२९ जेठ २०८३, शुक्रबार
कांग्रेसमा तलैसम्म कित्ताकाट

महाधिवेशन विवादबीच लुम्बिनीको चित्र: देउवा-शेखर दुवैमाथि हावी हुँदै गगन-विश्व

पुस २४, २०८२
बुटवल
महाधिवेशन विवादबीच लुम्बिनीको चित्र: देउवा-शेखर दुवैमाथि हावी हुँदै गगन-विश्व

नेपाली कांग्रेसमा नियमित कि विशेष महाधिवेशन भन्ने रस्साकस्सीबीच लुम्बिनी प्रदेशमा विशेष महाधिवेशन पक्षधरले आफ्नो प्रभाव विस्तार गर्दै गएको पाइएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको उक्त समूहले संस्थापन र शेखर कोइराला समूह दुवैलाई पछाडि पार्दै गएको देखिएको हो ।

शेखर कोइरालाले स्पष्ट ‘लाइन’ नलिँदा विगतमा उनको पक्षमा रहेकाहरू पनि विस्तारै महामन्त्रीद्वयको समर्थनमा खुल्न थालेको नेताहरू बताउँछन् ।

कांग्रेस लुम्बिनीको नेतृत्व (प्रदेश सभापति) नै ‘विशेष महाधिवेशन हुनुपर्छ’ भनेर अभियानमा छन् । महामन्त्रीद्वयले विशेष महाधिवेशनका लागि २७ र २८ पुसमा काठमाडौं आउन प्रतिनिधिलाई आग्रह गरिसकेका छन् ।

अर्कातर्फ, पुस १८ मा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आउँदो वैशाख २८ देखि ३१ सम्म १५ औँ महाधिवेशन गर्ने गरी संशोधित कार्यतालिका ल्याएको छ ।

कांग्रेसका लुम्बिनी प्रदेश सभापति अम्मरसिंह पुन मगरले विशेष महाधिवेशनका लागि लुम्बिनी प्रदेशका ५६ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेको दाबी गरे ।

‘विशेष महाधिवेशनका लागि ५६ प्रतिशतको हस्ताक्षर भइसकेको छ,’ सभापति पुनले लोकान्तरसँग भने, ‘थपिने क्रम अझै जारी छ । पर्सिसम्म ७० प्रतिशत पुग्नुहुन्छ । अहिले पनि थपिनेको निरन्तर फोन आइरहेका छन् ।’

लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसका ६७६ जना महाधिवेशन प्रतिनिधि छन् ।

‘लुम्बिनीमा २६ निर्वाचन क्षेत्रबाट २६ जनाका दरले ६७६ हुन्छन्,’ पुन थप्छन्, ‘३६१ ले हस्ताक्षर गरिसकेका छन् । अझै हस्ताक्षर गर्ने क्रम थपिँदो छ ।’

null

२७ गतेसम्म लुम्बिनीबाट ७० प्रतिशत प्रतिनिधि सहभागी हुने सभापति पुनको दाबी छ । पुनले गुल्मीबाट ९० प्रतिशत, अर्घाखाँचीबाट ९० प्रतिशत, पाल्पाबाट ८० प्रतिशत, रोल्पा र रुकुमपूर्वबाट शतप्रतिशत, कपिलवस्तुबाट ५० प्रतिशत, दाङबाट ५० प्रतिशत, बाँकेबाट ५० प्रतिशत, बर्दियाबाट ४० प्रतिशत, प्यूठानबाट ६० प्रतिशत, रूपन्देहीबाट ५० प्रतिशत र अर्घाखाँचीबाट ७० प्रतिशत प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी हुने पुनले दाबी गरे ।

तर, संस्थापन पक्षले भने ३० प्रतिशतभन्दा बढी प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी नहुने दाबी गरेको छ । कांग्रेसका प्रदेश उपसभापति राजु खनालले विगतमा हस्ताक्षर गरेकाहरू पनि विशेष महाधिवेशनमा सहभागी नहुने जिकिर गरे ।

‘लुम्बिनीबाट हस्ताक्षर गरेकाहरू पनि ३० प्रतिशतभन्दा बढी सहभागी हुँदैनन् । अहिले विशेष महाधिवेशनको औचित्य छैन । जान चाहेकाले पनि पार्टी विभाजनको साक्षी बस्न नजाने बताउन थालेका छन् ।’

खनालले थपे, ‘पार्टीको नेतृत्व एक किसिमले हस्तान्तरण भइसकेको छ । सभापति शेरबहादुर देउवाले कार्यवाहक दिइसक्नुभएको छ । अब उहाँ सभापति उठ्नुहुन्न । फेरि महाधिवेशनको मिति पनि तय भइसकेको छ । यस्तो बेलामा दुई महिना कुर्न पनि किन नसक्ने ? अहिले पार्टीमाथि चौतर्फी आक्रमण हुँदा आन्तरिक विवादमा अल्झिनुभन्दा चुनावमा कांग्रेसलाई बलियो गरी उभ्याउन लाग्नुपर्छ ।’

