२४ जेठ २०८३, आइतबार
एकमाथि अर्को अपराध

फेरि अपराधमा जेनजी आन्दोलनमा भागेका कैदीबन्दी– हत्या, लुटपाटदेखि बलात्कारसम्म

माघ १८, २०८२
काठमाडौं
फेरि अपराधमा जेनजी आन्दोलनमा भागेका कैदीबन्दी– हत्या, लुटपाटदेखि बलात्कारसम्म

कारागार व्यवस्थापन विभागका अनुसार जेनजी आन्दोलनको दोस्रो दिन गत भदौ २४ गते देशका २८ वटा कारागारबाट भागेका कैदीबन्दीमध्ये अझै चार हजार तीन सय जना फरार छन् । फरार कैदीबन्दी पक्राउ हुने क्रम जारी छ । फरार कैदीबन्दीले सुरक्षा चुनौती बढिरहेको विभिन्न घटनाक्रमले पनि पुष्टि गर्दै आएका छन् ।

कारागारबाट भागेका कैदीबन्दी र प्रहरीको हिरासत कक्षबाट भागेका (थुनुवा) थप अपराधमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरिरहेको छ ।

भदौ २४ गते कञ्चनपुर कारागारबाट भागेका दीपक सुनार भोलिपल्टै जबर्जस्ती करणी उद्योग कसुरमा पक्राउ परेका थिए । उनी पहिला पनि जबर्जस्ती करणी कसुरमै कारागार चलान भएका थिए । कञ्चनपुरको दोधारा चाँदनीकी एक महिलाको घरमा खाना खाएर सुनारले ती महिलालाई नै बलात्कार गर्न खोजेका थिए । महिला चिच्याएपछि स्थानीयले सुनारलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । प्रहरीले अनुसन्धान गर्दा बलात्कार कसुरमा ९ वर्ष कैद सजाय तोकिएका सुनारले जेलमा दुई वर्षदेखि सजाय भुक्तान गरिरहेका थिए । जेनजी आन्दोलनको मौका छोपेर उनी जेलबाट भागेका थिए ।

जेलबाट भागेर पुन: अपराधमै संलग्न हुने सुनार एक्लो पात्र भने होइनन् । लागुऔषध मुद्दामा पाँच वर्ष कैद तोकिएर २०८० असोज २७ देखि नख्खु कारागारमा जेल जीवन बिताइरहेका दाङको राप्ती गाउँपालिका– १ का आकाश मगर पुस २३ मा कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका थिए । काठमाडौंको ठमेलमा झगडा हुँदा मगरले गत असोज १३ गते सुरज तामाङलाई चक्कु प्रहार गरी हत्या गरेका थिए । सीसीटीभी फुटेजमै मगरले तामाङलाई धारिलो हतियार प्रहार गरेको प्रस्ट देखिएको थियो । प्रहरीले सीसीटीभीको सूक्ष्म अनुसन्धान गरेर पुस २३ मा मगरलाई रोल्पाबाट पक्राउ गरेको थियो ।

कारागारबाट भागेर श्रीमतीको हत्या !

कारागारबाटै भागेका अर्का कैदी काभ्रे पनौती नगरपालिका– १२ का सन्तबहादुर तामाङले त श्रीमतीकै हत्या गरे । बलात्कार मुद्दामा सजाय काटिरहेका तामाङ ललितपुरको नख्खु कारागारबाट भदौ २४ मै भागेका थिए । उनी जेलबाट भागेर घर पनौती पुगे । केही दिन घरमा बसेर उनले असोज २ गते श्रीमती ३० वर्षीया मनीषाको हत्या गरे । उनले श्रीमतीको हत्या लुकाउन घरबाट पाँच सय मिटर टाढा खाल्डो खनेर पुरेका थिए । श्रीमतीको हत्यापछि तामाङ पुन: कारागारमै फर्किए । उनले नख्खुमा हाजिर हुँदा ‘मैले श्रीमती मारेर आएँ’ भन्दै कारागार प्रशासनलाई जानकारी गराएका थिए ।

ज्यान मुद्दाका दोषी अर्को ज्यान लिन खोज्दा समातिए कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएर २५ वर्ष कैद सजाय तोकिएका दाङको तुलसीपुर उपमहानगरपालिका– ५ रानीजरुवाका खिमबहादुर बिक पुन: अर्को एक व्यक्तिको ज्यान लिन खोज्दा समातिए । बिक पनि अरू कैदीबन्दी जस्तै भदौ २४ मै तुलसीपुर कारागारबाट भागेका थिए । बिकले तुलसीपुर– ५ रानीजरुवाकै ५३ वर्षीय एक व्यक्तिमाथि धारिलो हतियार प्रहार गरेर ज्यान लिन खोजेको जाहेरी प्रहरीमा परेको थियो । असोज ११ गतेको राति ८ बजेतिर बिकसहित अन्य दुईजनाले व्यक्ति हत्या प्रयास गरेका थिए ।

भीमफेदी कारागारबाट भागेका कैदीको गैडाकोटमा हत्या

मकवानपुरको भीमफेदी कारागारबाट भदौ २४ मै भागेका कैदी नारायण कुमालको गत कात्तिक ७ मा पूर्वी नवलपरासीस्थित गैंडाकोटमा हत्या भयो ।

कारागारबाटै भागेकाहरूको अर्को समूहले गैंडाकोट नगरपालिकास्थित इट्टाभट्टानजिकै कुमाललाई धारिलो हतियार प्रहार गरेर हत्या गरेका थिए । चितवनको कालिका नगरपालिका–४ पदमपुरका कुमालमाथि अदालतले बलात्कार कसुरमा १० वर्ष कैद र ३५ हजार जरिवाना तोकेको थियो ।

