
केभीआर समिट च्यालेन्जको तेस्रो संस्करणको चौथो चरणमा पुरुषतर्फ मिलन कुलुङ र महिलातर्फ अमेरिकाकी सोनिया मार्टिन पहिलो भएका छन् ।
ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २५ किलोमिटर रेसमा पुरुषतर्फको विजेता मिलनले दुई घन्टा २३ मिनेट २४ सेकेन्डमा निर्धारित दूरी पार गरे ।
पुरुषतर्फ नेपालकै लोकेन्द्र राई दोस्रो र दिवाकर बुढामगर तेस्रो भए । निर्धारित दूरी लोकेन्द्रले दुई घन्टा २६ मिनेट १६ सेकेन्ड र दिवाकरले तीन घन्टा ११ मिनेट ३५ सेकेन्डमा पूरा गरे ।
महिलातर्फ सोनियाले निर्धारित दूरी तीन घन्टा २८ मिनेट नौ सेकेन्ड पार गरिन् । सोनियाले गत महिना भएको तेस्रो चरणमा पनि पहिलो स्थान हासिल गरेकी थिइन् ।
महिलातर्फ एनी माइ बान निर्धारित दूरी तीन घन्टा ३२ मिनेट ५३ सेकेन्डमा पार गर्दै दोस्रो र बेलायतकी सेली रेबेका चार घन्टा चार मिनेट ३३ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भए ।
१० किलोमिटर दौडमा पुरुषतर्फ स्विट्जरल्यान्डका सिमन डाल्चर पहिलो भए । उनले एक घन्टा १८ मिनेट ४८ सेकेन्डमा दौड पूरा गरे । पाँच सेकेन्डले पछि परेका नेपालका प्रेमबहादुर सुनुवार दोस्रो भए । मिङमा ग्याल्सेन शेपा तेस्रो भए ।
१० किलोमिटर महिलातर्फ जापानकी मायुको आकुतागावा पहिलो भइन् । उनले एक घन्टा २८ मिनेट ३८ सेकेन्डमा दौड पूरा गरिन् । बेलायतकी इलियाना मारिया ड्रापर दोस्रो र अमेरिकाकी इरिका मिक्स तेस्रो भए ।
२५ किलोमिटर दौड मच्छेगाउँ मातातीर्थबाट शुरू भएर चन्द्रागिरि केबलकार आधार स्टेसन, चन्द्रागिरि मन्दिर, धाप भञ्ज्याङ, बुद्ध स्तूप, मच्छेनारायाण मन्दिर हुँदै पुन मच्छेगाउँमा पुगेर सम्पन्न भएको थियो ।
प्रतियोगितामा ६६ नेपाली र २४ जना विदेशी धावक सहभागी थिए ।