
आगामी टी–२० विश्वकप क्रिकेटको तयारीका क्रममा हाल भारतमा रहेको नेपाली टोलीले शनिबार खेलिएको अभ्यास खेलमा मुम्बई क्रिकेट एसोसिएसनको टोलीलाई ४८ रनले हराएको छ ।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपाली टोलीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८३ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको मुम्बईको टोलीले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ३५ रनमात्र बनाउन सक्यो ।
नेपाली टोलीका लागि चौथो नम्बरमा क्रिज समाल्न आएका आरिफ शेखले केवल ४२ बलमा अविजित ६६ रनको योगदान गरे ।
तेस्रो नम्बरका ब्याट्सम्यान सन्दीप जोराले पनि २६ बलमा ३१ रन बनाए । ओपनर ब्याट्सम्यान आसिफ शेखले १७ बलमा २५ रन जोडे ।
यसैगरी, छैटौं नम्बरमा क्रिज समाल्न आएका गुलसन झाले १२ बलमा २३ रन बनाए । ओपनर लोकेश बम ११ बलमा १५ रन बनाउँदै आउट भए ।
बसिर अहमदले पनि १३ बलमा नौ रन बटुले । जवाफी ब्याटिङमा ओर्लिएको मुम्बईको टोलीलाई लक्ष्यसम्म पुग्न नदिन नेपाली टोलीका बलर सन्दीप लामिछानेले तीन तथा गुलसन झा र ललित राजवंशीले दुई–दुई विकेट लिए ।