१९ असार २०८३, शुक्रबार
दाङ २ को चुनावी सरगर्मी

३१ वर्षपछि संघीय संसद्को प्रत्यक्ष चुनाव जित्न संघर्ष गर्दै एमाले महासचिव

माघ १५, २०८२
बुटवल
३१ वर्षपछि संघीय संसद्को प्रत्यक्ष चुनाव जित्न संघर्ष गर्दै एमाले महासचिव

यसपटक दाङ क्षेत्र नम्बर २ को चुनाव निकै रोचक हुने देखिएको छ । तीन दशकदेखि दाङबाट निरन्तर चुनाव लड्दै आएका नेकपा एमालेका महासचिव शंकर पोखरेल यसपटक पनि सोही क्षेत्रबाट उम्मेदवार बनेका छन् ।

एमालेभित्र वैचारिक नेताको छवि बनाए पनि महासचिव पोखरेलको संसदीय यात्रा त्यति सुखद् छैन । राजनीतिक जीवनमा पोखरेलका लागि महत्त्वपूर्ण ठानिएको आम निर्वाचन– २०८२ मा जीत निकाल्न एमाले दाङको सिंगो पंक्ति यही क्षेत्रमा केन्द्रित भएको छ ।

महासचिव पोखरेलसँग प्रतिस्पर्धा गर्न कांग्रेसले जिल्लामा लोकप्रिय मानिएका किरणकिशोर घिमिरेलाई उतारेको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री विपिनकुमार आचार्य र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले निर्मल आचार्यलाई उतारेसँगै दाङको चुनावी माहोल तातेको छ ।

शंकर पोखरेलदाङका दुई उपमहानगरपालिका घोराही र तुलसीपुरसहित केही अन्य गाउँपालिका पनि समेटेको यो क्षेत्र कांग्रेसका कुनै बेलाका प्रभावशाली नेता स्व. खुमबहादुर खड्काको प्रभाव क्षेत्र हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको साथले पार्टी राजनीतिमा उचाइमा पुगे पनि पोखरेलले २०५१ को मध्यावधि निर्वाचनबाहेक संघतर्फको कुनै चुनाव जितेका छैनन् । तीन वर्षअघिको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्मासँग पराजित भएका पोखरेल अहिले जित निकाल्ने दाउमा छन् । तर, पोखरेलसँग रास्वपाका ‘हेभीवेट’ सहमहामन्त्री विपिनकुमार र कांग्रेसमा लोकप्रिय तथा सादगी नेता घिमिरेको प्रतिस्पर्धा रोचक हुने देखिन्छ ।

पार्टी राजनीतिमा प्रभाव जमाउँदै आएका पोखरेलका लागि आगामी निर्वाचन संघीय संसद प्रवेशको ढोका मात्र होइन, जिल्लामा एउटै ‘हेभिवेट’ नेता बन्ने अवसर समेत हो । महासचिव पोखरेल जिल्लाबाट २०५१, २०५६, २०७०, २०७४ (प्रदेशसभा सदस्य) र २०७९ सालमा निर्वाचन लडेको छन् । २०५१ सालमा दाङ क्षेत्र नम्बर ३ र २०७४ सालको प्रदेशसभा निर्वाचनमा दाङ क्षेत्र नं. २ (क) बाट प्रदेशसभा सदस्यमा जित्नुबाहेक अन्य चुनावमा पराजय भोगेका छन् । वि.सं. २०५६ मा क्षेत्र नम्बर ३ मा कांग्रेस नेता कृष्णकिशोर घिमिरे, २०७० मा क्षेत्र ३ मा कांग्रेस नेता बुद्धिराम भण्डारी र २०७९ मा क्षेत्र नम्बर २ मा कांग्रेस–माओवादी लगायतको गठबन्धनकी साझा उम्मेदवार शर्मासँग पोखरेल पराजित भएका थिए ।

पोखरेल पराजित मात्र भएनन्, दाङका प्रतिनिधिसभाका तीन र प्रदेशसभाका ६ वटा निर्वाचन क्षेत्रमध्ये एमालेले कुनैमा पनि जीत निकाल्न सकेन । त्यो बेला एमाले–माओवादी गठबन्धन सरकार बनेपछि उपराष्ट्रपतिमा रेखा शर्मालाई उठाएर दाङ– २ खाली गरी उपनिर्वाचन लड्न पोखरेलले इच्छा व्यक्त गरेका थिए । तर, नेतृ शर्मा उपराष्ट्रपति बन्न तयार नभएपछि पोखरेलको सपनामा ‘ब्रेक’ लागेको थियो ।

वि.सं. २०६४ को पहिलो संविधानसभा निर्वाचनमा भने नेता पोखरेल एमालेको समानुपातिक सूचीमा रहेका थिए ।

