२२ जेठ २०८३, शुक्रबार
प्रतिनिधिसभा निर्वाचन

प्रहरीको सुरक्षा विश्लेषण: काठमाडौंकै ४१९ मतदान केन्द्र संवेदनशील

माघ १२, २०८२
काठमाडौं
प्रहरीको सुरक्षा विश्लेषण: काठमाडौंकै ४१९ मतदान केन्द्र संवेदनशील

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रहरूको स्थिति विश्लेषण गरेर प्रहरीले सुरक्षा रणनीति तयार पारेको छ ।

काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा मात्रै ८ सय १७ मतदान केन्द्र रहनेछन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला निर्वाचन अधिकृतको कार्यालय र सम्बन्धित निर्वाचन क्षेत्रसँग समन्वय गरेर सुरक्षा योजना बनाएको हो ।

निर्वाचन क्षेत्र नम्बर– १ मा नेकपा एमालेबाट मोहनराज रेग्मी, नेपाली कांग्रेसबाट प्रबल थापा क्षेत्री, नेपाली कम्युनिस्ट पार्टीबाट मेनुका भण्डारी र रास्वपाबाट रञ्जु न्यौपाने प्रतिस्पर्धामा छन् ।

यो क्षेत्रमा ५७ वटा मतदान केन्द्र रहनेछन् । प्रहरीको विश्लेषणअनुसार सुरक्षाको दृष्टिकोणले १२ वटा मतदान केन्द्र संवेदनशील र ४५ वटा सामान्य मानिएका छन् । यो क्षेत्रमा ४८ हजार ४ सय ८९ मतदाता रहेका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बढी संवेदनशीलको सूचीमा छ । यो निर्वाचन क्षेत्रमा ७२ वटा मतदान केन्द्र र ६४ हजार चार सय ७९ मतदाता छन् ।

मतदान केन्द्रमध्ये सुरक्षा चुनौतीको दृष्टिकोणले ७० वटा संवेदनशील र दुईवटा मात्रै सामान्यको सूचीमा छन् । कागेश्वरी मनोहरा नगरपालिका तथा गोकर्णेश्वर नगरपालिका र काठमाडौं महानगरपालिकाका केही वडा यो निर्वाचन क्षेत्रभित्र पर्छन् ।

यो क्षेत्रमा एमालेले मणिराम फुयाँल, कांग्रेसले कवीर शर्मा, नेकपाले नितेश पौडेल, रास्वपाले सुनिल केसीलाई उम्मेदवार बनाएका छन् ।

मतदाता संख्याको हिसाबले धेरै मतदाता रहेको निर्वाचन क्षेत्र नम्बर– ३ हो । एमालेबाट रामेश्वर फुँयाल, कांग्रेसबाट रमेश अर्याल, नेकपाबाट निरज लामा, उज्यालो नेपालबाट कुलमान घिसिङ, रास्वपाबाट राजुनाथ पाण्डेको प्रतिस्पर्धा रहने यो निर्वाचन क्षेत्रमा ८८ हजार ७०८ मतदाता छन् । १०० वटा मतदान केन्द्र तोकिएका छन् ।

शंखरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिकाका केही वडा र काठमाडौं महानगरपाकिकाका केही वडा सम्मिलित क्षेत्रमा सुरक्षा चुनौतीका दृष्टिकोणले ७० वटा मतदान केन्द्र संवेदनशील र ३० वटा सामान्य सूचीमा राखिएका छन् ।

निर्वाचन क्षेत्र नम्बर –४ मा ८८ वटा मतदान केन्द्र रहनेछन् । कूल ७६ हजार एक सय ४१ मतदाता संख्या रहेको यो निर्वाचन क्षेत्रले बूढानीलकण्ठ नगरपालिका र काठमाडौं महानगरपालिकाका केही वडा समेट्ने छन् ।

सुरक्षा चुनौतीका दृष्टिकोणले ४० वटा मतदान केन्द्र संवेदनशील र ४८ वटा सामान्य सूचीमा राखिएको छ । यो क्षेत्रबाट प्रमुख दलहरू क्रमश: एमालेले राजन भट्टराई, कांग्रेसले सचिन तिमिल्सिना, नेकपाले ईन्द्रकुमार भुसाल र रास्वपाले पुकार बमलाई उम्मेदवार बनाएका छन् ।

काठमाडौं महानगरपालिकाका केही वडा, टोखा नगरपालिकाका केही वडा र बूढानीलकण्ठ नगरपालिकाका केही वडा समेटेर बनाइएको निर्वाचन क्षेत्र नम्बर ५ मा ९० वटा मतदान केन्द्र राखिने छन् ।

कूल ७८ हजार एक सय १४ जना मतदाता रहेको यो क्षेत्रबाट एमालेले ईश्वर पोखरेल, कांग्रेसले प्रदीप पौडेल, नेकपाले कल्पना शर्मा र रास्वपाले सस्मित पोखरेललाई उम्मेदवार बनाएका छन् ।

यो क्षेत्रमा सुरक्षा दृष्टिकोणले ३४ वटा मतदान केन्द्रलाई संवेदनशील र बाँकी ४४ मतदान केन्द्र सामान्य सूचीमा राखिएको छ ।

