
भारत आन्ध्र प्रदेशको गुन्टर जिल्लामा एक अत्यासलाग्दो घटना घटेको छ ।
त्यहाँ एक महिलाले आफ्ना श्रीमानका लागि बिर्यानी बनाइन् । तर त्यस बिर्यानीको मुख्य सामग्री थियो- पिसेर मिसाइएका निदाउने गोली ।
श्रीमान गहिरो निद्रामा परेपछि ती महिलाले आफ्नो प्रेमीलाई घर बोलाइन् र दुवैले मिलेर निदाइरहेका पुरुषको सास थुनेर हत्या गरिदिए । यो अचम्मको घटना गुन्टर जिल्लाको चिलुवुरु गाउँमा भएको प्रहरीले जनाएको छ ।
प्रारम्भमा प्राकृतिक मृत्युका रूपमा प्रस्तुत गरिएको यो घटनामा फरेन्सिक परीक्षणपछि ती पुरुषको सास थुनेर हत्या गरिएको पुष्टि भएपछि पत्नी र उनका प्रेमी दुवैलाई पक्राउ गरिएको छ ।
प्रहरी अनुसन्धानअनुसार मृतक लोकम शिवनागरराजुलाई उनकी पत्नी लक्ष्मी माधुरी र उनका प्रेमी गोपीले हत्या गरेका हुन् । माधुरी केही समयदेखि गोपीसँग वैवाहिक बाहिरको सम्बन्धमा रहेकी थिइन् ।
घटनाको रात माधुरीले निदाउने गोली पिसेर मिसाइएको बिर्यानी बनाएर श्रीमानलाई खुवाइन् । भोजन गरेपछि शिवनागरराजु गहिरो निद्रामा परेपछि उनले गोपीलाई घर बोलाइन् । त्यसपछि दुवैले मिलेर शिवनागरराजुको मुखमा सिरानी कोचेर हत्या गरेका थिए।
हत्या गरेपछि माधुरीले घटना लुकाउन गाउँलेहरूमाझ आफ्ना श्रीमानलाई हृदयघात भएको भन्दै प्रचार गरेकी थिइन् । बिहानको समयमा उनले हल्ला मच्चाउँदै छिमेकीहरूलाई श्रीमानको अचानक मृत्यु भएको जानकारी गराएकी थिइन् ।
तर शव जाँच गर्दा शिवनागरराजुको शरीरमा चोटपटक र रगतका दाग देखिएपछि उनका बुबा र साथीहरूले शंका व्यक्त गर्दै प्रहरीमा उजुरी दिएका थिए । त्यसपछि शुरू गरिएको अनुसन्धानमा पोस्टमार्टम रिपोर्टले सास थुनिनु र छातीमा लागेको चोटका कारण मृत्यु भएको पुष्टि गर्यो, जसले प्राकृतिक मृत्युको सम्भावना खारेज गर्यो ।
त्यसपछि माधुरी र गोपीलाई नियन्त्रणमा लिइयो ।
प्रारम्भिक रिपोर्टमा माधुरीले श्रीमानको लासको छेउमै बसेर रातभर पोर्न भिडियो हेरेको दाबी गरिएको छ । हत्या पछि लक्ष्मी माधुरी रातभर घरमा एक्लै बसेकी थिइन् र उनले अश्लील भिडियो हेरेको आरोप लगाइएको छ ।
बिहान करिब ४ बजे उनले छिमेकीहरूलाई फोन गरी आफ्ना श्रीमान् हृदयघातका कारण मृत्यु भएको दाबी गर्दै होहल्ला मच्चाएकी थिइन् ।
तर, गुन्टरका प्रहरी उपरीक्षक वाकुल जिन्दालले भने मृतक शिवनागरराजु नै आफ्नी पत्नीको मोबाइलमा यस्ता सामग्री हेर्ने गर्थे र यही विषयलाई लिएर दम्पतीबीच बारम्बार झगडा हुने गरेको थियो ।
यद्यपि यसको स्वतन्त्र पुष्टि हुन बाँकी नै छ ।
अनुसन्धानका क्रममा माधुरीले गोपीसँग मिलेर हत्या योजना बनाएको र कार्यान्वयन गरेको स्वीकार गरेकी छन् । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।