२० असार २०८३, शनिबार
विश्व क्रिकेटको त्यो ऐतिहासिक खेल

जब एउटा खेलाडीको ब्याटले आईसीसीको नियम नै परिवर्तन गरिदियो...

पुस ३०, २०८२
काठमाडौं
जब एउटा खेलाडीको ब्याटले आईसीसीको नियम नै परिवर्तन गरिदियो...

विश्व क्रिकेटमा बेलाबखत रमाइला घटना हुने गरेका छन् । समय–सयमा खेल मैदानमै पनि खेलाडीहरूले अचम्मको व्यवहार देखाउँछन् । खेल मैदानमा खेलाडीले देखाउने कतिपय व्यवहार त यति आश्चर्यजनक हुन्छन्, जसको चर्चा वर्षौँपछि पनि हुने गर्छ ।

यस्तै एउटा अविश्वासिलो घटना विश्व क्रिकेटका एक महान खेलाडीसँग जोडिएको छ । अहिले क्रिकेट खेलमा खेलाडीले कस्तो ब्याट वा बल प्रयोग गर्ने भन्ने विषयमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को नियममै स्पष्ट उल्लेख गरिएको हुन्छ ।

अहिले आईसीसीले क्रिकेटसँग सम्बन्धित स–साना कुरालाई पनि आफ्नो नियममा समेटेको छ । तर, विगतमा यस्तो थिएन । आईसीसीले हरेक कुरालाई लिखित नियममा समेट्न सकेको थिएन । खेलका क्रममा विवाद आउँदै जान्थ्यो, त्यसपछि आईसीसीले त्यस विषयमा स्पष्ट नियम बनाउँथ्यो ।

अहिले विश्व क्रिकेटमा आईसीसीले तयार पारेको विस्तृत नियमहरूको संगालो पनि यसरी नै क्रमगत रूपमा विकास हुँदै आएको हो । यहाँ चर्चा गर्न लागिएको विषय पनि खेलाडीले यस्तै स्पष्ट नियमको अभावमा आफू खुसी देखाएको व्यवहारसँग सम्बन्धित छ ।

प्रसंग आजभन्दा ४७ वर्षअघि अर्थात्, सन् १९७९ को हो । त्यतिबेला इङ्ल्यान्डको क्रिकेट टोली टेस्ट शृंखला खेल्न अस्ट्रेलिया भ्रमणमा गएको थियो । भ्रमणका क्रममा इङ्ल्यान्डले अस्ट्रेलियासँग तीनवटा टेस्टको शृंखला खेल्ने कार्यक्रम थियो ।

उक्त टेस्ट शृंखलाका क्रममा अस्ट्रेलियाका खेलाडी डेनिस लिली एउटा अनौठो ब्याट लिएर ब्याटिङ गर्न मैदानमा ओलिएका थिए । खासमा, डेनिस लिली विशेषज्ञ ब्याट्सम्यान थिएनन् । उनी आफ्नो समयका प्रभावशाली बलर थिए र सामान्यत: पालीको अन्त्यतिर ब्याटिङ गर्न आउँथे ।

विश्व क्रिकेटकै महान खेलाडीमध्येका एक डेनिस लिलीले त्यो एसेस शृंखलामा प्रयोग गरेको ब्याट एल्युमिनियमको धातुले बनेको थियो । उनी ब्याटिङ गर्न मैदानभित्र प्रवेश गर्दा यस विषयमा कसैलाई जानकारी थिएन ।

तर, जब उनी क्रिजमा ब्याटिङ गर्न थाले, त्यसपछि सबैको ध्यान डेनिस लिलीले प्रयोग गरिरहेको ब्याटतर्फ तानियो । खेलका क्रममा इङ्ल्यान्डका बलरले फालेको बल जब डेनिस लिलीको ब्याटमा ठोकिन्थ्यो, त्यसपछि क्रिकेट मैदानमा कहिल्यै नसुनिएको अनौठो आवाज आउँथ्यो ।

खासमा, एल्युमिनियमको धातुमा कुनै वस्तु ठोक्किँदा निस्कने चर्को ध्वनीले मैदानमा रहेका सबै खेलाडीको ध्यान तानेको थियो । त्यसपछि, विपक्षीको टोलीका खेलाडीले पनि डेनिस लिलीले प्रयोग गरेको ब्याट काठबाट नभई कुनै धातुबाट बनेको पत्ता लगाए ।

