२८ असार २०८३, आइतबार
विश्वकप–२०२६ विशेष

कहिल्यै नतोडिने कीर्तिमानदेखि ऐतिहासिक स्ट्राइक रेटसम्मको गौरवशाली यात्रा

माघ १७, २०८२
काठमाडौं
कहिल्यै नतोडिने कीर्तिमानदेखि ऐतिहासिक स्ट्राइक रेटसम्मको गौरवशाली यात्रा

नेपाली राष्ट्रिय टोलीका अनुभवी र प्रभावशाली खेलाडी हुन्, दीपेन्द्रसिंह ऐरी । उनी टोलीका उप–कप्तान र अलराउन्डर खेलाडी पनि हुन् । अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै पटक उनकै उत्कृष्ट प्रदर्शनका कारण टोलीले सफलता पनि हात पारेको छ ।

दीपेन्द्र अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि तीन हजारभन्दा बढी रन र सय विकेट लिने एकमात्र खेलाडी पनि हुन् । दीपेन्द्रले दोस्रो पटक टी–२० विश्वकप खेल्न लागेका हुन् । यसअघि, सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रूपमा आयोजित टी–२० विश्वकपको नवौं संस्करणमा पनि उनले देशको प्रतिनिधित्व गरेका थिए ।

२६ वर्षीय दीपेन्द्रको ब्याटिङ जति आक्रामक छ, बलिङ पनि उत्तिकै धारिलो । उनी कमालका फिल्डर पनि हुन् । उनले देशका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय गरी दुबै ढाँचाको प्रतियोगिता खेलिसकेका छन् । उनले हालसम्म देशका लागि एक सय ५८ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् ।

दीपेन्द्रले ६८ वटा एकदिवसीय अन्तर्राष्ट्रिय र ९० वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको ६४ पालीमा उनले २१.७७ को औसतले कुल एक हजार दुई सय ४१ रन बनाएका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रियमा उनको स्ट्राइक रेट ७४.३१ रहेको छ । उनले बनाएको उच्च स्कोर भने एक सय पाँच रन हो । यसक्रममा उनले एक शतक र पाँचवटा अर्धशतक पनि प्रहार गरेका छन् । उनले ९३ चौका र १७ छक्का पनि हिर्काएका छन् । एकदिवसीइमा उनले ३२ वटा क्याच पनि लिएका छन् ।

यसैगरी, उनले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिताको ७८ पालीमा ३२.०६ को औसतले कुल एक हजार नौ सय ५६ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको स्ट्राइक रेट १३९.११ रहेको छ । यो ढाँचाको क्रिकेटमा उनको उच्च स्कोर भने अविजित एक सय १० रन हो ।

null

टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले एक शतक र १० वटा अर्धशतक पनि प्रहार गरेका छन् । उनले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा एक सय ३९ चौका र ८२ छक्का पनि हिर्काएका छन् । यो ढाँचाको क्रिकेटमा उनले ४० वटा क्याच पनि लिएका छन् ।

यसैगरी, उनले एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा ४२ वटा विकेट पनि लिएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन १८ रन खर्चिएर तीन विकेट हो । टी–२० अन्तर्राष्ट्रियमा पनि उनले ५८ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन केवल १८ रन खर्चिएर चार विकेट हो ।

एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू : दीपेन्द्रले सन् २०१८ को अगस्त १ तारिखमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । आफ्नो ‘डेब्यू’ खेलमा उनले ३३ रन बनाएका थिए । उनले एउटा क्याच पनि लिएका थिए । उनले पछिल्लो एकदिवसीय भने सन् २०२५ को नोभेम्बर ५ तारिखमा संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध खेलेका थिए ।

टी–२० अन्तर्राष्ट्रियमा डेब्यू : दीपेन्द्रले सन् २०१८ को जुलाई २९ तारिखमा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गरेका थिए । उनले आफ्नो पहिलो खेल लर्डसमा नेदरल्यान्ड्सविरुद्ध खेलेका थिए । उक्त खेल अनिर्णित रूपमा सकिएको थियो ।

