२६ जेठ २०८३, मंगलबार

प्रहरी महानिरीक्षक कार्कीको शब्द रचना रहेको गीत सार्वजनिक

माघ २, २०८२
काठमाडौं
प्रहरी महानिरीक्षक कार्कीको शब्द रचना रहेको गीत सार्वजनिक

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको शब्द रचना रहेको गीत ‘आमा म त खरानीबाट उठेर आएँ’ सार्वजनिक भएको छ । प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच उक्त गीतको प्रथम प्रदर्शनी गरिएको हो ।

नेपाल प्रहरीले निर्वाह गरिरहेको जिम्मेवारी, संघर्ष, सेवाभावलाई सजीव रूपमा प्रस्तुत गर्दै प्रहरी कर्मचारीहरूले दिनानुदिन भोग्दै आएको संघर्ष, जोखिमपूर्ण जिम्मेवारी र नागरिकको सुरक्षाको लागि गरिएको निःस्वार्थ सेवाको यथार्थ चित्रण सहितको भाव प्रस्तुत गरिएको छ ।

गीतकार महानिरीक्षक कार्की उपत्यका प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारीमा रहँदा नवयुवा पुस्ताले गरेको आन्दोलनको क्रममा उनले प्रत्यक्ष अवलोकन र अनुभूत गरेका विषयहरूलाई यस गीतको माध्यमबाट उत्कृष्ट छायांकनका साथ दर्शकहरूको मन छुने गरी मार्मिक तवरले प्रस्तुत गरिएको छ ।

नवयुवा पुस्ताको आन्दोलनपश्चात् खरानीबाट उठेर नागरिक सेवा र सुरक्षामा होमिएका प्रहरीको मनोभाव, अनुशासन, देश प्रतिको जिम्मेवारी र आम नागरिक प्रतिको कर्तव्य बोधलाई यस गीतले भावनात्मक रूपमा उजागर गरेको छ ।

गीतमा दीपक शर्माको संगीत, उदयराज पौडेलको एरेन्ज, श्यामश्वेत रसाइलीको मिक्सिङ/मास्टरिङ्ग रहेको छ ।

थानेश्वर गौतम, शान्तिश्री परियार,​ समीर खरेल, सदिच्छा कट्टेल र सहिमा श्रेष्ठको स्वर रहेको उक्त गीतको भिडियोमा सुरक्षा पन्त, सूर्यमाला खनाल, तारा केसी, राजन न्यौपाने, सुदीप पट्टेल, कृतिका बस्नेत लगायतका कलाकारहरूले अभिनय गरेका छन् ।

मानव सुवेदीको कथा एवं निर्देशन रहेको गीतको भिडियोमा सौरभ लामिछानेको छायांकन तथा सरोज ओलीको भिडियो कन्सेप्ट रहेको छ ।

गीतको प्रदर्शनी कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूका साथै प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्