२३ असार २०८३, मंगलबार

फिलिपिन्समा फोहोर फाल्ने स्थान भासिँदा दुईको मृत्यु, दर्जनौँ बेपत्ता

पुस २५, २०८२
काठमाडौं
फिलिपिन्समा फोहोर फाल्ने स्थान भासिँदा दुईको मृत्यु, दर्जनौँ बेपत्ता

 मध्य फिलिपिन्सको एक फोहोर फाल्ने स्थल (ल्यान्डफिल) भासिँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति अझै बेपत्ता छन्। उद्धारकर्मीहरूले शुक्रबार उक्त जानकारी दिएका हुन्।

बिहीबार सेबु सहरको निजी रूपमा सञ्चालित ‘बिनालिव ल्यान्डफिल’ मा फोहोरको ठूलो थुप्रो भासिँदा करिब ५० जना सफाइ कर्मचारी पुरिएका थिए।

सेबुका मेयर नेस्टर आर्किभलले शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै घटनास्थलमा अझै मानिसहरू जीवित हुन सक्ने सङ्केत भेटिएको बताए। उनका अनुसार सयौँ उद्धारकर्मीले खोजी कार्य जारी राखेका छन् भने थप ५०० जनशक्ति उद्धारका लागि परिचालन गरिएको छ।

आर्किभलले आइतबारसम्म बेपत्ताहरूको खोजी तथा उद्धार प्रयास जारी रहने जानकारी दिए।

घटनास्थलमा ‘कम्प्याक्टर’ सञ्चालन गर्दै आएका रिता कोगेले आफू बसेको भवन भत्किनु केही क्षणअघि पानी पिउन बाहिर निस्किएकाले ज्यान जोगिएको बताए। उनका अनुसार धेरै सहकर्मी भने भग्नावशेषमा फसे।

४९ वर्षीय कोगेले भने, “म पानी खान बाहिर गएको थिएँ। एक्कासी ठूलो आवाज आयो। सुरुमा हेलिकप्टर दुर्घटना भएको ठानेँ। फर्किँदा फोहोर र भवन भत्किरहेको थियो। त्यसपछि सुरक्षित स्थानतर्फ भागेँ।”

उनका अनुसार भग्नावशेषबाट सहयोगको गुहार मागिरहेका केही सहकर्मीलाई उद्धार गरी अस्पताल पठाइएको छ।

आर्किभलका अनुसार उद्धारकर्ताहरूले उपकरण प्रयोग गर्दा सावधानी अपनाएका छन्, किनकि कुनै पनि झिल्कोले ल्यान्डफिलबाट निस्कने मिथेन ग्यास प्रज्वलित हुन सक्ने खतरा छ।

एक २५ वर्षीय इन्जिनियरको शव फेला परेसँगै मृत्यु हुनेको सङ्ख्या दुई पुगेको मेयरले फेसबुकमार्फत जानकारी दिएका छन्। उनका अनुसार हालसम्म ३६ जना अझै बेपत्ता छन्।

फोहोरबाट कम्तीमा १२ जना कर्मचारीलाई जिउँदै उद्धार गरी अस्पताल भर्ना गरिएको छ।

सहरका सहायक जनसूचना अधिकारी जेसन मोराटाका अनुसार फोहोरको पहाड करिब चार तला अग्लो थियो। प्रहरीद्वारा जारी हवाई तस्बिरमा फोहोरको बोझले थिचिएका कैयौँ संरचना देखिएका छन्।

मोराटाका अनुसार ती भवनहरूमा ल्यान्डफिल सञ्चालन गर्ने निजी कम्पनीका मानव संसाधन, प्रशासन र मर्मतसम्भार शाखाका कार्यालयहरू रहेका थिए।

यसअघि सन् २००० को जुलाईमा मनिलास्थित छाप्राबस्तीमा फोहोरको पहिरो जाँदा २०० भन्दा बढीको मृत्यु भएको थियो। त्यो घटना फिलिपिन्सको इतिहासकै सबैभन्दा ठूलो फोहोरसम्बन्धी दुर्घटना मानिन्छ। उक्त घटनापछि फोहोर व्यवस्थापन कडा बनाउन कानुनी व्यवस्था गरिएको थियो।

salt training

कमेन्ट गर्नुहोस्