
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापारिक सम्बन्ध राख्ने देशबाट आयात हुने सबै वस्तुमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत् ट्रम्पले उक्त शुल्क ‘तत्काल लागू हुने’ बताएका हुन् ।
तर, ‘इरानसँग कारोबार’ भन्नाले के–कस्ता गतिविधि समावेश हुन्छन् भन्ने विषयमा ट्रम्पले स्पष्ट विवरण दिएका छैनन् ।
इरानका प्रमुख व्यापारिक साझेदारमा चीन पहिलो स्थानमा रहेको छ । त्यसपछि इराक, संयुक्त अरब इमिरेट्स (युएई), टर्की र भारत रहेका छन् ।
यो निर्णय इरानमा जारी सरकारविरोधी प्रदर्शन तेस्रो सातामा प्रवेश गरिरहेका बेला आएको हो । यसअघि ट्रम्पले प्रदर्शनकारी मारिएमा सैन्य हस्तक्षेप गर्न सकिने चेतावनी दिएका थिए ।
ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले सोमबार हवाई आक्रमणसहितका सैन्य विकल्पहरू अझै ‘टेबलमा’ रहेको बताइन् ।
‘इस्लामिक गणतन्त्र इरानसँग कारोबार गर्ने कुनै पनि देशले संयुक्त राज्य अमेरिकासँग गर्ने सम्पूर्ण व्यापारमा २५ प्रतिशत भन्सार शुल्क तिर्नुपर्नेछ’, ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘यो आदेश अन्तिम र निर्णायक हो ।’
ह्वाइट हाउसले कुन–कुन देशका आयात सबैभन्दा बढी प्रभावित हुनेछन् भन्नेबारे थप जानकारी सार्वजनिक गरेको छैन ।
इरानी मुद्रा रियालको तीव्र अवमूल्यनपछि गत डिसेम्बरको अन्त्यतिर शुरू भएको विरोध प्रदर्शन अहिले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको वैधतामाथि नै प्रश्न उठाउने तहसम्म पुगेको छ ।
अमेरिकास्थित ‘ह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सी’ (एचआरएएनए)का अनुसार इरानमा हालसम्म करिब ५०० प्रदर्शनकारी र ४८ जना सुरक्षा कर्मीको मृत्यु पुष्टि भएको छ ।
बीबीसी स्रोतहरूका अनुसार वास्तविक मृत्यु संख्या अझै बढी हुन सक्ने अनुमान गरिएको छ । हजारौं मानिस पक्राउ परेका बताइएको छ ।
तर, बिहीबार साँझदेखि लागू गरिएको इन्टरनेट बन्दका कारण इरानभित्रको अवस्था बारे जानकारी संकलन र पुष्टि गर्न कठिन भएको छ । बीबीसीसहित अधिकांश अन्तर्राष्ट्रिय सञ्चारमाध्यम इरानभित्रबाट स्वतन्त्र रूपमा रिपोर्टिङ गर्न सकिरहेका छैनन् ।
ट्रम्पले आइतबार इरानी अधिकारीहरूले आफूलाई ‘वार्ताका लागि फोन गरेको’ दाबी गरे पनि बैठक हुनुअघि नै कदम चाल्नुपर्ने हुन सक्छ भनेका थिए ।
इरानको परमाणु कार्यक्रमका कारण लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धले देशको अर्थतन्त्रमा गम्भीर असर पारेको छ । सरकारी कुशासन र भ्रष्टाचारले अवस्था झनै कमजोर बनाएको विश्लेषण गरिएको छ ।
डिसेम्बर २८ मा अमेरिकी डलरको तुलनामा रियालको मूल्य फेरि तीव्र रूपमा घटेपछि तेहरानमा व्यापारीहरू सडकमा उत्रिएका थिए ।
पछिल्लो एक वर्षमा रियाल ऐतिहासिक न्यूनतम स्तरमा झरेको छ भने मुद्रास्फीति ४० प्रतिशत नाघेको छ । यसका कारण खाना पकाउने तेल र मासुजस्ता दैनिक उपभोग्य वस्तुको मूल्य तीव्र रूपमा बढेको छ ।