
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा सुधारका लागि प्रयासरत रहेको बताएकी छिन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य बीमा बोर्डको संयुक्त आयोजना तथा जर्मन विकास सहयोग संस्थाको सहकार्यमा आज आयोजित स्वास्थ्य बीमा सुधार कार्यक्रममा उनले स्वास्थ्य बीमा कार्यक्रम सरकारको उच्च प्राथमिकतामा रहेको बताए ।
मन्त्री गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई कसरी दिगो बनाउने भन्नेमा सरकारले चिन्तन गरिरहेको बताउँदै स्वास्थ्य बीमा कार्यक्रमका कमीकमजोरीलाई विश्लेषण गर्न विज्ञ तथा सरोकारवालासँग निरन्तर छलफल गरेको जानकारी दिए ।
स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले स्वास्थ्य बीमा कार्यक्रम सामाजिक सुरक्षाको महत्त्वपूर्ण पाटो भएको र नाफा कमाउने उद्देश्यले सञ्चालन नगरिएको स्पष्ट पारे ।
डा. काफ्लेले स्वास्थ्य बीमा कार्यक्रमका लागि पर्याप्त बजेट, दीर्घकालीन प्रतिबद्धता र स्पष्ट नीतिमा बहस आवश्यक रहेकामा जोड दिए ।