०५ असार २०८३, शुक्रबार
विश्वकप–२०२६ विशेष

सोमपाल कामी : पारससँगै अन्तर्राष्ट्रिय डेब्यु, तेस्रो विश्वकप खेल्ने एक्लो नेपाली क्रिकेटर

माघ १९, २०८२
काठमाडौं
सोमपाल कामी : पारससँगै अन्तर्राष्ट्रिय डेब्यु, तेस्रो विश्वकप खेल्ने एक्लो नेपाली क्रिकेटर

सोमपाल कामी वर्तमान राष्ट्रिय टोलीमा रहेका सबैभन्दा अनुभवी खेलाडी हुन् । ३०औं वर्ष प्रवेशको संघारमा रहेका सोमपाल नेपाली क्रिकेटका ऐतिहासिक पात्र पनि हुन् । आगामी टी–२० विश्वकपको पहिलो खेल खेलेसँगै सोमपाल देशका लागि तीनवटा विश्वकप खेल्ने एक मात्र खेलाडी बन्नेछन् ।

सोमपालले देशका लागि एक सय ५० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । उनी दायाँहाते मध्यमतेज गतिका बलर हुन् । टोलीलाई आवश्यक पर्दा उनी आक्रामक रूपमा रन बनाउन पनि खप्पिस छन् । त्यसैले उनले हालसम्म एक हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाइसकेका छन् ।

सोमपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा एक सय ६६ विकेट लिइसकेका छन् । उनले देशका लागि ६६ एकदिवसीय अन्तर्राष्ट्रिय र ८६ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । एकदिवसीय अन्तर्राष्ट्रियको ६५ पालीमा उनले ३०.२४ को औसतले कुल ८५ विकेट लिएका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रियको बलिङमा उनको उत्कृष्ट प्रदर्शन ३३ रन खर्चिएर पाँच विकेट हो । यो ढाँचाको क्रिकेटमा उनले एकपटक पाँच र एकपटक चार विकेट लिएका छन् ।

सोमपालले टी–२० अन्तर्राष्ट्रियमा पनि २३.७४ को औसतले कुल ८१ विकेट लिएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन २० रन खर्चिएर तीन विकेट हो ।

यसैगरी, एकदिवसीय अन्तर्राष्ट्रियमा उनले २०.९७ को औसतले कुल सात सय ७६ रन बनाएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको स्ट्राइक रेट ७७.८३ रहेको छ । यो ढाँचाको क्रिकेटमा उनको उच्च स्कोर अविजित ६३ रन हो ।

एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले तीनवटा अर्धशतक बनाएका छन् । उनले ५६ चौका र १९ वटा छक्का पनि प्रहार गरेका छन् । यी प्रभावशाली खेलाडीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १६ वटा क्याच पनि लिएका छन् ।

यसैगरी, सोमपालले टी–२० अन्तर्राष्ट्रियमा १०.७३ को औसतले कुल तीन सय ६५ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको स्ट्राइकर रेट १११.६२ रहेको छ । उनको उच्च स्कोर भने ४० रन हो । उनले २५ चौका र १५ वटा छक्का हिर्काएका छन् । उनले २६ वटा क्याच पनि लिएका छन् ।

null

अर्को ऐतिहासिक क्षणको प्रतीक्षा : नेपालले सन् २०१४ मा पहिलोपटक आईसीसी टी–२० विश्वकप खेलेको थियो । त्यो विश्वकप पनि सोमपाल कामीले खेलेका थिए । त्यतिबेला विश्वकप खेल्ने कुनै पनि खेलाडी अहिले राष्ट्रिय टोलीका सदस्य छैनन् ।

त्यसपछि सोमपालले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजित टी–२० विश्वकपको नवौं संस्करण पनि खेलेका थिए । त्यतिबेला पनि उनी नेपालका लागि दुईवटा विश्वकप खेल्ने एक मात्र खेलाडी बनेका थिए ।

यतिबेला उनी अर्को ऐतिहासिक क्षणको प्रतीक्षामा छन् । सन् २०२६ को टी–२० विश्वकपमा पहिलो खेल खेलेसँगै सोमपाल नेपालका लागि तीनवटा विश्वकप खेल्ने ऐतिहासिक पात्र बन्नेछन् । उनका लागि मात्र होइन, समग्र नेपाली खेलकुदका लागि यो महत्त्वपूर्ण क्षण हुनेछ ।

एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू : सोमपालले सन् २०१८ को अगस्ट १ तारिखमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । आफ्नो पहिलो खेलमै उनले ८.४ ओभरमा एक मेडन राख्दै ३४ रन खर्चिएर तीन विकेट लिएका थिए । उनले पछिल्लो एकदिवसीय भने सन् २०२५ को अक्टोबर ३० तारिखमा संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध खेलेका थिए ।

टी–२० अन्तर्राष्ट्रियमा डेब्यू : सोमपाल कामीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि आईसीसी टी–२० विश्वकपमार्फत नै ‘डेब्यू’ गरेका थिए । उनले सन् २०१४ मार्च १६ तारिखमा बंगलादेशको चटगाउँमा हङ्कङविरुद्ध पहिलो टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए ।

आफ्नो पहिलो खेलमै सोमपालले तीन ओभर बलिङ गर्दै १३ रन खर्चिएर दुई विकेट लिएका थिए । आफ्नो पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा उनले ब्याटिङको मौका भने पाएका थिएनन् । त्यो खेलमा नेपाल ८० रनले विजयी भएको थियो ।

यसैगरी, सोमपालले आफ्नो पछिल्लो टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता सन् २०२५ को अक्टोबर १५ तारिखमा ओमानविरुद्ध खेलेका थिए । टी–२० विश्वकपको एसियाली क्षेत्रको छनोटअन्तर्गत खेलिएको उक्त खेलमा उनले दुई विकेट लिएका थिए । खेलमा नेपाल ३८ रनले विजयी भएको थियो ।

प्रथम श्रेणी, लिस्ट ‘ए’ र टी–२० : सोमपाल कामीले हालसम्म तीनवटा प्रथम श्रेणीको क्रिकेट खेलेका छन् । प्रथम श्रेणीको क्रिकेटमा उनले ६ विकेट लिएका छन् । उनले प्रथम श्रेणीको क्रिकेटमा कुल ७७ रन बनाएका छन् । एकै पालीमा उनले बनाएको उच्च स्कोर भने ५१ रन हो । 

यसैगरी, सोमपालले हालसम्म एक सय १० वटा लिस्ट ‘ए’ प्रतियोगिता खेलेका छन् । लिस्ट ‘ए’ प्रतियोगितामा उनले कुल एक हजार दुई सय ७१ रन बनाएका छन् । उनले चारवटा अर्धशतक पनि बनाएका छन् । उनको उच्च स्कोर भने ७५ रन हो ।

लिस्ट ‘ए’ क्रिकेटमा उनले एक सय ४३ विकेट पनि लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन २७ रन खर्चिएर पाँच विकेट हो ।

उनले ९९ वटा टी–२० क्रिकेट पनि खेलेका छन् । टी–२० क्रिकेटमा उनले कुल तीन सय ८२ रन बनाएका छन् । उनको उच्च स्कोर ४० रन हो । टी–२० क्रिकेटमा उनले ९४ विकेट पनि लिएका छन् ।

डेब्यूको रमाइलो प्रसंग : नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेल्दा सोमपाल टोलीका प्रभावशाली खेलाडी थिए । त्यो विश्वकपको हङ्कङविरुद्धको खेलमा उनले दुई विकेट लिएका थिए । त्यो खेलमा नेपाल ८० रनले विजयी भएको थियो ।

विश्वकपको सोही खेलमार्फत सोमपालले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । रमाइलो प्रसंग के हो भने, त्यो खेलमा नेपालको प्लेइङ–११ मा रहेका सबै खेलाडीले एकैपटक टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए ।

त्यो खेलमार्फत सोमपालसँगै तात्कालीन कप्तान पारस खड्का (हाल नेपाल क्रिकेट संघका सचिव), विनोद भण्डारी, वसन्त रेग्मी, ज्ञानेन्द्र मल्ल, जितेन्द्र मुखिया, नरेश बुढाऐर, शरद भेषावकर, सागर पुन, शक्ति गौचन र सुवाष खकुरेलले पनि ‘डेब्यू’ गरेका थिए ।

