
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन उद्घाटन हुनुअघिसम्म संस्थापन पक्ष के गर्ने भन्नेमा अझै अन्योलमा छ । आगामी रणनीति बनाउन संस्थापनका नेताहरू अझै छलफलमा छन् ।
उद्घाटनमा को-को आउँछन् र के-के गर्छन् भन्ने हेरेपछि मात्रै आगामी कदम चालिने कांग्रस सहमहामन्त्री महेन्द्र यादवले बताए ।
उनका अनुसार आज पनि संस्थापनका नेताहरूबीच छलफल हुनेछ । बैठकमा यी सबै विषयमा छलफल हुने उनले बताए ।
पार्टीले आह्वान नै गरेको विशेष महाधिवेशनमा सहभागीहरूलाई कारबाही गर्ने/नगर्ने विषय उद्घाटनपछि नै तय हुने उनको भनाइ छ । 'अब उनीहरूले के गर्छन् हेरौं न । पार्टीले त बोलाएको छैन । समानुपातिक नपाएकाहरू जान्छन्, काठमाडौंमा त्यसै पनि कांग्रेसका चार/पाँच हजार कार्यकर्ता हुन्छन्,' लोकान्तरसँग यादवले भने, 'अनुशासनबाहिरको कुरा हो । तर, कारबाहीबारे के गर्ने भन्ने उद्घाटन हेरौं न, के हुन्छ ? हाम्रो पनि छलफल भैरहेको छ । आज पनि छलफल छ । यी सबै विषयमा कुरा हुन्छ ।'
यसअघि कांग्रेस संस्थापन पक्षले विशेष महाधिवेशनको काउन्टरमा आयोजना गरेका दुईवटा भेलाहरू स्थगित गरेको थियो । वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री होमनाथ दाहालको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने निर्णय गरेसँगै काउन्टर भेलाहरू स्थगित भएका हुन् ।
पुस २६, २७ र २८ गतेसम्म पार्टीको केन्द्रीय, प्रदेश, जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने, पुस २७ गते, केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय पार्टीले गरेको छ । पार्टीले स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने, १३ औं दिनमा ओखलढुंगामा शोक सभाको आयोजना गर्ने छ ।
संस्थापन पक्षको असहमतिबीच आज विशेष महाधिवेशन शुरू हुँदैछ। भोलिसम्म चल्ने भनिएको विशेष महाधिवेशन काठमाडौंस्थित भृकुटीमण्डपमा आज दिउँसो १ बजे उद्घाटन हुने तय भएको छ।
उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा मञ्च निर्माण गरिएको छ । मञ्चको अगाडि खुला चौरमा कुर्सीको व्यवस्थापन गरिएको विशेष महाधिवेशनका लागि गठन गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले जानकारी दिए । मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको छ ।
उद्घाटनका दिन काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट आउने र्यालीलाई व्यवस्थित तरिकाले कार्यक्रममा सहभागी गराउने गरी तयारी थालिएको छ । विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले गर्ने छन् । विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेतालाई भने आमन्त्रण गरिएको छैन ।
आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार काठमाडौंका विभिन्न स्थानमा ३ हजार ६०० प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको छ । साथै थप २/२ सय प्रतिनिधिका लागि तत्काल व्यवस्थापन हुनेगरी प्रबन्ध मिलाइएको उनले बताए ।
विशेष महाधिवेशनको उद्घाटनपछि बन्दसत्र भृकुटीमण्डपको सभाहलमा हुनेछ । विशेष महाधिवेशनमा २ वटा फरक-फरक प्रतिवेदन प्रस्तुत हुने भएका छन् । कांग्रेसका महामन्त्री गगन थापाले समसामयिक राजनीतिक प्रतिवेदन र विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने तयारी गरेका हुन् ।
कांग्रेस संस्थापन पक्षले भने विशेष महाधिवेशन माग भएको अवधिभित्रै यसअघि १५औँ नियमित महाधिवेशनको मिति तोकिसकिएकाले यसको औचित्य स्वतः समाप्त भइसकेको तर्क गर्दै आएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले १५औँ महाधिवेशनको नयाँ मिति आगामी वैशाख २८ देखि ३१ गतेसम्म निर्धारण गरेको छ । उक्त विषयमा महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मासहित पाँच नेताहरूले असहमति जनाएका थिए ।