२७ असार २०८३, शनिबार

चौथो टी-२० मा न्युजिल्यान्डसँग भारत ५० रनले पराजित,  शिवम दुबेले भने बनाए कीर्तिमान

माघ १५, २०८२
काठमाडौं
चौथो टी-२० मा न्युजिल्यान्डसँग भारत ५० रनले पराजित,  शिवम दुबेले भने बनाए कीर्तिमान

न्युजिल्यान्डले बुधबार सम्पन्न चौथो टी-२० अन्तर्राष्ट्रिय खेलमा भारतलाई ५० रनले हराउँदै शृङ्खलामा पहिलो जित दर्ता गरेको छ। यद्यपि, पाँच खेलको यस शृङ्खलामा भारतीय टोली ३-१ को निर्णायक अग्रताका साथ सुरक्षित छ।

खेलमा टस जितेर भारतले पहिले बलिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङ गरेको न्युजिल्यान्डको माथिल्लो क्रमले उत्कृष्ट सुरुवात गर्‍यो। ओपनर डेभन कन्वे (२३ बलमा ४४ रन) र टिम सेफर्ट (३६ बलमा ६२ रन) ले पावरप्लेमा विष्फोटक प्रदर्शन गर्दै ९ ओभरभित्रै टोलीको स्कोर १०० रन पुर्‍याएका थिए।
मध्यक्रममा भारतीय बलरहरूले केही पुनरागमन गरे पनि न्युजिल्यान्डले ७ विकेटको क्षतिमा २१५ रनको विशाल योगफल तयार पार्‍यो। भारतका लागि कुलदीप यादवले ३९ रन दिएर २ विकेट र अर्शदीप सिंहले ३३ रन दिएर २ विकेट लिए।

२१६ रनको विशाल लक्ष्य पछ्याएको भारतको सुरुवात निकै खराब रह्यो। अभिषेक शर्मा, कप्तान सूर्यकुमार यादव र हार्दिक पाण्ड्या सस्तैमा आउट भएपछि भारत दबाबमा आएको थियो। संजु सामसनले १५ बलमा २४ रन र रिंकु सिंहले ३० बलमा ३९ रन बनाएर इनिङ्स सम्हाल्ने प्रयास गरे।

यसैबीच, शिवम दुबेले विष्फोटक ब्याटिङ गर्दै भारतको आश जगाएका थिए। उनले मात्र २३ बलमा ६५ रनको सानदार पारी खेले, जसमा ७ वटा छक्का समावेश थिए। यस क्रममा दुबेले पुरुष टी-२० अन्तर्राष्ट्रियमा भारतका लागि तेस्रो सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान समेत आफ्नो नाममा गरे।
तर, न्युजिल्यान्डका बलरहरूले महत्त्वपूर्ण समयमा विकेट लिइरहेपछि भारतीय टोली १८.४ ओभरमा १६५ रनमा अलआउट भयो। न्युजिल्यान्डका टिम सेफर्ट 'प्लेयर अफ द म्याच' घोषित भए।

salt training

कमेन्ट गर्नुहोस्