डडेल्धुरा अस्पताल विकास समितिले आपत्ति जनाउँदै खेद प्रकट गरेको छ । 

समितिका अनुसार बुधबार दिउँसो १ बजेर ३५ मिनेटको समयमा केही व्यक्तिहरूले अध्यक्ष ओझामाथि कार्यकक्षमै दुर्व्यवहार गरेका हुन् ।

अस्पतालद्वारा जारी विज्ञप्तिमा अध्यक्ष ओझा अस्पतालको सेवा प्रवाह सुदृढ बनाउन र बिरामीलाई प्रभावकारी उपचार उपलब्ध गराउन निरन्तर अग्रपङ्क्तिमा खटिँदै आएको उल्लेख गरिएको छ । 

प्रमाणविहीन र तथ्यहीन आरोप लगाउँदै अस्पतालजस्तो संवेदनशील संस्थाभित्र गरिएको यस्तो व्यवहारले सम्पूर्ण अस्पताल परिवार लज्जित भएको विज्ञप्तिमा भनिएको छ।

घटनाले कर्मचारी र पदाधिकारीहरूको मनोबलमा गम्भीर असर पर्ने भन्दै अस्पताल विकास समितिले दोषीमाथि तत्काल छानबिन गरी कानून बमोजिम कारबाही गर्न माग गरेको छ  ।

समितिले चेतावनी दिँदै भनेको छ, ‘यदि दोषीलाई तत्काल कानूनी दायरामा नल्याइएमा भोलि २४ गतेदेखि आकस्मिक सेवा बाहेक अस्पतालका सबै सेवा पूर्ण रूपमा बन्द गरिनेछ ।’

साथै, भविष्यमा यस्ता अराजक गतिविधि नदोहरियोस् भन्नका लागि संघ, प्रदेश र स्थानीय सरकार, सुरक्षा निकाय, प्रशासन तथा नागरिक समाजलाई अस्पतालले अपील गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्