०८ साउन २०८३, शुक्रबार

लगातार तेस्रो जितसँगै बंगलादेश ‘सुपर-६’ चरणमा, निरीह बन्यो नामिबिया

माघ ८, २०८२
काठमाडौं
लगातार तेस्रो जितसँगै बंगलादेश ‘सुपर-६’ चरणमा, निरीह बन्यो नामिबिया

बंगलादेशी टोली आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको ‘सुपर–६’ चरणमा प्रवेश गरेको छ ।

बंगलादेशी टोली बिहीबार सम्पन्न खेलमा नामिबियालाई ८० रनको फराकिलो अन्तरले हराउँदै समूह ‘ए’ बाट प्रतियोगिताको ‘सुपर–६’ चरणमा प्रवेश गरेको हो ।

जारी प्रतियोगितामा बलियो बंगलादेशले लगातार तेस्रो जित हासिल गरेको हो । बंगलादेशले यसअघि अमेरिकालाई २१ र पपुवा न्यू गिनी (पीएनजी)लाई ३० रनले हराएको थियो ।

नामिबियाले भने लगातार दोस्रो हार बेहोरेको हो । यसअघि खेलिएको खेलमा नामिबियाको टोली अमेरिकासँग चार विकेटले पराजित भएको थियो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४४ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नामिबियाको टोलीले भने १७.५ ओभरमै अलआउट हुनुअघि ६४ रनमात्र बनाउन सक्यो ।

पहिले ब्याटिङ गरेको बंगलादेशका लागि सोभाना मोस्तारीले २७ रनको योगदान गरिन् । उनले २३ बलमा दुई छक्का र एक चौका पनि प्रहार गरिन् ।

ओपनर दिलारा अक्तरले पनि १७ बलमा एक छक्का र चार चौकाको मद्दतले २५ रन बनाइन् । सोरना अक्तरले १८ बलमा दुई चौकाको मद्दतले २३ रन जोडिन् ।

कप्तान निगार सुल्तानाले २९ बलमा तीन चौकाको मद्दतले २१ रन बनाइन् । बंगलादेशले अतिरिक्त रूपमा १७ रन पायो । नामिबियाका बलर साइमा तुहादेलेनी र सिल्भिया सिहेपोले दुई–दुई विकेट लिए ।

जवाफी ब्याटिङ गरेको नामिबियाका लागि सुन विटम्यानले १९ रन बनाइन् । उनले २४ बलमा एक छक्का र एक चौका पनि प्रहार गरिन् ।

चौथो नम्बरमा क्रिज समाल्न आएकी मार्सर्ली गोरासेसले १२ रन जोडिन् । नामिबियाका अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बंगलादेशकी बलर सन्जिदा अक्तर मेघलाले चार विकेट लिइन् । उनले चार ओभरमा एक मेडनसहित केवल १४ रन खर्चिइन् । राबिया खान र फाहिमा खातुनले पनि तीन–तीन विकेट हात पारे ।

समूह ‘ए’ तालिकामा तीन खेल खेलेको बंगलादेश ६ अंकसहित पहिलो र दुई खेल खेलेको आयरल्यान्ड चार अंकसहित दोस्रो स्थानमा छन् ।

यसैगरी, तीन खेल खेलेको अमेरिका दुई अंकसहित तालिकाको तेस्रो स्थानमा आसिन छ । पीएनजी र नामिबियाले अंक बटुल्न सकेका छैनन् । यी दुवै टोलीले दुई–दुई खेल खेलेका छन् ।

यसअघि, बिहीबार नै समूह ‘बी’ बाट नेदरल्यान्ड्स ‘सुपर–६’ चरणमा प्रवेश गरेको थियो । बिहीबारको खेलमा नेदरल्यान्ड्सले आयोजक नेपालमाथि दुई रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्