यता पोखरेलसँग प्रतिस्पर्धा गर्न लागेका कांग्रेसका महासमिति सदस्य घिमिरे ट्रेड युनियन आन्दोलनबाट उदाएका युवा नेता हुन् । अन्तर्राष्ट्रिय स्तरको बौद्धिक अनुभव बटुलेका घिमिरे राजनीतिमा एउटा निष्ठावान् र शालीन नेताको रूपमा परिचित छन् । उनी राजनीतिज्ञ मात्र हैनन्,  एक कुशल प्रशासक र सफल उद्यमी पनि हुन् । उनले अर्थशास्त्रमा स्नातकोत्तर र नेदरल्यान्ड्सको मास्ट्रिच स्कूल अफ म्यानेजमेन्टबाट पोस्ट ग्र्याजुएट डिप्लोमा गरेका छन् । जनकपुर रेलवेको सीईओ र नेपाल यातायात संस्थानको प्रबन्धकलगायत झन्डै १८ वर्ष लामो सरकारी सेवाको अनुभवले उनको प्रशासनिक क्षमतालाई प्रमाणित गरिसकेको छ ।

किरणकिशोर घिमिरे

बहुभाषिक दक्खल, अन्तर्राष्ट्रिय भ्रमणको अनुभव र ग्रास रुटको राजनीतिक बुझाइ भएका घिमिरे नेपाली कांग्रेसका महासमिति सदस्य हुन् ।

नेकपाका उम्मेदवार आचार्य नेकपाका केन्द्रीय सदस्य तथा दाङ इन्चार्ज हुन् । आचार्य २०७० सालको निर्वाचनमा कांग्रेस नेता राजु खनालसँग पराजित भएका थिए ।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उमेदवार बनेका विपिनकुमार आचार्य नयाँ उमेदवार हुन् । दाङमै जन्मे/हुर्केका विपिन लामो समयदेखि काठमाडौंमा बस्दै आएका थिए । पार्टी सभापति रवि लामिछानेसँग काम गरेका उनी को बन्छ करोडपति लगायत चर्चित टेलिभिजन कार्यक्रम उत्पादक पनि हुन् । रास्वपाले अघिल्लो निर्वाचनमा विशाल अधिकारीलाई उमेदवार बनाएको थियो, उनले १५ हजार मात्र मत ल्याएका थिए ।

कांग्रेसले यो क्षेत्रमा आफ्नो मत सुरक्षित गर्ने देखिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको ‘रक्षाकवच’ बन्दा पोखरेलले कार्यकर्तालाई ‘होल्ड’ गर्न सकेको छैनन् । पोखरेलले कार्यक्रमभन्दा आन्तरिक भेटघाटलाई तीव्रता दिएका छन् ।

रास्वपाले यसपटक ठूलो मतान्तरसहित दाङ– २ मा जीत निकाल्ने दाबी गरेको छ । रास्वपा विकास योजना विभागका केन्द्रीय सचिव तथा दाङको चुनावी कमान्ड सम्हालेका विपिन अधिकारीले एमाले आफूहरूको प्रतिस्पर्धी नदेखिएको दाबी गरे ।

‘यो क्षेत्रमा हाम्रो हाइप्रोफाइल नेता उम्मेदवार हुनुहुन्छ,’ उनले भने, ‘अहिलेको अवस्थासम्म आउँदा हामी धेरै सहजतासहित टपमा छौं । २५ हजारभन्दा बढी मत ल्याएर जीत निकाल्ने हामीले विश्लेषण छ ।’

विपिनकुमार आचार्य

यता, महासचिव पोखरेल लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा संघीय सरकारको सूचना तथा सञ्चार मन्त्री समेत भएका थिए । कार्यकर्तासँग कम घुलमिल हुने पोखरेललाई जिल्लाका नेता/कार्यकर्ताले आगामी दिनमा पार्टीको नेतृत्वको रूपमा प्रस्तुत गरिरहेका छन् ।

आन्दोलनबाट वाम राजनीतिमा स्थापित पोखरेल लुम्बिनीका संस्थापक मुख्यमन्त्री समेत हुन् । प्रदेशको राजधानी दाङ तोक्ने विषयमा उनको महत्त्वपूर्ण भूमिका छ ।   लुम्बिनी प्रदेशको राजधानी बुटवलमा दाङको देउखुरी स्थानान्तरण गरिए पनि जिल्लामा त्यसको प्रभाव देखिएन । आधारभूत पूर्वाधार समेत नभएको क्षेत्रमा राजधानी सारेपछि यसलाई दाङले अपनत्व लिन सकेको छैन ।

क्षेत्र नम्बर २ छाडेर पोखरेलले राजधानी भएको क्षेत्र नम्बर– १ बाट चुनाव लड्ने तयारी पनि नगरेका होइनन् । तर, त्यहाँ पनि सुरक्षित नठानेर अन्तत दाङ– २ बाट नै चुनाव लड्ने निचोडमा पुगेका थिए ।

