०७ साउन २०८३, बिहीबार

३३ किलो सुन प्रकरणमा फरार गौतम पक्राउ

माघ १, २०८२
काठमाडौं
३३ किलो सुन प्रकरणमा फरार गौतम पक्राउ

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा फरार रहेका सुरेन्द्र गौतमलाई प्रहरीले पक्राउ गरेको छ । 

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ घर भएका गौतमलाई काठमाडौंबाट प्रहरीले नियन्त्रणमा लिएको हो । गौतम सुन तस्कर चूडामणि उप्रेती उर्फ ‘गोरे’ समूहका सदस्य हुन् ।

२०७५ वैशाख १९ मा गौतमविरुद्ध मोरङ जिल्ला अदालतमा संगठित अपराध निवारण ऐन–२०७० अनुसारको कसुर, सनम शाक्यलाई अपहरण गरेर शरीर बन्धक बनाएको कसुर र मुलुकी ऐन, ज्यानसम्बन्धी  महलको १३ (१) बमोजिम सजायको मागदाबी गरेर अभियोपत्र दायर गरिएको थियो । 

गौतम त्यसबेलादेखि फरार रहेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीका अनुसार अभियोगपत्रमा उनलाई चौथो नम्बरमा प्रतिवादी कायम गरिएको थियो ।

फ्लाई दुबईको विमानबाट २०७४ माघ ९ मा विमानस्थलमा आइपुगेको ३३ केजी सुन विमानस्थल पार भएपछि मध्यबानेश्वरस्थित रत्नराज्य स्कूल छेउबाट हराएको थियो । विमानस्थलबाट सुन पुरानो बानेश्वरमा लगेर छाड्ने जिम्मा लिएका सानु बनले २०७४ माघ २२ मा विमानस्थलमा गुड्दै गरेको ट्यांकरको चक्कामा ठोक्किएर आत्महत्या गरेका थिए ।

त्यसपछि गोरे समूहले सुन गायब बनाएको आरोप लगाउँदै मोरङ उर्लाबारी नगरपालिका–७ घर भएका सनम शाक्यको हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष थियो ।

२०७४ फागुन १९ मा प्रहरीले विराटनगर महानगरपालिका–३ बाट सनमको शव बरामद गरेको थियो । ३३ केजी सुन र सनम हत्या प्रकरणमा ६३ जना प्रतिवादी कायम गरिएको थियो ।

पुस ३० मा पक्राउ परेका सुरेन्द्र गौतम सनमको हत्या हुँदा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरको निर्भाना कन्ट्री क्लबमा गोरे सँगै बसेका थिए । सोही क्लबमा यातना दिएर सनमको हत्या गरिएको थियो । 

गोरेको निर्देशनमा गौतमले सनमलाई दण्ड र सजाय दिने भूमिका खेलेको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

salt training

कमेन्ट गर्नुहोस्