२९ असार २०८३, सोमबार
झापा-५ को दृश्य

‘पाँडे’ले नेतृत्व गरेको बालेनको मनोनयन दर्ता ‘भद्रगोल’!

फारम भर्न अधिवक्ता गुहारियो, १० हजार खोज्न अर्को चटारो
माघ ६, २०८२
झापा
‘पाँडे’ले नेतृत्व गरेको बालेनको मनोनयन दर्ता ‘भद्रगोल’!

झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा निर्वाचनको विषयलाई लिएर एक महिनाअघिबाटै राष्ट्रिय चर्चाको केन्द्रमा छ । 

यसको कारण हो; यो क्षेत्रबाट पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र संसदीय निर्वाचनका लागि काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आमनेसामने हुनु ।

दुवै नेताले आफूलाई ‘भावी प्रधानमन्त्री’का रूपमा प्रस्तुत गरेका कारण पनि झापा ५ को माहोल निकै तातिएको छ । जुन मंगलबार भएको उम्मेदवारी मनोनयन दर्तामा पनि देखियो ।

तर, एउटा दु:खद् पक्ष; विशेषगरी बालेनको उम्मेदवारी दर्ता प्रक्रियामा देखिएको अव्यवस्थाले टेलिभिजनको चर्चित हाँस्य शृङ्खला ‘भद्रगोल’लाई नै बिर्साउने काम गर्‍यो ।

बालेनको मनोनयन दर्ताको नेतृत्व हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले गरिरहेका थिए । पाँडे तिनै पात्र हुन् जो टेलिश्रृंखला ‘भद्रगोल’बाट उदाए र उनले उक्त चरित्र पछिल्लो टेलिशृंखला ‘सक्किगोनि’मा पनि निभाए । र, आज उनै पाँडेले नेतृत्व गरेको कार्यक्रम पूर्ण ‘भद्रगोल’ बन्न पुग्यो । 

बिहान ११ बजेको समय पाएका बालेन झण्डै एक घण्टा ढिलो गरी नौमती बाजासहित दमक चोकबाट जुलुस लिएर निर्वाचन अधिकृतको कार्यालय पुगे । उनी सनरूफ कारबाट हात हल्लाउँदै, समर्थकको हुटिङकाबीच निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । 

तर, जब उनी कार्यालयभित्र छिरे, त्यहाँको दृश्य बाहिरको भन्दा विल्कुलै फरक देखियो । मनोनयन दर्ताका लागि आवश्यक पर्ने आधारभूत तयारीसमेत नगरी बालेनको टोली कार्यालय पुगेको पाइएपछि निर्वाचन कर्मचारीहरू नै चकित परेका थिए ।

मनोनयन फारम नभरी र अन्य आवश्यक कागजातको प्रक्रिया समेत पूरा नगरी पुगेका बालेनको टोलीले शुरूमा कर्मचारीलाई नै फारम भरिदिन आग्रह गरेको थियो । 

‘पाँडे’लगायत काठमाडौंबाट आएको टोलीले कर्मचारीसँग आग्रह गरे पनि कर्मचारीले ‘यो नियमविपरीत हुन्छ, उम्मेदवारले आफैं फारम भर्नुपर्छ’ भनेपछि बालेनको टोलीमा खैलाबैला मच्चिएको थियो । 

त्यहाँ फारम भर्न जान्ने मान्छेसमेत नभएपछि हतार–हतार मोरङ क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार एवं अधिवक्ता यज्ञमणि न्यौपानेलाई गुहार्नुपरेको थियो । 

न्यौपाने आएर कागजात मिलाउन थाल्दा बालेन भने कार्यालयको एउटा कुनामा राखिएको प्लास्टिकको कुर्सीमा बसेका थिए । पत्रकारहरूले उनको तस्वीर खिच्न खोज्दा ‘अहिले बाहिर जानुहोस्’ भने । पत्रकार बाहिर ननिस्किएपछि उनी पछाडिको कुर्सीमा गएर बसेका थिए । 

