२९ असार २०८३, सोमबार

एन्फा राष्ट्रिय लिग फुटबलमा आज तीन खेल, आर्मीसँग भिड्दै मनाङ मर्स्याङ्दी

माघ ३, २०८२
काठमाडौं
एन्फा राष्ट्रिय लिग फुटबलमा आज तीन खेल, आर्मीसँग भिड्दै मनाङ मर्स्याङ्दी

एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा शनिबार तीनवटा खेल खेलिने छ । पहिलो खेल चित्लाङ फुटबल क्लब र नव जनजागृति युवा क्लबबीच खेलिने छ ।

चित्लाङ र नव जनजागृति क्लबबीचको खेल १२ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा शुरू हुनेछ ।

काठमाडौँको चित्लाङ एफसी र सिमराको नव जनजागृति एन्फा प्रेसिडेन्ट लिगमा उत्कृष्ट प्रदर्शन गर्दै एन्फा राष्ट्रिय लिगमा छनोट भएका हुन् ।

एन्फा प्रेसिडेन्ट लिगको सेमिफाइनलमा चित्लाङ फुटबल क्लबले नव जनजागृति युवा क्लबलाई पराजित गरेको थियो ।

यसैगरी, शनिबारको दोस्रो खेल घरेलु फुटबलका दुई प्रभावशाली टोली त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच खेलिने छ ।

विभागीय टोली त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीचको खेल दिउँसो १४:०० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरू हुनेछ ।

त्रिभुवन आर्मी क्लब पछिल्लो ‘ए’ डिभिजन लिगमा सातौं स्थानमा रहेको थियो । आर्मी क्लबले २६ खेलबाट ३४ अंक जोडेको थियो ।

यसैगरी, गर्विलो इतिहास बोकेको मनाङ मर्स्याङ्दी क्लबले पनि पछिल्लो ‘ए’ डिभिजन लिगमा गतिलो प्रदर्शन गर्न सकेको थिएन । मनाङ मर्स्याङ्दी लिगमा आठौं भएको थियो ।

यसैगरी, शनिबारको तेस्रो खेल प्लानिङ ब्वाइज युनाइटेड र नेपाल पुलिस क्लबबीच खेलिने छ । यो खेल साँझ १८:३० बजे दशरथ रंगशालामा सुरु हुनेछ ।

प्लानिङ ब्वाइज क्लब यसै वर्ष भएको सहिद स्मारक ‘बी’ डिभिजन लिगबाट बढुवा हुँदै ‘ए’ डिभिजन लिगमा उक्लिएको हो । ‘बी’ डिभिजन लिगमा प्लानिङ ब्वाइज च्याम्पियन बनेको थियो ।

विभागीय क्लब नेपाल पुलिस क्लब भने पछिल्लो सहिद स्मारक ‘ए’ डिभिजन लिग तालिकामा तेस्रो स्थानमा रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्