यतिमात्र होइन, सोही खेलमार्फत हङ्कङको प्लेइङ–११ मा रहेका सबै खेलाडीले पनि एकैपटक टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । यसरी ‘डेब्यू’ गर्ने हङ्कङका खेलाडीमा अजिज खान, बाबर हायात, हसिब अमजद, इरफान अहमद, जामी एटकिन्सन, नदिम अहमद, नजिब अमर, निजाकत खान, तनवीर अफजल र वकास बरकत थिए ।

यसका अतिरिक्त, मार्क चापम्यानले पनि सोही खेलमार्फत टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । त्यतिबेला उनी हङ्कङको टोलीबाट खेल्थे । ३१ वर्षीय अलराउन्डर मार्क हाल न्युजिल्यान्डको टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्छन् ।

त्यो विश्वकपको बंगलादेशविरुद्धको खेलमा सोमपालले विकेट लिन सकेनन् भने अफगानिस्तानविरुद्धको खेलमा उनले दुई विकेट लिएका थिए । त्यो खेलमा नेपाल नौ रनले विजयी भएको थियो । त्यो विश्वकपमा नेट रन रेटमा बंगलादेशसँग थोरै अन्तरले पछि परेका कारण नेपाली टोली अघिल्लो चरणमा पुग्नबाट वञ्चित भएको थियो ।

null

अघिल्लो विश्वकपमा प्रदर्शन : सोमपालले सन् २०२४ को विश्वकप पनि खेलेका थिए । उक्त विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा सोमपालले एक विकेट लिएका थिए ।

श्रीलंकाविरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो । त्यसपछि दक्षिण अफ्रिकाविरुद्धको खेलमा सोमपालले अविजित आठ रन बनाएका थिए भने विकेट लिन सकेका थिए । बंगलादेशविरुद्धको खेलमा भने उनले दुई विकेट लिएका थिए ।

कीर्तिमान : टी–२० अन्तर्राष्ट्रियमा १०औँ नम्बरमा ब्याटिङ गर्न आएर सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा सोमपाल कामी पाँचौं स्थानमा । सन् २०१४ को नोभेम्बर २४ तारिखमा श्रीलंकाको कोलम्बोमा खेलिएको हङ्कङविरुद्धको खेलमा उनले ४० रन बनाएका थिए ।

यसैगरी, टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एक पालीमा सबैभन्दा बढी मेडन ओभर फाल्ने बलरको सूचीमा पनि सोमपाल संयुक्तरूपमा तेस्रो स्थानमा रहेका छन् । सन् २०२२ को अगस्त २६ तारिखमा नैरोबीमा सम्पन्न केन्याविरुद्धको खेलमा उनले चार ओभरमा दुई मेडन फालेका थिए ।

यसैगरी, टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी ब्याट्सम्यानलाई बोल्ड गर्ने बलरको सूचीमा उनी २६औँ स्थानमा छन् । उनले हालसम्म २८ ब्याट्सम्यानलाई बोल्ड गरेका छन् ।

यसैगरी, टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी ब्याट्सम्यानलाई एलबीडब्लूको धरापमा पार्ने बलरको सूचीमा उनी ४५औँ स्थानमा छन् । उनले नौ ब्याट्सम्यानलाई एलबीडब्लू आउट गरेका छन् ।

पढ्नुहोस्, यो पनि :

रोहितकुमार पौडेल : कम उमेरमा एकदिवसीय ‘डेब्यू’देखि कान्छा कप्तानसम्म

आसिफ शेख : एउटै शृंखलामा सर्वाधिक रनदेखि विकेटकिपरको भूमिकामा कमालको प्रदर्शनसम्म

कहिल्यै नतोडिने कीर्तिमानदेखि ऐतिहासिक स्ट्राइक रेटसम्मको गौरवशाली यात्रा

हजार अन्तर्राष्ट्रिय रनपछि दुई सय अन्तर्राष्ट्रिय विकेटको कोशेढुङ्गा नजिक

ऐतिहासिक प्रदर्शनको लक्ष्यसहित पहिलोपटक विश्वकप अभियानमा होमिएका अनुभवी खेलाडी

गुलसन झा : कम उमेरमा ‘डेब्यू’देखि एउटै खेलमा अर्धशतक र ५ विकेटको उपलब्धिसम्म

विस्फोटक ब्याटिङ अलराउन्डर भुर्तेल– डेब्युमै 'प्लेयर अफ दि म्याच' भएका नेपाली ओपनर

salt training

कमेन्ट गर्नुहोस्