०८ साउन २०८३, शुक्रबार

विराट कोहली बने अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी

पुस २८, २०८२
काठमाडौं
विराट कोहली बने अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी

भारतीय स्टार ब्याटर विराट कोहलीले श्रीलङ्काका पूर्व कप्तान कुमार सङ्गाकारालाई पछि पार्दै अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडीको कीर्तिमान बनाएका छन्। न्युजिल्यान्ड विरुद्धको पहिलो एकदिवसीय खेलमा ९३ रनको शानदार पारी खेल्दै उनले यो उपलब्धि हासिल गरेका हुन्।
अब कोहलीभन्दा अगाडि भारतकै सचिन तेन्दुलकर मात्र रहेका छन्। सचिनको नाममा ३४,३५७ रन छ। कोहलीले मात्र ६२४ इनिङ्समा २८ हजार रन पुरा गर्दै विश्वमै सबैभन्दा छिटो यो सफलता हात पार्ने खेलाडी समेत बनेका छन्। यसअघि सचिनले ६४४ र सङ्गाकाराले ६६६ इनिङ्समा २८ हजार रन पुरा गरेका थिए।

वडोदरामा भएको खेलमा न्युजिल्यान्डले दिएको ३०१ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेट गुमाएर पुरा गर्‍यो। भारतको जितमा कोहलीले ९३ रन बनाए भने कप्तान शुभमन गिलले ५६ र श्रेयस अय्यरले ४९ रनको योगदान दिए। यो जितसँगै तीन खेलको शृङ्खलामा भारतले १-० को अग्रता लिएको छ।
आफ्नो उपलब्धिबारे कोहलीले भने, 'यो मेरो लागि सपना पुरा भए जस्तै हो। म अहिले कुनै रेकर्डका बारेमा सोचिरहेको छैन, मेरो मुख्य प्राथमिकता टोलीलाई जित दिलाउनु हो।' कोहलीको यो लयलाई लिएर आर. अश्विन र शुभमन गिलले समेत सामाजिक सञ्जालमा प्रशंसा गरेका छन्।

salt training

कमेन्ट गर्नुहोस्