व्यवस्थापनको कमजोरी त्यतिमा मात्र सीमित रहेन । उम्मेदवारी दर्ताका लागि लाग्ने १० हजार रूपैयाँ धरौटी रकमसमेत बालेनको टोलीले बोकेको थिएन । धरौटी नबुझाइ दर्ता नहुने भएपछि अन्तिममा प्रहरीमार्फत् बाहिरबाट पैसा मगाइएको थियो । 

बाहिर ‘भावी प्रधानमन्त्री’ भन्दै नारा लागिरहँदा भित्र १० हजार रूपैयाँका लागि भएको त्यो दौडधूपले रास्वपाको स्थानीय कार्यकर्तालाई समेत लज्जित बनाएको थियो । एउटा सामान्य फारम भर्न र सामान्य धरौटी रकमको व्यवस्थापन समयमै गर्न नसक्ने टोलीले देशको नेतृत्व कसरी गर्ला भन्दै त्यहाँ उपस्थित केहीले कानेखुसीसमेत गरिरहेका थिए ।

एक कर्मचारीका अनुसार अघिल्लो दिन नै फारम लगिएको भए पनि दर्ताका क्रममा उनीहरू पूर्ण रूपमा अलमलमा देखिएका थिए ।

बालेनको यो भद्रगोल चलिरहँदा एमाले अध्यक्ष केपी शर्मा ओली भने निकै व्यवस्थित र तामझामका साथ कार्यालय पुगेका थिए । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की लगायतका नेताहरूको दलबलसहित आएका ओलीले बाहिरै रहेका कुर्सीमा बसेर पत्रकारहरूसँग केहीबेर कुराकानी पनि गरे । 

ओलीको मनोनयन दर्ता  निकै छिटो सम्पन्न भएको थियो । सोही क्रममा प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले ओली र नेकपाका उम्मेदवार रञ्जित तामाङबीच जम्काभेट गराइदिएका थिए । तामाङ र ओलीबीच केही रोचक सवाल-जवाफपनि भएको थियो ।

उम्मेदवारी दर्तापछि भने बालेनको मूड निकै खराब देखिएको थियो । दमक चोकमा सम्बोधन गर्ने पूर्व घोषित कार्यक्रम भए पनि एमाले र रास्वपा कार्यकर्ताबीच झडपको स्थिति सिर्जना भएपछि उनले ‘आजको दिन नै खराब छ’ भन्दै भाषण नै नगरी त्यहाँबाट बाहिरिएका थिए । 

रोचक कुरा त के छ भने, आउँदा एउटा गाडीमा आएका बालेन जाँदा भने अर्को छुट्टै गाडी चढेर कसैलाई जानकारी नै नदिई बिर्तामोडस्थित सिने कलाकार निश्चल बस्नेतको घरतिर लागेका थिए । 

काठमाडौंबाटै टीम बोकेर आएका बालेनको पहिलो दिनको प्रदर्शन व्यवस्थापकीय हिसाबले निकै कमजोर र भद्रगोल देखिएको मनोनयनमा खटिने कर्मचारी बताउँछन् ।  

यसैबीच, नेपाली कांग्रेसले यस क्षेत्रमा अन्तिम समयमा उम्मेदवार परिवर्तन गर्दै मन्दरा पौडेल चिमोरियालाई मैदानमा उतारेको छ । यसअघि आइन्द्र विक्रम केरुङलाई उठ्न भने पनि उनी उ्ठन नमानेपछि महिला उम्मेदवारलाई उठाएको हो ।  

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको उम्मेदवारको सूची अनुसार यस क्षेत्रबाट कूल २४ जनाले उम्मेदवारी दिएका छन् ।

यस क्षेत्रमा १० जना स्वतन्त्र उम्मेदवार रहेका छन् । चुनावी प्रतिस्पर्धामा जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमुक्ति पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लगायतका दलले पनि आफ्ना उम्मेदवार उठाएका छन् ।

कूल २४ उम्मेदवारमध्ये महिलाको उपस्थिति भने निकै न्यून देखिएको छ । सार्वजनिक सूची अनुसार चिमरिया (नेपाली कांग्रेस), रञ्जना गौतम (स्वतन्त्र) र शोभा भण्डारी (स्वतन्त्र) गरी जम्मा ३ जना महिला उम्मेदवार प्रतिस्पर्धामा छन् । बाँकी २१ जना पुरुष उम्मेदवार रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्