
आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो औपचारिक अभ्यास खेलमा पनि नेपाली टोलीले हार ब्यहोरेको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार खेलिएको दोस्रो तथा अन्तिम अभ्यास खेलमा नेपाली टोली अमेरिकासँग ६ विकेटले पराजित भएको हो ।
नेपाली टोली यसअघि खेलिएको पहिलो औपचारिक अभ्यास खेलमा निराशाजनक प्रदर्शन गर्दै आयरल्यान्डसँग ९९ रनको विशाल अन्तरले पराजित भएको थियो ।
अभ्यास खेलमा अमेरिकाले भने लगातार दोस्रो जित ब्यहोरेको हो । यसअघि, अमेरिकाले आफ्नो पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई चार विकेटले हराएको थियो ।
अमेरिकाविरुद्धको खेलमा शुक्रबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३६ रन बनाएको थियो ।
नेपाली टोलीका लागि ओपनर ब्याटर विन्दु रावलले सर्वाधिक २७ रन बनाइन् । उनले २८ बलमा तीन चौका पनि प्रहार गरिन् ।
अर्की ओपनर सम्झना खड्काले पनि टोलीको खातामा २४ रन थपिन् । उनले २० बलमा तीन चौका प्रहार गरिन् ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएकी पूजा महतोले १५ बलमा दुई चौकाको मद्दतले १७ रन जोडिन् । कविता जोशीले पनि १४ बलमा चार चौकाको मद्दतले २० रन बनाइन् ।
रोमा थापाले १४ बलमा एक छक्का र एक चौकाको मद्दतले १९ रन बनाइन् । नेपालको पालीमा छक्का प्रहार गर्ने उनी एकमात्र ब्याटर हुन् ।
नेपाली टोलीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालले अतिरिक्त रूपमा सात रन पायो । अमेरिकी टोलीका बलर तरनुम चोपडाले तीन विकेट लिइन् ।
जवाफी ब्याटिङमा ओर्लिएको अमेरिकाले भने १९.१ ओभरमा केवल चार विकेट गुमाएर एक सय ३८ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
अमेरिकाको जितमा ओपनर चेतना रेड्डीले अविजित ५६ रनको योगदान गरिन् । उनले केवल ४६ बलमा ६ चौका पनि प्रहार गरिन् ।
इशानी बघेलाले पनि टोलीको जितमा २० रनको योगदान गरिन् । उनले २० बलमा दुई चौका हिर्काइन् । एला क्लारिजले १४ बलमा तीन चौकाको मद्दतले १४ रन जोडिन् ।
कप्तान अदितिबा चुडासमाले ११ बलमा एक चौकाको मद्दतले १३ रन बटुलिन् । रितु सिंहले टोलीको खातामा अविजित १९ रन थपिन् । उनले १३ बलमा दुई चौका पनि हिर्काइन् ।
अमेरिकाले अतिरिक्त रुपमा १२ रन पायो । नेपाली टोलीका बलर सुमन विष्ट, रिया शर्मा र रुविना क्षेत्रीले एक–एक विकेट लिए ।
आईसीसी महिला टी–२० विश्वकपको विश्वस्तरीय छनोट प्रतियोगिता सन् २०२६ को जनवरी १८ देखि फेब्रुअरी ३ तारिख (माघ ४ देखि २० गते) सम्म नेपालमै आयोजना हुँदैछ ।
ग्लोबल छनोट प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदान, मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान र तल्लो मूलपानी क्रिकेट मैदानमै खेलाइने छ ।
प्रतियोगितामा विभिन्न महादेशबाट छनोट भएर आएका १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । यो छनोट प्रतियोगिताबाट चारवटा टोलीले आईसीसी महिला टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।
महिला टी–२० विश्वकपको १०औं संस्करण सन् २०२६ को जुन १२ देखि जुलाई ५ तारिख (२०८३ जेठ २९ देखि असार २१) सम्म आयोजना हुनेछ ।
इङ्ल्यान्ड र वेल्समा आयोजना हुने उक्त विश्वकपमा १२ टोलीको सहभागिता रहने छ । आठ वटा टोलीले यसअघि नै आगामी विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन् ।
बाँकी चार टोलीको टुङ्गो भने यही छनोट प्रतियोगिताबाट लाग्नेछ । विश्वस्तरीय छनोट प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पीएनजी र अमेरिका छन् । समूह ‘बी’ मा नेपाल, नेदरल्यान्ड्स, स्कटल्यान्ड, थाइल्यान्ड र जिम्बाब्वे रहेका छन् ।