डेनिस लिलीले प्रयोग गरेको एल्युमिनियमको ब्याटको प्रहारका कारण बल पनि छिट्टै बिग्रन थालेको थियो । डेनिस लिली त्यसअघि पनि पटक–पटक विभिन्न विवादमा परिसकेका थिए । त्यसैले उनलाई सबैभन्दा बढी विवादमा पर्ने अस्ट्रेलियन क्रिकेटरका रूपमा पनि लिइन्थ्यो ।

त्यो टेस्ट शृंखलाको पहिलो खेल पर्थस्थित वेस्टर्न अस्ट्रेलिया क्रिकेट एसोसिएसनको ग्राउन्डमा खेलाइएको थियो । पहिलो टेस्टको पहिलो दिन अस्ट्रेलिया निकै दबाबमा देखिएको थियो । अस्ट्रेलियाले केवल दुई सय ३२ रनमा आफ्नो आठ विकेट गुमाइसकेको थियो ।

त्यसपछि पहिलो दिनको अन्त्यतिर डेनिस लिली क्रिज समाल्न आएका थिए । पहिलो दिनको खेल समाप्त हुँदासम्म डेनिस लिली अविजित ११ रन बनाउँदै क्रिजमा थिए । पहिलो दिन उनी काठबाटै बनेको ब्याट लिएर आएका थिए ।

तर, दोस्रो दिन भने उनी अप्रत्यासित रूपमा एल्युमिनियमको धातुबाट बनेको ब्याट लिएर मैदानमा ओर्लिए । खासमा, त्यो एल्युमिनियमको ब्याट डेनिस लिलीका साथी ग्रेह्यम मोनेगनको कम्पनीले बनाएको थियो ।

काठबाट बनाइएको परम्परागत ब्याटलाई प्रतिस्थापन गर्ने उद्देश्यसहित त्यो एल्युमिनियमको ब्याट तयार पारिएको थियो । मानेगनको कम्पनीले एल्युमिनियमबाट बनाइएको त्यो नयाँ ब्याटले विश्व क्रिकेटमा तहल्का मच्चाउने विश्वास लिएको थियो ।

धातुबाट बनाइने बेसबल खेलको ब्याटबाट प्रेरित भई क्रिकेटको त्यो ब्याट तयार पारिएको थियो । एल्युमिनियमबाट बनाइएको क्रिकेट ब्याट काठबाट बनाइएको ब्याटभन्दा बलियो र भरपर्दो हुने विश्वास मानेगनको कम्पनीले लिएको थियो ।

अस्ट्रेलियन क्रिकेटर डेनिस लिली पनि आफ्नो साथी मोनेगनको कम्पनीमा साझेदार थिए । त्यसैले आफ्नो कम्पनीबाट तयार पारिएको नयाँ ब्याट्सको विज्ञापन गर्न डेनिस लिली उक्त टेस्टमा एल्युमिनियमबाट बनाइएको ब्याट लिएर मैदानमा ओर्लिएका थिए ।

त्यतिबेला क्रिकेटको ब्याट कस्तो हुनुपर्छ भन्ने विषयमा आईसीसीको कुनै स्पष्ट नियम थिएन । त्यसैले डेनिस लिलीलाई एल्युमिनियमको ब्याट लिएर खेल्न झनै सहज भएको थियो । त्यसअघि, पनि डेनिस लिलीले त्यही ब्याटको प्रयोग गरेका थिए ।

इङ्ल्यान्डविरुद्धको टेस्टअघि अस्ट्रेलियाले वेस्ट इन्डिजसँग पनि टेस्ट खेलेको थियो । वेस्ट इन्डिजविरुद्धको त्यो टेस्टमा डेनिस लिली एल्युमिनियमको त्यही ब्याट लिएर मैदानमा ओर्लिएका थिए । तर, त्यतिबेला उनको ब्याटको कसैले विरोध गरेको थिएन र धेरैले वास्तासमेत गरेका थिएनन् ।

तर, इइङ्ल्यान्डविरुद्धको टेस्टमा भने उनको ब्यापक विरोध भयो । इङ्ल्यान्डविरुद्धको टेस्टको दोस्रो दिन जब डेनिस लिलीले इयान बोथमको बलमा स्ट्रेट ड्राइभ खेल्दै तीन रन लिएका थिए । तर, अस्ट्रेलियाका कप्तान ग्रेग च्यापलले काठको ब्याट्ले खेलेको भए त्यो बल सजिलै चौका हुनुपर्ने दाबी गरे ।

त्यसपछि अस्ट्रेलियन कप्तान च्यापलले टोलीका १२औं खेलाडी रोडनी हागलाई डेनिस लिलीका लागि काठको परम्परागत ब्याट ल्याउन निर्देशन दिए । उपयुक्त अवसरको पर्खाइमा रहेका इङ्ल्यान्डका कप्तान माइक बियर्लीले पनि त्यतिबेलै लिलीको ब्याटको विषयमा अम्पायरसँग गुनासो गरे ।