उनले टी–२० अन्तर्राष्ट्रियस्तरको आफ्नो पछिल्लो खेल सन् २०२५ को अक्टोबर १७ तारिखमा सामोआविरुद्ध खेलेका थिए । उक्त खेलमा उनले केवल ३३ बलमा चार छक्का र दुई चौकाको मद्दतले ५३ रन बनाएका थिए । टी–२० विश्वकपको एसियाली छनोटअन्तर्गत खेलिएको उक्त खेलमा नेपाल एक सय २४ रनले विजयी भएको थियो ।

प्रथम श्रेणी, लिस्ट ‘ए’ र टी–२० : दीपेन्द्रसिंहले एउटा प्रथम श्रेणीको क्रिकेट खेलेका छन् । त्यसमा उनले एक रनमात्र बनाउन सकेका थिए । यसका अतिरिक्त, उनले ८९ लिस्ट ‘ए’ प्रतियोगिता पनि खेलिसकेका छन् ।

लिस्ट ‘ए’ प्रतियोगितामा उनले कुल एक हजार ६ सय ९७ रन बनाएका छन् । यो प्रतियोगितामा उनको उच्च स्कोर एक सय पाँच रन हो । उनले एक शतक र आठवटा अर्धशतक बनाएका छन् । उनले ३८ वटा क्याच पनि लिएका छन् । लिस्ट ‘ए’ क्रिकेटमा उनले ५० विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन १४ रन खर्चिएर चार विकेट हो ।

यसैगरी, दीपेन्द्रले ९९ वटा टी–२० प्रतियोगिता पनि खेलेका छन् । टी–२० प्रतियोगिताको ८६ पालीमा उनले कुल दुई हजार ६२ रन बनाएका छन् । उनको उच्च स्कोर अविजित एक सय १० रन हो । उनले एक शतक र १० अर्धशतक बनाएका छन् । उनले ४८ क्याच लिएका छन् । यो प्रतियोगितामा उनले ६० विकेट लिएका छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन १८ रन खर्चिएर चार विकेट हो ।

अघिल्लो विश्वकपमा प्रदर्शन : दीपेन्द्रसिंह ऐरीले दोस्रोपटक टी–२० विश्वकप खेल्न लागेका हुन् । उनले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजित टी–२० विश्वकपको नवौं संस्करण पनि खेलेका थिए ।

उक्त विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा उनी एक रन बनाउँदै आउट भएका थिए । बलिङतर्फ भने उनले एक विकेट लिएका थिए । उनले एउटा क्याच पनि लिएका थिए । उक्त खेलमा नेपाली टोली ६ विकेटले पराजित भएको थियो ।

उक्त विश्वकपमा श्रीलंकाविरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो । दक्षिण अफ्रिकाविरुद्धको खेलमा पनि उनी ६ रनमा आउट भएका थिए । तर, त्यो खेलमा उनले तीन विकेट लिएका थिए । उनले दुईवटा क्याच पनि लिएका थिए । त्यो खेलमा नेपाल एक रनले पराजित भएको थियो ।

यसैगरी, समूह चरणको अन्तिम खेलमा उनले बंगलादेशविरुद्ध २५ रन बनाएका थिए । त्यो खेलमा उनले दुई विकेट पनि लिएका थिए । उक्त खेलमा बंगलादेश २१ रनले पराजित भएको थियो ।

null

दुर्लभ विश्व कीर्तिमान : चीनमा सम्पन्न १९औं एसियाली खेलकुदमा दीपेन्द्रले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुर्लभ कीर्तिमान बनाएका थिए । उनले केवल नौ बलमा अर्धशतक पूरा गरेका थिए । उनको यो कीर्तिमान भविष्यमा पनि कसैले तोड्न सक्ने छैन ।

बढीमा यो कीर्तिमानको बराबरीसम्म हुन सक्छ । उनले मंगोलियाविरुद्धको खेलमा उक्त कीर्तिमान बनाएका थिए । यसअघि उक्त कीर्तिमान भारतका युवराज सिंहको नाममा थियो । उनले सन् २००७ मा इङ्ल्यान्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए ।