त्यही भएर पोखरेलले मनोनयन दर्ता गर्ने दिन मात्र दाङ– १ मा रेवतीरमण शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेका थिए ।

विद्यार्थी आन्दोलन हुँदै पार्टीका विभिन्न भूमिकामा रहेर काम गरेका पोखरेल एमालेको २०५४ सालमा सम्पन्न छैटौं महाधिवेशनबाट केन्द्रीय सदस्य बने ।  

२०६५ सालमा सम्पन्न आठौं महाधिवेशनमा उनी एमाले सचिवमा निर्वाचित भए । २०७१ सालमा भएको नवौं महाधिवेशनमा उपमहासचिवमा भिडेका पोखरेल पराजित हुँदा केन्द्रीय सदस्यमै सीमित बने ।

संसदीय निर्वाचनमा लगातार हार बेहोरेका उनलाई पार्टी राजनीतिमा समेत असफलता बेहोर्नुपर्ने दुर्भाग्य आइलाग्यो । उपमहासचिवमा पराजित बने पनि मुख्यमन्त्री बनेर हैसियतलाई उच्च बनाएका पोखरेलले एमाले–माओवादी एकीरणपछि नेकपाको केन्द्रमा रहेर काम गर्ने अवसर पाए ।

चितवनमा सम्पन्न पार्टीको १० औं महाधिवेशनबाट उनी महासचिव बने । गएको मंसिरको ११ औं महाधिवेशनमा पनि पोखरेल महासचिवमा दोहोरिए । नीति र सिद्धान्तका कुरा गर्ने उनलाई मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको प्रखर व्याख्याता मानिन्छ ।

निर्मलकुमार आचार्य

दलहरूका आ–आफ्नै दाबी

कांग्रेस दाङका नेता प्रदीप मजगैयाले जिल्लाका तीनवटै क्षेत्र कांग्रेसले सुरक्षित गर्ने दाबी गरे । ‘दाङ कांग्रेसको पुरानो गढ भएको जिल्ला हो,’ मजगैया भन्छन्, ‘जिल्लामा लोकप्रिय मानिएका किरणकिशोर घिमिरे उम्मेदवार हुनुहुन्छ । कांग्रेसको बलले माओवादीले जीत निकालेको हो । यो पटक कांग्रेसले सबै क्षेत्र सुरक्षित गर्नेछ ।’

यता एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले पार्टीविरुद्ध फैलाइएको भ्रमलाई चिरेर महासचिव पोखरेलले जीत निकाल्ने दाबी गरे ।

‘योपटक समृद्धि र विकासको पक्षमा दाङ– २ का जनताको मत जान्छ । पोखरेल अघिल्लोपटक पराजित हुँदा यो क्षेत्रवासीले विकासमा पछाडि परेको महसुस गरेका छन् । यहाँ जनता हावाहुरी र भ्रमको पछाडि दौडिँदैनन् । जनताले स्थायी शक्तिलाई मतदान गर्नेछन् भन्ने हाम्रो अपेक्षा हो ।’

उपाध्यक्ष बुढाथोकीले महासचिवसँग कांग्रेस र रास्वपासहितको त्रिपक्षीय प्रतिस्पर्धा हुने भने बताए ।

यो क्षेत्रमा बंगलाचुली गाउँपालिकासँगै घोराही उपमहानगरपालिकाका वडा नं. ४, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, १६, १७, १८ र १९ पर्छन् । यसैगरी, तुलसीपुर उपमहानगरपालिकाका १६, १७, १८ र १९ नम्बर वडा पनि यही क्षेत्रमा समेटिएका छन् ।

बंगलाचुली गाउँपालिका र घोराहीका वडा नं. १०, १३, १६ र १९ बाहेक अन्य सम्पूर्ण वडा एमालेले जितेको र २०७९ को निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनकी उम्मेदवार रेखा शर्मासँग १९६ मतले मात्र पराजित भएकाले अहिले निर्वाचन जित्न सहज हुने एमालेको आन्तरिक विश्लेषण छ । शर्मा २६ हजार ८७७ मतसहित विजयी हुँदा पोखरेलले २६ हजार ६८१ मत प्राप्त गरेका थिए ।

मुलुकमा लोकतन्त्र आएपछि भएको पहिलो निर्वाचन २०६४ मा दाङका तत्कालीन ५ वटै क्षेत्रमा माओवादीले जितेको थियो ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा फेरि ५ वटै क्षेत्रमा नेपाली कांग्रेसले जितेको थियो । २०७४ मा तत्कालीन एमाले–माओवादी गठबन्धन र २०७९ मा तत्कालीन माओवादी–कांग्रेस गठबन्धनले यहाँ जीत निकालेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्