
पुस ३० को मध्यराति (माघ १ गते बिहान) १ बजेर १३ मिनेटको समयमा भृकुटीमण्डपको महाधिवेशन हलबाट उपसभापति पदमा निर्वाचित भएपछिको मन्तव्यमा विश्वप्रकाश शर्माले भनेका थिए– ‘अहिले पनि देशले हामीलाई हेरिरहेको छ । देशभरका कांग्रेस कार्यकर्ता सुतेका छैनन् । केहीबेरमा उज्यालो हुँदा देशभर नयाँ सन्देश गइरहेको हुनेछ ।’
काठमाडौंमा भइरहेको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन केवल कांग्रेस कार्यकर्ताको चासोको मात्र विषय थिएन र छैन । स्वाभाविक रूपले केही दिनदेखि धेरैको नजर भृकुटीमण्डपको हलभित्र थियो ।
कांग्रेसको विशेष महाधिवेशन एउटा कुनै राजनीतिक दलको कर्मकाण्ड मात्र थिएन, नेपालको राजनीति र लोकतन्त्रमा दूरगामी परिघटना थियो । भृकुटीमण्डपमा लोकतन्त्रलाई अग्रगमनमा लैजाने, यथास्थितिमा राख्ने या प्रतिगमनमा फर्काउने भन्ने कित्ताकाट हुँदै थियो ।
कांग्रेसको ‘ग्रासरूट’ले गरेको सचेत विद्रोह नेपालका अन्य राजनीतिक दलका लागि पनि सचेतताको पाठ हो । स्मरणीय छ, त्यही ठाउँमा ४ वर्षअघि राप्रपाका सामान्य कार्यकर्ताले वर्षौंदेखि पार्टीमा रहेको जाम हटाएर दलहरू सुधार चाहिरहेका छन् भन्ने सन्देश दिएका थियो ।
पूर्वपञ्चहरूको पार्टीमा भएको त्यो परिवर्तन (लो प्रोफाइल नेता राजेन्द्र लिङ्देनको विजय) राष्ट्रिय राजनीतिका लागि त्यति निर्णायक थिएन, किन्तु त्यही परिवर्तनका कारण १ सीटमा सीमित राप्रपा संसद्मा १४ जनाको समूहसहित प्रवेश गरेको थियो । पार्टीको आन्तरिक लोकतान्त्रीकरण र शुद्धीकरणले जनतालाई कसरी आकर्षण गर्छ भन्ने त्यो एउटा उदाहरण हो ।
पढ्नुहोस्, यो पनि:
देउवाको हठले कांग्रेसमा निम्तिएको दोस्रो विग्रह र गगनको आगामी यात्रा
यसपटक भृकुटीमण्डपले लिएको निर्णय देशको राजनीतिको टर्निङ पोइन्ट हुनेछ– जहाँबाट कांग्रेसको काँचुली फेरिएको छ । पुस ३० को मध्यरातको सन्देश धेरै ठूलो छ, सो कुरालाई समयक्रमले पुष्टि गर्नेछ ।

‘जोसँग छ जनता आकर्षण गर्ने एजेन्डा’
मध्यरातमा पार्टी सभापतिको जिम्मेवारी लिइरहेको समयमा गगनमा केही कौतुहलता, केही जिज्ञासा र केही उत्सुकता देखिन्थ्यो । निर्वाचन समितिले औपचारिक घोषणा गर्न ढिलाइ गरिरहेको समयमा हलभित्र एउटा गीत बजिरहेको थियो, ‘एक युगमा एउटा नेता एकचोटी आउँछ ...।’
त्यहीबीच निर्वाचन समितिका संयोजक सीताराम केसीले गगन कांग्रेसको सभापति निर्वाचित भएको घोषणा गरे । विश्वप्रकाश शर्माले बेहुलालाई जस्तो दुबोको माला लगाइदिएर अंकमाल गरे । शर्माले कांग्रेसको पहिलो विशेष महाधिवेशन स्मरण गर्दै भने– ‘यस्तै युवा बीपीलाई सुवर्ण शमशेरले कांग्रेसको जिम्मा लगाउनु भएको थियो ।’
विश्वप्रकाशले हलमा स्मरण गरे– ‘कांग्रेस सभापतिका लागि ७४–७५ वर्षको उम्मेदवार मनोनयन हुने प्रचलन रहेकोमा तपाईंहरूलाई अचम्म लागिरहेको होला !’
