२२ जेठ २०८३, शुक्रबार

राजनीतिक दलको सत्ता स्वार्थमाथि दीपकराज गिरीको कटाक्ष

पुस २९, २०८२
काठमाडौं
राजनीतिक दलको सत्ता स्वार्थमाथि दीपकराज गिरीको कटाक्ष

कलाकारदीपकराज गिरीले नेपाली राजनीतिक दलहरूको सत्ता केन्द्रित चरित्र र फेरिइरहने समीकरणमाथि कटाक्ष गरेका छन्। 

राजनीतिक दलहरू आफ्नो स्वार्थका लागि जोसँग पनि मिल्न सक्ने भन्दै उनले कार्यकर्ता र सर्वसाधारणलाई आपसमा झगडा नगर्न सुझाव दिएका हुन्।

द्वन्द्वकालको स्मरण गर्दै गिरीले त्यस समयमा सबैभन्दा बढी नेपाली कांग्रेसका कार्यकर्ता मारिएको भए पनि पछि कांग्रेसले नै तिनै कार्यकर्तालाई माओवादीका पक्षमा मतदान गर्न लगाएको मंगलबार सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

वि.सं. २०४६ सालपछि गाउँघरमा कांग्रेस र एमालेका नाममा जनता आपसमा लड्दै र ज्यान गुमाउँदै आए पनि केन्द्रमा भने नेताहरूले 'आलोपालो' भन्दै मिलेर सरकार चलाइरहेको उनले उल्लेख गरेका छन्। राजनीतिको यो विचित्र चरित्र आगामी चुनावमा पनि दोहोरिन सक्ने र दलहरू फेरि मिल्न सक्ने उनको बुझाइ छ।

पुरानो शक्ति मात्र होइन, नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत सत्ताको खेलमा सहभागी हुँदै एमालेसँग मिलेर सरकारमा गएको प्रसङ्गलाई गिरीले राजनीतिको एउटा पाटोका रूपमा अर्थ्याएका छन्। उनले यसलाई विशुद्ध सत्ताको राजनीति भन्दै सिधासाधा जनताले बेलैमा यो कुरा बुझ्नुपर्नेमा जोड दिएका छन्।

आम नागरिक र कार्यकर्तालाई लक्षित गर्दै गिरीले कुनै पनि नेता वा दलको अन्धभक्त भएर अर्कोलाई गालीगलौज वा झगडा नगर्न आग्रह गरेका छन्। सर्वसाधारणले आफ्नो विवेक प्रयोग गरी जो परिवर्तनकारी नेता वा पार्टी लाग्छ, उसैलाई मतदान गर्नुपर्ने तर मतदानपछि कसैको 'पुच्छर' नबनी आ–आफ्नो काममा लाग्नु नै हितकर हुने उनको भनाइ छ। 
 

salt training

कमेन्ट गर्नुहोस्