धातुको ब्याटले क्रिकेट बललाई छिट्टै बिगारिरहेको दाबी इङ्ल्यान्डका कप्तानले गरेका थिए । त्यसपछि अम्पायरले पनि डेनिस लिलीलाई काठबाट बनेको परम्परागत ब्याटले खेल्न निर्देशन दिए । तर, डेनिस लिलीले अम्पायरको निर्देशन मान्न ठाडै अस्वीकार गरे ।

एल्युमिनियमको ब्याटले खेल्न पाइँदैन भन्ने नियम कतै नरहेको लिलीको दाबी थियो । त्यसपछि विवाद झनै बढ्न पुग्यो । अम्पायर, लिली र दुवै टोलीका कप्तानबीच लामो समय वार्ता चल्यो । खेल पनि लामै समय रोकिन पुग्यो ।

अन्तत: अस्ट्रेलियाका कप्तानले डेनिस लिलीलाई काठकै ब्याटले खेल्न कडा निर्देशन दिए । कप्तान च्यापलको निर्देशनपछि लिली निकै आक्रोशित भए र उनले त्यो एल्युमिनियमको ब्याट्सलाई रिसाएर करिब ४० यार्ड टाढा हुत्याइदिए । त्यसपछि उनी काठको ब्याटले खेल्न थाले ।

खेलका क्रममा डेनिस लिली निकै आक्रोशित देखिए पनि खेलपछि उनलाई कुनै कारवाही भने गरिएन । किनभने त्यतिबेला ब्याटको विषयमा कुनै स्पष्ट नियम नै थिएन र लिली पनि आफ्नो ठाउँमा गलत थिएनन् । अम्पायरले उनलाई सामान्य चेतावनी भने दिए ।

त्यसपछि विश्व क्रिकेटमा त्यो एल्युमिनियमको ब्याट निकै चर्चित पनि भयो । ब्याटको बिक्री पनि निकै बढ्यो । एल्युमिनियमको ब्याट बिक्रीबाट भएको मुनाफको गतिलो प्रतिशत मोनेगनले डेनिस लिलीलाई पनि दिए ।

तर, एल्युमिनियमको ब्याट तीव्र्रगतिमा बिक्री हुनेक्रम केही समयसम्म मात्र चल्यो । किनभने त्यसको केही समयपछि नै आईसीसीले खेलका क्रममा प्रयोग गरिने ब्याटको विषयमा स्पष्ट नियम बनायो र अन्तर्राष्ट्रिय क्रिकेटमा त्यसलाई कडाइका साथ लागू गर्‍यो ।

यसरी क्रिकेटको नयाँ नियम बन्नुको पछाडि एउटै कारण थियो, डेनिस लिलीले प्रयोग गरेको एल्युमिनियमको त्यही ब्याट । अहिले क्रिकेटमा केवल काठको ब्याटमात्र प्रयोग गर्न पाइन्छ । त्यो खेलपछि क्रिकेटमा नियम ६ लागू गरिएको थियो ।

उक्त नियममा काठबाहेक अन्य वस्तुबाट बनाइएको ब्याट खेलमा प्रयोग गर्न पाइँदैन । उक्त ऐतिहासिक टेस्टमा घरेलु टोली अस्ट्रेलियाले भ्रमणकारी टोली इङ्ल्यान्डलाई एक सय ३८ रनको फराकिलो अन्तरले हराएको थियो ।

सन् १९७९ को त्यो टेस्टमा प्रयोग गरेको एल्युमिनियमको त्यो ब्याट ७६ वर्षीय डेनिस लिलीसँग अहिले पनि छ । त्यो टेस्ट सकिएपछि अस्ट्रेलिया र इङ्ल्यान्ड दुवै टोलीका सबै खेलाडीले त्यो ब्याटमा हस्ताक्षर पनि गरेका थिए ।

डेनिस लिलीले त्यो ब्याटको प्रयोग केवल विज्ञापनका लागि गरेको थाहा पाएपछि इङ्ल्यान्डका कप्तान बियर्लीले पनि खुसीसाथ त्यसमा हस्ताक्षर गरेका थिए । इङ्ल्यान्डका कप्तानले त्यो ब्याटमा ‘गुड अक विथ द सेल्स’ अर्थात्, ‘बिक्रीका लागि शुभकामना’ भन्ने सन्देश पनि लेखेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्