
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोशी प्रदेशमा रहेका विभिन्न शाखा कार्यालयमा आबद्ध अभिकर्ता समूहलाई एक दिने तालिम दिएको छ ।
प्रेरणा, प्रगति र पेशागत उत्कृष्टताको साथ प्रस्तुत गरेको मासिक योजना ‘मन्थन २०८२’ अन्तर्गत तोकिएको बीमाशुल्क संकलन गरी छनोट भएका १२० जना अभिकर्तालाई इलाममा तालिम दिइएको हो ।
अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अल्फाज अहमदले बीमा क्षेत्रकै चर्चित उपाधि एमडीआरटीको लक्ष्य पूरा गर्ने उपायका बारेमा विभिन्न उदाहरण प्रस्तुत गर्दै तालिम प्रदान गरेका थिए ।
कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले अभिकर्तालाई आफ्नो पेशामा उत्कृष्टता हासिल गर्नका लागि कम्पनीले विभिन्न योजनामार्फत् प्रशिक्षण प्रदान गर्दै आइरहेको परिप्रेक्षमा मासिक योजना मन्थन २०८२ जारी गरिएको बताए ।
कोशी प्रदेशमा रहेका विभिन्न शाखामा रही उत्कृष्ट कार्य गरी शाखा स्तरीय प्रथम, द्वितीय र तृतीय भएका अभिकर्तालाई पोलिसी सर्भिसिङ विभाग प्रमुख सुस्मिता राणाले मायाको चिनो प्रदान गरिन् ।
सहभागी अभिकर्ताले आफ्नै क्षेत्रमा चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षकबाट तालिम लिने अवसर जुराइदिएकोमा कम्पनीप्रति आभार व्यक्त गरेका थिए भने सम्मानित हुने अभिकर्ताले सम्मान प्राप्त गर्दा आफूले गरेको मेहेनतको कदर भएको बताएका थिए ।