२९ जेठ २०८३, शुक्रबार

लुगा धुँदै भविष्य चम्काइरहेका रेशम गिरी, नबिल बैंकको साथले बनायो आत्मविश्वासी व्यवसायी

पुस २३, २०८२
काठमाडौं
लुगा धुँदै भविष्य चम्काइरहेका रेशम गिरी, नबिल बैंकको साथले बनायो आत्मविश्वासी व्यवसायी

गुल्मीका रेशम गिरी झन्डै तीन वर्षदेखि काठमाडौंमा लुगा धुने अर्थात् लन्ड्रीको व्यवसायमा छन् । 

तीन वर्षअघि एउटा सटरबाट शुरू गरिएको लन्ड्री व्यवसायलाई अहिले गिरीले सिङ्गो घरमै फैलाएका छन् । २७ वर्षको उमेरमा काठमाडौंको तीनकुनेबाट लन्ड्रीको व्यवसाय शुरू गरेका गिरीले अहिले कोटेश्वरमा साढे दुई तालको सिङ्गो घरमा लन्ड्रीको काम गरिरहेका छन् । 

गुल्मी जिल्लाको गुल्मी दरबार गाउँपालिका चारपालीमा जन्मिएका रेशम गिरीले स्नातक पढ्दा पढ्दै आफ्नो व्यवसाय गर्ने सोचमा थिए । 

काठमाडौंको जीवनशैली अनुसार गिरीले लुगा धुने अर्थात् लन्ड्रीको व्यवसाय शुरू गर्ने सोच बनाए । बाहिर हेर्दा लुगा धुने काम निकै सजिलो लागे पनि भित्री पाटोबाट निकै जटिल काममा गिरीले हात हाले । र तीनकुनेमा एक सटर भाडामा लिएर तीन वटा मसिनसहित व्यवसाय शुरू गरे । शुरूमा ८ लाख पुँजीसहित उनले लन्ड्री व्यवसायलाई सञ्चालनमा ल्याएका थिए ।  अहिले उनले आफ्नो पुँजीलाई १५ लाखभन्दा बढी बनाइसकेका छन् ।

‘सानो भन्दा सानो र सामान्य भन्दा सामान्य कामबाट आफैं उद्यमी बन्नुपर्छ भन्ने थियो । त्यही सोचेर समाजका व्यक्तिहरूसँग जोडिएको लुगा धुने काम शुरू गरेको थिएँ’, गिरी भन्छन्, ‘एउटा सानो सटरबाट तीन वटा मेसिन राखेर शुरू गरेको थिएँ । अहिले कोटेश्वरमा अढाई तले घर नै भाडामा लिएर सानै भए पनि उद्योग चलाइरहेको छु ।’

लन्ड्री व्यवसायबाटै मासिक रूपमा डेढ लाखसम्मको कारोबार गर्ने गिरी नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) प्रोग्राममा जोडिन्छन् । नबिल बैंको एसएसई प्रोग्राम अन्तर्गत शुरू गरिएको सर्टिफिकेट कोर्सबाट गिरी अहिले आत्मविश्वासी उद्यमीका रूपमा उभिएका छन् ।

आफ्नै व्यवसाय मात्रै गर्नुपर्छ भन्ने सोचका साथ लन्ड्री व्यवसायमा हाम फालेका गिरी अन्योलमा थिए । व्यवसाय शुरू गरे पनि उनलाई यही क्षेत्रमा गर्न सकिन्छ भन्ने आत्मविश्वास थिएन । अर्थात् गर्दा गर्दै पनि उनको मनोबल दृढ हुन सकेको थिएन । 

यो क्रममा उनले साथीभाइबाट नबिल बैंकको एसएसई प्रोग्राम अन्तर्गतको सर्टिफिकेट कोर्सबारे थाहा पाए । उनी जस्तै उद्यम गर्ने युवाहरूका लागि नबिल बैंकले ल्याएको कोर्सबारे थाहा पाएपछि उनले त्यसमा आवेदन दिए । 

गिरीको अन्तर्वार्ता लिएपछि उनलाई छनोट गर्‍यो । ३ महिने सर्टिफिकेट कोर्समा जोडिँदै गर्दा गिरीलाई आफ्नै उद्यमलाई विस्तार गर्नका लागि प्रेरणासँगै हौसला पनि मिल्यो । नेपालमै उद्यमी बन्ने बलियो आधार समेत  मिलेको गिरी बताउँछन् । 