रूपन्देहीबाट ४० प्रतिशत, पाल्पाबाट २० प्रतिशत, गुल्मीबाट ५० प्रतिशत, अर्घाखाँचीबाट ५० प्रतिशत, बाँकेबाट २० प्रतिशत, बर्दियाबाट १० प्रतिशत, रोल्पाबाट ७० प्रतिशत, रुकुमबाट ६० प्रतिशत, प्यूठानबाट १० प्रतिशत, नवलपरासीबाट ३० प्रतिशत, बर्दियाबाट ३० प्रतिशत र कपिलवस्तुबाट १० प्रतिशत मात्र प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी हुने उनको दाबी छ ।

उनले यस्तो दाबी गरे पनि प्रदेश कार्यसमिति नै गगन–विश्वतर्फ ढल्किएको छ । प्रदेश सभापति पुन विशेष महाधिवेशनका ‘क्याम्पेनर’ नै हुन् । त्यस्तै, उपसभापति भुवन श्रेष्ठ पनि महामन्त्रीहरूको टीममा छन् ।

अर्का उपसभापति राजु खनाल संस्थापन समूहमा छन् । यसैगरी, महामन्त्री सुरेन्द्र आचार्य शेखर समूहमा रहँदा विक्रम खनाल (निलम्बित), सहमहामन्त्री निमा गिरी र विष्णु मुस्कान पनि गगन–विश्व समूहमा खुलेका छन् ।

अर्का सहमहामन्त्री खगराज शर्मा शेखर समूहमा रहँदा कोषाध्यक्ष प्रकाश राना पनि गगन/विश्व समूहमै लागेका छन् ।

null

लुम्बिनी प्रदेशमा १२ जिल्ला छन्, जसमध्ये सबैभन्दा बढी निर्वाचन क्षेत्र (५ वटा) भएको रुपन्देही हो । त्यस्तै, ३ वटा निर्वाचन क्षेत्र भएका कपिलवस्तु, दाङ र बाँके हुन् ।

यसैगरी, दुईवटा निर्वाचन क्षेत्र भएका पश्चिम नवलपरासी, बर्दिया, गुल्मी, पाल्पा छन् भने एउटा निर्वाचन क्षेत्र भएको अर्घाखाँची, प्युठान, रुकुम पूर्व, रोल्पा छन् ।

लुम्बिनीका १२ जिल्लामध्ये ६ वटाका जिल्ला सभापति गगन-विश्व पक्षमा खुल्दा शेखर पक्षमा ४ र संस्थापनमा २ मात्र छन् ।

तीमध्ये रूपन्देही सभापति रामकृष्ण खाँण संस्थापन, गुल्मीका खिलध्वज पन्थी गगन/विश्व, अर्घाखाँचीका केशव श्रेष्ठ गगन, दाङका शंकर डाँगी शेखर, बाँकेका नारायण गौडेल गगन/विश्व, प्युठानका विष्णु गिरी गगन/विश्व, नवलपरासीका अर्जुन पोखरेल शेखर, रुकुम पूर्वका केशरमान रोकाया गगन/विश्व, रोल्पाका किशोर कुमार आचार्य गगन/विश्व, पाल्पा सभापति हिमालदत्त श्रेष्ठ शेखर, कपिलवस्तुका अब्दुल कलाम गगन/विश्व र बर्दियाका अरुण राठौर संस्थापन समूहमा खुलेका छन् ।

गगन–विश्वले प्रभाव बढाउँदै गर्दा संस्थापन पनि त्यसलाई रोक्न जोडतोडले लागेको छ । कांग्रेस रूपन्देहीका युवा नेता विष्णु पोखरेलले बाहिर हल्ला भएजस्तो अहिलेको अवस्थामा विशेष महाधिवेशनमा प्रतिनिधिहरू सहभागी नहुने दाबी गरे । ‘अहिले पार्टी फुट्न सक्छ भने हाम्रो भूमिका नदेखाऊँ भन्ने पनि प्रतिनिधिमा छ,’ पोखरेलले भने ।

कांग्रेसकी प्रदेश सहमहामन्त्री तथा प्रदेश सांसद निमा गिरीले पार्टी जोगाउनका लागि विशेष महाधिवेशनमा सहभागी हुनु आवश्यक रहेको बताइन् ।

‘एमालेले महाधिवेशन गरिसक्यो, हामी के एजेन्डा लिएर चुनावमा जाने ? हामीले विशेष महाधिवेशनबाट नेतृत्व चयन गर्नुपर्छ,’ उनले भनिन्, ‘पार्टी फुटाउन होइन, जुटाउन काठमाडौं जानुपर्छ ।’ आउँदो निर्वाचनमा पनि फेरि तालमेल गरेर जान नहुने पक्षमा लुम्बिनीका नेता कार्यकर्ताहरू रहेको उनको भनाइ छ ।

विगतमा तत्कालीन माओवादी र अहिले फेरि एमालेसँग चुनावी तालमेल गरेको अवस्थामा कांग्रेसलाई ठूलो क्षति हुने उनको जिकिर छ । अहिलेको नेतृत्वले कांग्रेसका कार्यकर्तालाई रुखमै मत हाल्ने वातावरण बनाउन नचाहेको गुनासो उनले गरिन् ।

पढ्नुहोस्, यो पनि :​

मधेशमा शक्ति बढाउँदै गगन-विश्व, विशेषको पक्षमा धमाधम थपिँदै महाधिवेशन प्रतिनिधि

salt training

कमेन्ट गर्नुहोस्