
जेफ्री एप्स्टिन प्रकरणमा जारी संसदीय अनुसन्धानका क्रममा पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन र पूर्व विदेशमन्त्री हिलारी क्लिन्टन व्यक्तिगत रूपमा उपस्थित भएर बयान दिन सहमत भएका छन्।
संसद्को मानहानि सम्बन्धी मतदानको दबाब बढ्दै गएपछि उनीहरूले अन्तिम समयमा वासिङ्टन डीसीमा उपस्थित हुने प्रस्ताव अघि सारेका हुन्। महिनौँदेखि बयान दिन अस्वीकार गर्दै आएका क्लिन्टन दम्पतीले संसद्ले उनीहरू विरुद्ध कडा कानुनी कदम चाल्ने तयारी गरेपछि आफ्नो अडान परिवर्तन गरेका हुन्।
हाउस ओभरसाइट कमिटीका अध्यक्ष जेम्स कोमरले क्लिन्टन दम्पतीको यो पछिल्लो प्रस्तावमाथि अझै स्पष्टता आवश्यक रहेको बताएका छन्। कोमरका अनुसार सदनले मानहानिको प्रक्रिया अघि बढाएकै कारण उनीहरू बयानका लागि तयार भएका हुन् । तर अझै पनि बयानका लागि कुनै निश्चित मिति भने तय गरिएको छैन। कोमरले क्लिन्टन पक्षका सर्तहरू स्पष्ट भएपछि मात्र कमिटीका सदस्यहरूसँग छलफल गरेर अर्को कदम चाल्ने उल्लेख गरेका छन्।
क्लिन्टनका प्रवक्ता एन्जल युरेनाले सामाजिक सञ्जालमार्फत आफूहरूले इमानदारिताका साथ वार्ता गरेको र पूर्व राष्ट्रपति तथा पूर्व विदेशमन्त्री सदनमा उपस्थित हुन उत्सुक रहेको बताएका छन्। उनले कोमरमाथि राजनीतिक दाउपेच गरेको आरोप लगाउँदै क्लिन्टन दम्पतीले सबैका लागि लागू हुने गरी एउटा नजिर स्थापना गर्न चाहेको बताए।
बिल क्लिन्टनले एप्स्टिनसँगको सम्बन्ध र कुनै पनि गलत कार्यमा आफ्नो संलग्नता नरहेको दाबी बारम्बार दोहोर्याउँदै आएका छन्।