कीर्तिमान : ओमानमा सम्पन्न एसीसी प्रिमियर कपमा दीपेन्द्रले कतारविरुद्ध ६ बलमा लगातार ६ वटा छक्का पनि हिर्काएका थिए । उनी ६ बलमा ६ वटा छक्का प्रहार गर्ने पहिलो नेपाली खेलाडी पनि हुन् । विश्व क्रिकेटमा पनि यसलाई दुर्लभ कीर्तिमान मानिन्छ ।

त्यतिबेला उनी विश्व क्रिकेटमा यस्तो उपलब्धि हासिल गर्ने केवल तेस्रो खेलाडी बनेका थिए । त्यसअघि भारतका युवराज सिंहले सन् २००७ को टी–२० विश्वकपमा इङ्ल्यान्डविरुद्ध एकै ओभरमा ६ वटा छक्का हिर्काएका थिए । सन् २०२१ मा वेस्ट इन्डिजका काइरन पोलार्डले श्रीलंकाविरुद्ध यस्तो उपलब्धि हासिल गरेका थिए ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २००७ को विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध दक्षिण अफ्रिकाका हर्सेल गिब्सले यस्तो कीर्तिमान बनाएका थिए । अमेरिकाका जसकरण मल्होत्राले पपुवा न्युगिनीविरुद्ध एकदिवसीय क्रिकेटमा यस्तो उपलब्धि हासिल गरेका थिए ।

यसैगरी, उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाँचौं नम्बरमा ब्याटिङ गर्न आएर सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा १२औं स्थानमा छन् । उनले सन् २०२२ को अप्रिल २ तारिखमा कीर्तिपुरमा खेलिएको मलेसियाविरुद्धको खेलमा अविजित एक सय १० रन बनाएका थिए ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एउटै पालीमा उच्च स्ट्राइक रेटमा रन बनाउने ब्याट्सम्यानको सूचीमा भने उनी विश्वमै पहिलो स्थानमा छन् ।

यसैगरी, दीपेन्द्र एउटै स्टेडियममा सर्वाधिक टी–२० अन्तर्राष्ट्रिय रन बनाउने ब्याट्सम्यानको सूचीमा २१औं स्थानमा आसीन छन् । उनले कीर्तिपुरस्थित क्रिकेट मैदानमा हालसम्म टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिताका कुल ६ सय ४० रन बनाएका छन् ।

यसैगरी, टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एउटै पालीमा उच्च स्ट्राइक रेटमा रन बनाउने ब्याट्सम्यानको सूचीमा भने उनी विश्वमै पहिलो स्थानमा छन् । सन् २०२३ को सेप्टेम्बर २७ तारिखमा एसियाली खेलकुदका क्रममा चीनमा सम्पन्न मंगोलियाविरुद्धको खेलमा उनले ५२०.०० को स्ट्राइक रेटमा रन बनाएका थिए ।

यसैगरी, टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार तीन खेलमा अर्धशतक बनाउने ब्याट्सम्यानको सूचीमा उनी १४औं स्थानमा छन् । उनले लगातार तीन खेलमा अर्धशतक बनाएका छन् ।

यसैगरी, उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो एक हजार रन पूरा गर्ने खेलाडीको सूचीमा २९औं स्थानमा छन् । उनले ३४ खेलमा एक हजार रन पूरा गरेका थिए ।

यसैगरी, दीपेन्द्र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी प्लेयर अफ दी म्याच घोषित हुने खेलाडीको सूचीमा पनि २१औं स्थानमा आसीन छन् । उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म १० पटक प्लेयर अफ दी म्याच घोषित भएका छन् ।

यसैगरी, उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एउटै पालीमा सबैभन्दा बढी ब्याट्सम्यानलाई पेभेलियन फर्काउने खेलाडीको सूचीमा पनि आठौं स्थानमा छन् । उनले एउटै खेलमा बलिङ र क्याचमार्फत ६ खेलाडीलाई पेभेलियन फर्काएका छन् ।

यसका अतिरिक्त, दीपेन्द्र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको एउटै शृंखलामा दुई सय ५० रन बनाउने र १० विकेट लिने खेलाडी पनि हुन् ।

salt training

कमेन्ट गर्नुहोस्