देशभर ११ कलेजहरूसँगको सहकार्यमा नवीन तथा उद्यमशील क्षेत्रमा संलग्न नवउद्यमीहरूलाई आवश्यक ज्ञान, सीप तथा मार्गदर्शन प्रदान गर्ने उद्देश्यका साथ शुरू गरिएको नबिल बैंकको एसएसई सर्टिफिकेट कोर्सका लागि बागमती प्रदेशबाट गिरी पनि छनोट भएका थिए । बागमती प्रदेशमा ललितपुरको क्याम्पियन कलेजसँग एसएसई सर्टिफिकेट कोर्सका लागि नबिल बैंकले सहकार्य गरेको छ । 

आफू उद्यमी बन्दै गर्दा उनलाई गर्न सकिन्न कि जस्तो पनि लाग्यो । शुरूमा लुगा धुने सानो व्यवसाय कसरी चल्छ जस्तो पनि उनलाई महसुस भयो । तर, नबिल बैंकसँग जोडिएपछि उनले आफूजस्तै नेपालमै उद्यम गरिरहेका अन्य युवाहरूसँग जोडिने मौका पाए । जसले उनको उद्यमी बन्ने सपनालाई झन् मजबुत बनाइदियो । 

‘शुरूमा गर्न सकिन्न कि जस्तो पनि लाग्यो । पहिले गल्ती पो गरिएछ कि जस्तो पनि लाग्यो । तर गर्दै जाँदा सबैले विश्वास गर्नुभयो, राम्रो पनि भयो’, उनले सुनाए, ‘त्योसँगै करिब एक वर्षअघि नबिल बैंकको एसएसई फेलोसिप प्रोग्रामसँग जोडिन पुगे । उक्त प्रोग्राम जोडिएपछि झन् आफूले नेपालमै गर्नुपर्छ भन्ने आँट आयो ।’ 

कोर्समा उनले आफ्नो उद्यमलाई कसरी व्यवस्थित गर्ने र विस्तार गर्ने भन्नेबारे मेन्टरसिप पाए । गिरीले आफ्नो उद्यमको अकाउन्टिङ, बिजनेस मोड, पूर्वाधार, मार्केटिङ लगायतका आवश्यक टेक्निकलदेखि सम्पूर्ण कामहरूबारे थाहा पाए । त्यस्तै, व्यावहारिक सिकाइले उनलाई व्यापार मोडलिङ, परियोजना व्यवस्थापन, मार्केटिङ, पीआर र सञ्चार लगायतका सीपहरू सिक्ने मौका पाए । 

‘सबै विदेश जाने मात्रै कुरा गर्दा नबिल बैंकको एसएसई प्रोग्रामबाट मैले आफूजस्तै थुप्रै युवाहरू भेटेँ। मेरो हौसला र आँट बढ्यो । मलाई हौसला मिल्यो’, उनी भन्छन्, ‘सपना देख्ने व्यक्तिबाट एक आत्मविश्वासी व्यवसाय मालिकमा  रूपान्तरण गरेको छ । काठमाडौंमा व्यवसाय सञ्चालन गर्ने चुनौतीहरू कसरी पार गर्ने ? व्यवसाय कसरी विस्तार गर्ने लगायतका कुराहरूमा स्पष्ट छु । साथै आत्मविश्वास पनि बढेको छ ।’

बैंकले सामाजिक उद्यमशीलतामा रुचि राख्ने, नवीन सोच भएका तथा उद्यमशील क्षेत्रमा संलग्न नव–उद्यमीलाई आवश्यक ज्ञान र मार्गदर्शन प्रदान गर्ने उद्देश्यले एसएसई सर्टिफिकेट कोर्स सञ्चालनमा ल्याएको हो । देशभरका ११ वटा कलेज तथा विद्यालयमार्फत् यो सर्टिफिकेट कोर्स प्रदान गरिँदै आएको छ । 

गिरी अझै आफ्नो व्यवसायलाई बढाएर समाज सेवामा लाग्ने बताउँछन् । आफ्नो व्यवसायसँगै समाजका लागि पनि केही गर्ने सोचमा छन् गिरी । आफ्नो व्यवसायको केही हिस्सा समाजको सेवामा लगाउने उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्