
मोरङको उर्लाबारी–७ मा एउटा यस्तो सुगन्ध आउँछ, जसले जोकोहीको जिब्रो रसाउँछ । त्यहाँ न कुनै ठूला मेसिनको गडगडाहट छ, न त कुनै विदेशी रसायनको गन्ध ।
त्यहाँ एउटा पाको अनुभव, केही जाँगरिला हात र आफ्नै मौलिक पाक प्रविधि छ । यो ‘आरएमडी अचार उद्योग’ हो, जहाँ गएको ६ वर्षदेखि व्यवसायी मनोहरी दाहाल अचारको संसारमा रमाइरहेका छन् ।
कुनै समय मनोहरीको परिचय ‘कञ्चनजंघा होटल एन्ड लज’का साहुजीका रूपमा मात्रै सीमित थियो । ३३ वर्षसम्म उनले उर्लाबारीमा होटल चलाए, हजारौंलाई खुवाए र सयौंलाई बास दिए ।
तर, समय सधैँ एकैनास रहेन । कोरोनापछि होटल व्यवसायमा आएको मन्दी र बढ्दो प्रतिस्पर्धाले व्यवसाय केही सुस्ताउन थाल्यो । होटलका कर्मचारी फुर्सदिला हुन थालेपछि उनलाई केही नयाँ गर्ने सोच आयो ।
होटलमा ग्राहकलाई अचार बनाएर खुवाउँदा सबैले तारिफ गर्थे, त्यही तारिफलाई उनले व्यवसायमा बदल्ने निधो गरे । यही सानो सोचले आज उनलाई होटल साहुबाट एक सफल अचार उद्यमीको पहिचान दिएको छ ।
उनले आफ्नो बुवा रामचन्द्र र आमा मनामायाको नामको पहिलो अक्षर जोडेर उद्योगको नाम ‘आरएमडी’ राखेका छन् । आमाबुवाप्रति उनको यो श्रद्धा आज हजारौंको भान्सामा स्वाद बनेर पुगेको छ ।
बजारमा पाइने धेरैजसो अचारमा रसायनको बिगबिगी भए पनि मनोहरीको अचार बनाउने तरिका अलि फरक र पौराणिक छ । उनी यसलाई ‘पाक प्रविधि’ भन्छन् । उनी कुनै पनि अचार काँचै बनाउँदैनन्, बरु सबैलाई बाफमा पकाउँछन् वा हल्का तेलमा फ्राइ गर्छन् ।

मसलाको मामिलामा उनी झनै कठोर छन् । बेसारदेखि जिरा, धनियाँ र मरिचसम्म उनी आफैं किनेर ल्याउँछन्, सुकाउँछन् र आफ्नै उद्योगमा पिस्छन् । प्याकेटको धुलो मसला उनको उद्योगमा वर्जित छ । यही शुद्धताले गर्दा होला, उनले शुरू गरेको यो यात्राले छोटो समयमै व्यावसायिक उचाइ छोएको छ।
आरएमडी अचारमा विविधताको खानी नै छ । लप्सी, अमला, कागती, अदुवा, लसुनदेखि पहाडबाट ल्याइएको तामासम्मको अचार यहाँ तयार हुन्छ । विशेषगरी अकबरे खुर्सानीका मात्रै उनले चार प्रकारका अचार बनाउँछन् । अकबरे टिमुर, अकबरे दाना, अकबरे आर्सुल र अकबरे तामा ।
सिजन अनुसार उनले आँपको मात्रै ३० क्विन्टलसम्मको अचार बनाउँछन् भने लप्सी र अकबरे १५–१५ क्विन्टलसम्म स्टक राख्छन् । सिजनमा त उनको उद्योगमा १०० क्विन्टलसम्म अचार तयार हुन्छ । पहिले उनले मेथी, करेला र च्याउको पनि अचार बनाउँथे, तर उपभोक्ताले ती स्वादमा त्यति रुचि नदेखाएपछि अहिले चल्तीका आइटममा बढी जोड दिएका छन् ।
अचारको व्यापार शुरू गर्दा उनलाई लागेको थिएन कि यो स्वादले समुद्र पार गर्ला । तर अनलाइन अर्डरले गर्दा अहिले अमेरिका, साउदी अरब र अन्य गल्फ मुलुकमा रहेका नेपालीका लागि मनोहरीको अचार घरको याद दिलाउने माध्यम बनेको छ ।
कसैले दुई किलो मात्रै माग्दा पनि उनी नेपालभर कुरियरमार्फत् पठाइदिन्छन् । कोशी प्रदेशका प्राय: सबै जिल्लाका पसलमा आरएमडीको ब्रान्ड पुगिसकेको छ । यो उद्योगलाई यस वर्ष २५ देखि ३० लाख पुर्याउने उनको लक्ष्य छ ।
मनोहरीको यो सफलतामा उनकी जीवनसंगिनी राधिका देवी दाहालको ठूलो साथ छ । उद्योगमा ४ जनाले नियमित रोजगारी पाएका छन् भने सिजनमा २० जनासम्म स्थानीय महिलाले काम पाउँछन् ।
स्थानीयस्तरमा उत्पादन हुने अमला, लप्सी र अकबरे खुर्सानीले बजार पाउँदा कृषक पनि खुसी छन् । यद्यपि, सबै कुरा सुखद् मात्रै छैन । एउटा तितो यथार्थ उनीसँग पनि छ । उनका छोराछोरी अहिले नेपालमा छैनन् । अहिलेका युवाहरू नेपाल बस्न नमान्दा छोराछोरी विदेशिएको पीडा उनमा पनि देखिन्छ । तर उनी बुढाबुढी र कर्मचारी मिलेरै यो बिरासत धानिरहेका छन् ।

मनोहरी अहिले बेलबारी उद्योग वाणिज्य संघको आयोजनामा जारी ‘तेस्रो बेलबारी महोत्सव’मा आफ्नो स्टल राखेर बसेका छन् । उनी चाहन्छन्, मान्छेले एकपटक उनको अचार चाखून् । उनको आत्मविश्वास छ कि एकपटक यो अचार चाखेपछि मान्छेले अर्को अचार खोज्दैनन्, किनकि यसमा घरको जस्तै शुद्धता र प्रेम छ । होटलको साहुजीबाट सुरु भएको उनको यो पिरो–अमिलो यात्रा अहिले धेरैका लागि प्रेरणाको स्रोत बनेको छ ।
व्यवसाय सानो वा ठूलो हुन्न, शुद्धता र जाँगर भयो भने उर्लाबारीको कुनाबाट पनि विश्वको भान्सासम्म पुग्न सकिन्छ भन्ने उदाहरण मनोहरी दाहालले दिएका छन् ।
गत पुस २५ गतेदेखि शुरू भएको महोत्सवमा उनीजस्ता धेरैले स्टल ल्याएर राखेका छन् । बेलबारी उद्योग वाणिज्य संघका महासचिव विवेक मिश्रका अनुसार महोत्सवको सातौं दिनसम्म आइपुग्दा करिब ४० हजार दर्शकले अवलोकन गरिसकेका छन् ।
महोत्सवको सातौं दिनसम्म ५० लाख रूपैयाँभन्दा बढीको व्यावसायिक कारोबार भएको उनले बताए । महोत्सवमा ५० वटा व्यापारिक स्टल र १५ वटा होटलका स्टल गरी कूल ६५ वटा स्टल सञ्चालनमा छन् ।