दुबोको माला लगाएर गगनले मञ्चबाट कार्यकर्तालाई सम्बोधन गर्दै नमूना पार्टी बनाउने संकल्प गरे । जोखिम मोलेर प्रतिनिधिहरू विशेष महाधिवेशनमा आएको स्मरण गर्दै उनले भने, ‘गगन–विश्व उभिएको विशेष महाधिवेशनमा गएको भन्दा तपाईंहरूलाई गर्व हुनेछ । पार्टी कार्यकर्ताको शिर निहुरिन दिन्नँ ।’
पढ्नुहोस्, यो पनि:
भृकुटीमण्डपमा चलेको ‘गगन वेग’ र देउवाले गुमाएको राजनीतिक वैधता
२ दशक यताका राजनीतिक घटनाक्रममा गगन जहाँ उभिन्छन्, कांग्रेस लतारिएर त्यो ठाउँमा पुग्न बाध्य भएका कयौं उदाहरण छन् । गणतन्त्रको शंखघोष गर्दा होस् या प्रतिनिधिसभा विघटनविरुद्ध सडकमा आउने पहिलो व्यक्ति नै गगन थिए । ०६० को दशकमा माओवादीको ज्यादती होस् या ०७० को दशकमा कम्युनिस्ट पार्टीको बलियो सरकारसँग आँखा जुधाएर विरोध गर्ने तागत उनमा थियो ।

सत्तापक्षमा रहँदा होस् या विपक्षमा रहँदा संसदमा उनी बोल्दा ‘पिन ड्रप साइलेन्स’ हुन्थ्यो, जुन बिरलै पाइन्छ । पार्टी सत्तामा हुँदा पनि उनले जनताको आवाज बोल्न छाडेनन् । भदौ २३–२४ को घटनाको निकट अतीतमा उनले संसद्बाट तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई खबरदारी गरेका थिए– ‘आसेपासेले राम्रो भइरहेको भनिरहेका होलान्, तर सरकारको कामबाट जनता पटक्कै खुशी छैनन् ।’
पार्टी सरकारमा रहँदा पनि उनले सरकारले गरेका गलत कामको विरोध गर्न छाडेनन्, त्यसैले पनि उनीप्रति आममानिसको चासो छ । गाउँ–गाउँमा ‘नयाँ दल र नेता’ खोजिइरहेको समयमा ‘पुरानो दल’बाट विकल्प बन्ने गगन अपवाद नेता हुन् ।
नयाँका नाममा केही अल्लारेहरू ‘जेलेन्स्की’ बन्छन् भनेर मध्यम वर्ग सन्त्रासमा रहेका बेला उनीहरूलाई काउन्टर दिन सक्ने र देशलाई सम्हाल्न सक्ने नेता गगन हुन् । बुधबार भृकुटीमण्डपबाट विश्वप्रकाश भन्दै थिए–‘कांग्रेसलाई नेतृत्व गर्न सक्ने र देशलाई बदल्न सक्ने दह्रो मान्छे गगन थापा हो ।’
युद्ध हारेको सिपाही जस्तो मनोविज्ञानमा देउवा
विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गरेपछि आफूलाई अझै पनि संस्थापन दाबी गरिरहेको र पार्टी कार्यालय कब्जा गरेर बसेको शेरबहादुर देउवा समूहको नूर गिरेको छ ।
कांग्रेस आधिकारिकताको निरूपण निर्वाचन आयोग या सर्वोच्च अदालतले गर्ला, तर देउवा समूह थकित र युद्ध हारेको सीपाहीको जस्तो मनोविज्ञानमा देखिन्छ ।
राजनीतिक रूपमा उनीहरूसँग कुनै आकर्षक एजेन्डा, बिकाउ नारा या आकर्षण छैन । देउवा समूहसँग केवल एउटै चिज छ, वैधानिकता गुमाइसकेको केन्द्रीय समितिको बहुमत । त्यसैको आधारमा देउवा समूहका होनाहार नेता मोहन बस्नेत भन्दैछन्, उनीहरू (गगन–विश्व)लाई ठेगान लगाउँछौं ।
भृकुटीमण्डपमा चलेको वेग र हुरीले हरिया पात सबै उडाएर लगेको छ, देउवासँग रहेको बहुमत सदस्यको नियति पात झरेका रूखजस्तो छ ।
किन्तु, कांग्रेसभित्र अनुदार समूहको प्रवक्ता बनेका कृष्ण सिटौला, विमलेन्द्र निधि र प्रकाशशरण महतहरूले यो परिवर्तनलाई स्वीकारेका छैनन् ।
आफूलाई मध्यमार्गी कित्ताको नेता दाबी गरिरहेका डा. शेखर कोइरालाले समेत जनता र कार्यकर्ताको भावना आत्मसात गर्न सकेनन् । विशेषले नेतृत्व चयन गरेपछिको विज्ञप्तिमा कोइराला भन्छन्, ‘राजधानीमा षड्यन्त्रको अनेकन् राष्ट्रिय र अन्तर्राष्ट्रिय तानाबाना बुनिए, अनि कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई हामीले रोक्न सकेनौं ।’
आफ्ना कमजोरी लुकाउन अबका केही दिन, हप्ता र महिना विदेशी षड्यन्त्रको फर्जी कहानी बनाएर कांग्रेस विभाजनको दोषारोपण चल्नेछ ।
०६० सालमा गणतन्त्रको पक्षमा नारा लगाउँदा गगनलाई कांग्रेसको संस्थापनले नै आक्षेप लगाएको थियो– दरबारबाट परिचालित हो भनेर । अहिले पार्टी विभाजन गरेको आरोप लगाएपनि कांग्रेसका सबै थकित अनुहार र प्रौढहरू गगन–विश्वको लाइनमा लतारिएर आउन बाध्य हुनेछन् ।
भदौ २४ मा बूढानीलकण्ठको महलमा धनदौलत जलेको मात्र होइन, देउवाको राजनीतिक भण्डार खाली भइसकेको छ । जनताकोमा मुख देखाउन जान उनीहरूसँग अब केही बहाना छैनन्, जनताको कुनै सहानुभूति छैन ।
पढ्नुहोस्, यो पनि :