अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रवक्ता जुली कोजाकले भारतलाई विश्व आर्थिक वृद्धिको प्रमुख राष्ट्रको रूपमा उल्लेख गरेकी छन्। आईएमएफले जनवरीमा सार्वजनिक गर्ने वर्ल्ड इकोनोमिक आउटलुक प्रतिवेदनमा भारतको आर्थिक वृद्धि अनुमान बढाउने तयारी गरिरहेको उनले बताइन्।
'भारत विश्व आर्थिक वृद्धिको मुख्य आधार बनेको छ र यहाँको वृद्धि निकै मजबुत देखिएको छ,' कोजाकले भनिन्।
आईएमएफको आर्टिकल–४ स्टाफ रिपोर्ट अनुसार आर्थिक वर्ष २०२५/२६ का लागि भारतको आर्थिक वृद्धि दर ६.६ प्रतिशत रहने अनुमान गरिएको थियो, जसको आधार बलियो उपभोग वृद्धि हो। त्यसयता तेस्रो त्रैमासिकको आर्थिक नतिजा अपेक्षाभन्दा राम्रो आएको उनले उल्लेख गरिन्।
'तेस्रो त्रैमासिकको वृद्धि अनुमानभन्दा बलियो देखिएको छ, जसका कारण आगामी दिनमा हाम्रो पूर्वानुमान परिमार्जन हुने सम्भावना बढेको छ। अबको केही दिनमै जनवरीको डब्ल्यूईओ अपडेट आउँदैछ, त्यसबेला भारतका लागि संशोधित वृद्धि दर सार्वजनिक हुनेछ,' कोजाकले बिहीबारको पत्रकार सम्मेलनमा भनिन्।
संयुक्त राष्ट्रसंघले पनि वृद्धि अनुमान बढायो
यसैबीच, संयुक्त राष्ट्रसंघ (यूएन) ले सन् २०२६ का लागि भारतको आर्थिक वृद्धि अनुमान ६.६ प्रतिशत पुर्याएको छ, जुन यसअघि ६.४ प्रतिशत थियो। सन् २०२७ का लागि भारतको वृद्धि दर ६.७ प्रतिशत रहने अनुमान गरिएको छ।
यूएनका अनुसार निजी उपभोगको मजबुती र सार्वजनिक लगानीको निरन्तरता प्रमुख कारण हुन्, जसले अमेरिकी कर नीतिका कारण भारतीय निर्यातमा पर्न सक्ने दबाबलाई धेरै हदसम्म सन्तुलनमा राख्ने अपेक्षा गरिएको छ।
आयकर कटौती, वस्तु तथा सेवा कर (जीएसटी) सुधार र ब्याजदर घटाउनेजस्ता हालैका नीतिगत कदमले छोटो अवधिमा आर्थिक वृद्धिलाई थप गति दिने यूएनको भनाइ छ।
यूएनको वर्ल्ड इकोनोमिक सिचुएसन एन्ड प्रोस्पेक्ट्स २०२६ प्रतिवेदन अनुसार सन् २०२५ मा भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ७.४ प्रतिशतले विस्तार हुने अपेक्षा गरिएको छ।
विश्व अर्थतन्त्रबारे आईएमएफको संकेत
आईएमएफ प्रमुख क्रिस्टालिना जर्जिएभाले आगामी साता सार्वजनिक हुने आईएमएफको नयाँ पूर्वानुमानले व्यापार झट्काका बाबजुद पनि विश्व अर्थतन्त्रले लचकता देखाइरहेको र वृद्धिदर 'अपेक्षाकृत बलियो' रहने संकेत गर्ने बताएकी छन्।
अक्टोबरमा गरिएको सुधारपछि जनवरीको पूर्वानुमानबारे जर्जिएभाले भनेकी थिइन्, 'विश्व अर्थतन्त्रको तस्वीर धेरै हदसम्म उस्तै रहनेछ।'