काठमाडौं महानगरपालिका सँगै बूढानीलकण्ठ, टोखा र तारकेश्वर नगरपालिकाका केही वडा समेटिएको निर्वाचन क्षेत्र नम्बर –६ मा ७९ वटा मतदान केन्द्र छन् ।

यी मतदान केन्द्रमा ६७ हजार ७ सय ५९ जना मतदाता छन् । सुरक्षा दृष्टिकोणले ३१ वटा सामान्य र बाँकी ४८ वटा मतदान केन्द्र संवेदनशील सूचीमा राखिएको छ ।

यो क्षेत्रमा एमालेबाट अमनकुमार मास्के, कांग्रेसबाट कृष्ण बानियाँ क्षेत्री, नेकपाबाट हेमलाल (हिमाल) शर्मा र रास्वपाबाट शिशिर खनाल प्रतिस्पर्धामा छन् ।

७८ वटा मतदान केन्द्र रहेको निर्वाचन क्षेत्र नम्बर– ७ मा  काठमाडौं महानगरपालिकाको बालाजु, लैनचौर, न्युरोड, गोलढुंगा र स्वयम्भूका केही स्थानसँगै नागार्जुन नगरपालिका र तारकेश्वर नगरपालिकाका केही वडा समेटिएका छन् । यहाँ ६७ हजार चार सय ११ मतदाता रहेका छन् ।

एमालेबाट प्रकाश श्रेष्ठ, कांग्रेसबाट प्रमोदहरि हुमागाईं, नेकपाबाट वसन्तप्रसाद मानन्धर र रास्वपाबाट गणेश पराजुलीसहित प्रतिस्पर्धा हुने यो निर्वाचन क्षेत्रलाई सुरक्षा संवेदनशीलताको हिसाबले ३५ वटा मतदान केन्द्र संवेदनशील र बाँकी ३२ वटा सामान्य सूचीमा राखिएको छ ।

सबैभन्दा कम मतदाता रहेको निर्वाचन क्षेत्र नम्बर– ८ मा ५७ हजार ८ सय ११ जना मतदाता छन् । ६५ वटा मतदान केन्द्र रहेको यो क्षेत्रले काठमाडौं महानगरपालिका र नागार्जुन नगरपालिकाका केही वडा समेट्छ ।

सुरक्षा संवेदनशीलताको हिसाबले २५ वटा संवेदनशील र बाँकी ४० वटा सामान्य सूचीमा राखिएको छ । यो निर्वाचन क्षेत्रमा एमालेबाट राजेश शाक्य, कांग्रेसबाट सपना राजभण्डारी, नेकपाबाट सुमन सायमी र रास्वपाबाट विराजभक्त श्रेष्ठबीच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ ।

९० वटा मतदान केन्द्र रहेको निर्वाचन क्षेत्र नम्बर– ९ मा काठमाडौं महानगरपालिकाका केही वडा, चन्द्रागिरि नगरपालिकाका केही वडा र नागार्जुन नगरपालिकाका केही वडा समावेश छन् ।

कूल ७८ हजार चार सय ९५ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा ४८ वटा मतदान केन्द्रलाई संवेदनशील सूचीमा राखिएको छ । यो क्षेत्रबाट एमालेले अजय क्रान्ति शाक्य, कांग्रेसले नानुमैया बास्तोला, नेकपाले राधाकृष्ण महर्जन र रास्वपाले डोलप्रसाद अर्याललाई उम्मेदवार बनाएका छन् । यहाँ ३० वटा मतदान केन्द्र सामान्य सूचीमा छन् ।

९८ वटा मतदान केन्द्र र ८३ हजार तीन सय एक जना मतदाता रहेको निर्वाचन क्षेत्र नम्बर– १० काठमाडौंको ठूलो निर्वाचन क्षेत्र हो । यो निर्वाचन क्षेत्रमा दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकाका केही वडा समेटिएका छन् ।

सुरक्षा संवेदनशीलताको हिसाबले यो क्षेत्रमा ५१ वटा संवेदनशील र बाँकी ४७ वटा सामान्य सूचीका मतदान केन्द्र छन् । यो क्षेत्रमा एमालेले विनोद श्रेष्ठ, कांग्रेसले हिमाल कार्की, नेकपाले रूपा महर्जन (श्रेष्ठ) र रास्वपाले प्रदीप विष्टलाई उम्मेदवार बनाएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले केन्द्रीय सुरक्षा समितिको निर्णयानुसार काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आपसी समन्वयमा सुरक्षाकर्मी परिचालित गरिने बताए ।

उनले भने, ‘अहिले प्रत्येक निर्वाचन क्षेत्रमा पुगेर मुख्य निर्वाचन अधिकृत, त्यहाँका स्थानीय र उम्मेदवारसँग भेटेर वस्तुस्थिति बुझ्ने काम भइरहेको छ, हामी स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनका लागि सुरक्षा दिन तयार छौं ।’

हेर्नुहोस्, मतदान केन्द्रहरूको सूची:



 

salt training

कमेन्ट गर्नुहोस्