
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले महासंघले आसन्न ६०औं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने बताएका छन् ।
भक्तपुर उद्योग वाणिज्य संघको २८औं वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ढकालले महासंघको संस्थागत सुधार, नीतिगत निरन्तरता र निजी क्षेत्रको एकताका लागि आगामी महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन आवश्यक रहेको बताए । त्यसका लागि आफूले पहल गर्ने उनको भनाइ छ ।
अध्यक्ष ढकालले महासंघले निजी क्षेत्रको साझा छाता संगठनको रूपमा नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण, निजी क्षेत्रको हक–हित संरक्षणका लागि सरकारसँग निरन्तर संवाद र सहकार्य गर्दै आएको बताए ।
निजी क्षेत्रलाई अख्तियारको दायरमा ल्याउन नहुने विषयको पैरवीदेखि अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार आयोग गठन र लगानीमैत्री वातावरण निर्माणका लागि दर्जनौं कानून संशोधनमा महासंघले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए । 'उत्पादन, रोजगारी र लगानी प्रवर्द्धनका लागि नीतिगत स्थायित्व र सरकार–निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य छ,' उनले भने, 'मुलुक भित्र लगानी प्रवर्द्धन र नीतिगत सुधारमा महासंघको बलियो उपस्थिति देखिएको छ ।'
पछिल्लो समय निजी क्षेत्रको मनोबल खस्किएको चर्चा गर्दै उनले वर्तमान अवस्थामा निजी क्षेत्रले शान्ति सुरक्षा लगानी गर्ने वातावरणको सुनिश्चितता खोजिरहेको बताए ।
मुलुकको आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रको मनोबल माथि उठाउनु आजको आवश्यकता रहेको उनको भनाइ छ ।
भदौ २३ र २४ को गतेको प्रदर्शनका क्रममा घुसपैठ गरेर उद्योग व्यवसाय तथा निजी सम्पत्तिमाथि आक्रमण गर्नेहरूलाई कानूनी कारबाही गर्नु पर्नेमा उनले जोड दिए ।
महासंघले निजी क्षेत्रको नेतृत्वमा लगानी प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेको चर्चा गर्दै अध्यक्ष ढकालले त्यही उद्देश्यका साथ महासंघको पहलमा १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरी काम भइरहेको बताए ।