नख्खु कारागारबाट भागेर मोटरसाइकल चोरी

भदौ २४ मै नख्खु कारागारबाट भागेका महाबौद्धका अभय तुलाधर र नरदेवीका रोहित शाहीले मोटरसाइकल चोरीको ‘र्‍याकेट’ नै चलाए ।

उनीहरूले असोजदेखि माघको दोस्रो सातासम्ममा ४९ वटा त मोटरसाइकल नै चोरेर बिक्री गरे ।

चोरी डाँका र ज्यान मार्ने उद्योग कसुरमा चार वर्ष ६ महिनादेखि नख्खुमा जेलजीवन बिताइरहेका तुलाधर र चोरी तथा ज्यान मार्ने उद्योगमै सुन्धारास्थित जगन्नाथदेवल कारागारमा पुर्पक्षका लागि कैद भुक्तान गरिरहेका शाही पुन: चोरी मुद्दामै पक्राउ परेका थिए ।

काठमाडौं र भक्तपुरमा चोरी गर्दै आएका तुलाधर र शाही पक्राउ परेपछि अनुसन्धान गर्दा उनीहरू कारागारबाट भागेको तथ्य खुलेको थियो ।

काठमाडौंको क्षेत्रपाटीमा बोरा चोर्दा शाही समातिए । भक्तपुरमा बाइक चोरी गर्दा तुलाधर पक्राउ परे । दुवै जनाले आपसी सल्लाहमै चोरी गर्ने योजना बनाएका थिए । चोरीको बाइक बिक्री गर्न हिँडिरहेका बेला गत पुस २३ गते बिहान सूर्यविनायकस्थित अमलडोल गुम्बाबाट प्रहरीको फेला परे ।

पक्राउ गरेर हत्कडी लगाउन खोज्दा तुलाधरले प्रहरीका सई सञ्जीव केसीलाई चक्कु प्रहार गरेका थिए ।

प्रहरी हिरासतबाट भागेर सुनका गरगहना लुटपाट

काभ्रेको भुम्लु गाउँपालिका घर भएर काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका– ६ मूलपानी बस्दै आएका विनय तामाङ चोरी डाँका मुद्दामा भदौ २४ मा प्रहरी हिरासतमै थिए । बूढानीलकण्ठस्थित एक घरमा चोरी गरेका तामाङलाई प्रहरी वृत्त महाराजगञ्जले हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो । आन्दोलनकारीले प्रहरी वृत्त लगाइदिएपछि तामाङ त्यहाँबाट भाग्न सफल भए ।

तामाङको अपराध यात्रा त्यतिमै टुंगिएन । उनले ‘ग्याङ’ बनाएर पुन: चोरी तथा डाँका घटनालाई निरन्तरता दिए । १० जनाको ग्याङ बनाएर उनले काठमाडौंको बौद्ध, बालाजु र भक्तपुरको ठिमीमा परिचालन गरे ।

उनको टीममा ट्याक्सी चालकदेखि भाडाको कार चलाउनेसम्म संलग्न थिए । तामाङको समूहले दिनभरि ट्याक्सी चलाउने र राति (विशेषगरी बिहान तीन बजेदेखि पाँच बजेसम्म) पैदलयात्रीहरूलाई ज्यान लिने धम्की दिएर सुनका गरगहना तथा पैसा लुटपाट गर्ने काम गर्दै आएका थिए । तामाङसँगै पक्राउ परेका अन्य ९ जनाको विगत पनि आपराधिक नै देखिन्छ । प्रहरी अनुसन्धानका क्रममा यो समूहले डकैती गरेको रकम आपसमा बाँड्ने र रमझममै खर्च गर्दै आएका थिए ।

null

प्रहरी भन्छ : ‘कारागार र प्रहरी हिरासतबाट भागेकामाथि सूक्ष्म निगरानी छ’

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेका अनुसार जेनजी आन्दोलनको मौका छोपेर कारागारबाट भागेका कैदीबन्दी र प्रहरी हिरासतबाट भागेका थुनुवामाथि प्रहरीले सूक्ष्म निगरानी गरिरहेको छ ।

उनका अनुसार प्रहरीबाट लुटिएका केही थान हतियार मात्रै बरामद गर्न बाँकी छ । उनका अनुसार कारागारबाट भागेका अझै चार हजार बढी कैदीबन्दी फरार रहेकाले सुरक्षा चुनौती छ ।

‘घटनाको विश्लेषण गर्दा कारागारबाट भागेका कैदीबन्दीहरू अहिले पनि कुनै न कुनै अपराधमा संलग्न भइरहेको हुनसक्ने हाम्रो आकलन हो,’ काफ्लेले लोकान्तरसँग भने, ‘फरार कैदीबन्दी अपराधमा संलग्न भएको पुष्टि केही घटनाक्रमले गरिसकेका छन्, जसलाई हामीले नियन्त्रणमा लिएर कानूनी दायरामा ल्याइरहेका छौं ।’

प्रहरी मुख्यालयका अनुसार जेनजी आन्दोलनमा कारागारसँगै हिरासतबाट भागेर कैदीबन्दी र थुनुवाले विभिन्न जिल्लामा १५ वटा घटना गराएको देखिन्छ । विभिन्न कारागारबाट भागेर उनीहरूले काठमाडौं, भक्तपुर, काभ्रे, झापा, सुनसरी, उदयपुर, कास्की, कैलाली, महोत्तरीमा घटना घटाएका हुन् ।

फरार भएका कैदीबन्दी र थुनुवाले कर्तव्य ज्यान, लागूऔषध ओसारपसार, चोरी, डकैती, जबर्जस्ती करणी उद्योगसम्मका घटना गराएको जानकारी डीआईजी काफ्लेले दिए ।

 

salt training

कमेन्ट गर्नुहोस्