
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कारबाही गर्न निर्वाचन आयोगले प्रहरीको साइबर ब्यूरोलाई पत्र लेखेको छ ।
प्रसाईंले आयोगविरुद्ध अनर्गल प्रचार गरेको भन्दै कारबाहीका लागि आयोगले आइतबार पत्र पठाएको हो ।
प्रसाईंले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापालाई आयोगले आधिकारिकता दिन ५४ करोडको मोलमोलाइ गरेको आरोप लागेका थिए ।
उक्त आरोपमाथि खण्डन गर्दै थापा समूहले प्रसाईंलाई कारबाही गर्न आयोगसमक्ष आग्रह गरेको थियो ।
साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार आयोगको पत्र आएपछि कुन कसुरमा कारबाही गर्ने भनेर आवश्यक छलफल भइरहेको छ ।
'आयोगको पत्र आएको छ, हामी विद्युतीय कारोबार ऐनमा कारबाही गर्ने कि निर्वाचनसम्बन्धी कानूनमा कारबाही गर्ने भनेर छलफलमै छौं,' उनले लोकान्तरसँग भने ।