
यमनका हालै बर्खास्त गरिएका रक्षामन्त्री मोहसिन अल–दायरी साउदी अरबमा हिरासतमा परेका छन्। एक उच्चस्तरीय पृथकतावादी प्रतिनिधिमण्डलसँग रियाद यात्रा गरेका उनलाई साउदी रक्षा मन्त्रालयबाट नियन्त्रणमा लिइएको दायरीको कार्यालय स्रोतले शुक्रबार जानकारी दिएको छ।
स्रोतका अनुसार दायरीको परिवारले उनीसँग सम्पर्क हुन नसकेको जनाएको छ। दायरी बुधबार बिहान एडेनबाट रियादका लागि प्रस्थान गरेका थिए।
संयुक्त अरब इमिरेट्स समर्थित साउदर्न ट्रान्जिसनल काउन्सिल (एसटीसी) का शीर्ष नेतासहित ५० जनाभन्दा बढी सदस्य रहेको प्रतिनिधिमण्डलसँगै उनी सोही विमानमार्फत रियाद पुगेका थिए।
एसटीसीले आफ्ना प्रतिनिधिहरूलाई ‘स्वेच्छाचारी रूपमा हिरासतमा’ लिइएको दाबी गर्दै उनीहरूसँग सम्पर्क हुन नसकेको जनाएको छ।
दायरी एसटीसीका औपचारिक सदस्य भने होइनन्। तर उनी एसटीसी नेता ऐदारोस अल–जुबैदीको गृह प्रदेश धालेमा जन्मिएका हुन्।
गत महिना एसटीसी सेनाले साउदी समर्थित प्रतिद्वन्द्वी समूहहरूलाई निष्कासन गर्दै दक्षिण यमनको ठूलो भूभाग नियन्त्रणमा लिएको थियो, जसका कारण रियाद आक्रोशित भएको बताइन्छ।
यमनको राष्ट्रपति कार्यालयले बिहीबार दायरीलाई रक्षामन्त्री पदबाट बर्खास्त गरेको थियो। एसटीसीले यमनी भूभाग कब्जा गरिरहेका बेला दायरी एडेनमै थिए।
पछि साउदी सैन्य शक्तिले यमनी सहयोगीहरूको सहयोगमा स्थल आक्रमण गरी एसटीसीको नियन्त्रण उल्ट्याएको थियो।
यस घटनाले खाडी क्षेत्रका सहयोगी साउदी अरब र संयुक्त अरब इमिरेट्सबीचको मतभेद सार्वजनिक रूपमा उजागर गरेको छ। साउदी नेतृत्वको गठबन्धनले एसटीसी नेता जुबैदी संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबी भागेको आरोप लगाएको छ।