
नेपालमा उत्पादन हुने घिउ अमेरिका, अष्ट्रेलियादेखि जापानसम्म निर्यात हुने गरेको छ। कुनै समय भारतमा मात्रै सर्वाधिक निर्यात हुने घिउ पछिल्ला वर्षहरूमा अमेरिका, अष्ट्रेलियादेखि जापानसम्म निर्यात हुन थालेको हो।
चालू आर्थिक वर्षको ६ महिना अर्थात् पुस मसान्तसम्म कुल १ करोड ८८ लाख ३२ हजार रुपैयाँ बराबरको १७ हजार ९० किलोग्राम घिउ विदेशमा निकासी गरिएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ। कुल निर्यातको ९९.७ प्रतिशत अर्थात् १ करोड ८७ लाख ८१ हजार रुपैयाँको घिउ जापानमा मात्रै निर्यात भएको छ। बाँकी ०.२७ प्रतिशत अर्थात् ५१ हजार रुपैयाँको भारतमा निकासी भएको छ।
२०७७ सालमा नेपाल दुग्ध विकास संस्थानले उत्पादन गरेको ४७ लाख ४ हजार रुपैयाँ बराबरको घिउ जापानमा निर्यात गरी निकासीको सुरुआत गरिएको थियो। सरकारी संस्थाले यसरी घिउ उत्पादन गरेर निर्यात गरेको पहिलोपटक थियो।
कुनै समयमा अत्यधिक भारतमा निर्यात गरिने शुद्ध घिउ पछिल्ला वर्षहरूमा घटेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका सूचना अधिकारी कृष्णराज बजगाईँ बताउँछन्। धार्मिक रूपमा नेपालमा उत्पादन हुने घिउको माग धेरै हुने गरेको तर, पछिल्ला वर्ष भारततर्फको माग पूर्ण रूपमा घटेको उनको भनाइ छ।
‘नेपालको घिउ भारतमा धार्मिक रूपमा बढी माग हुने हो। तर पछिल्ला वर्षहरूमा अन्य मुलुकहरूमा निर्यात भइरहेको छ’, उनले भने, ‘तर भारतमा त्यो माग अहिले छैन। त्यसैले अन्य मुलुकहरूमा घिउ गइरहेको छ।’
विशेष गरी नेपालबाट भारतमा हिन्दु राष्ट्रको घिउ भनेर खरिद गर्नेहरू अहिले नामबाट बिक्री हुन नै छोडेको व्यापारीहरू बताउँछन्। भारतको आन्तरिक उत्पादन बढे पनि हिन्दु राष्ट्रको घिउ भनेर ब्रान्डिङ गरिएको तर, पछि यसको माग नै नभएको उनीहरूको भनाइ छ।
कुन राष्ट्रमा नेपालबाट कति घिउ हुन्छ निकासी?
आर्थिक वर्ष २०८१/८२ मा नेपालबाट भारत र जापानमा मात्रै घिउ निकासी भएको थियो। यस आवमा कुल १ करोड ५२ लाख ५४ हजार रुपैयाँको घिउ निकासी भएको भन्सार विभागको तथ्याङ्कमा देखिन्छ।
आव २०८०/८१ मा नेपालले भारत र जापानबाहेक अष्ट्रेलिया र अमेरिकामा समेत घिउ निकासी गरेको थियो। यस वर्षभरि नेपालले कुल १ करोड ९६ लाख २ हजार रुपैयाँ बराबरको घिउ निर्यात गरेको थियो।
कुल निर्यातमा सबैभन्दा बढी ९२ लाख १७ हजार रुपैयाँको जापानमा, ५५ लाख ७४ हजारको भारतमा, ३० लाख १२ हजारको अमेरिकामा र १७ लाख ९८ हजार बराबरको अष्ट्रेलियामा निकासी गरिएको छ।
आव २०७७/७८ मा नेपालले केवल जापानमा मात्रै घिउ निर्यात गरेको थियो। त्यतिबेला नेपालले कुल ४७ लाख ४ हजार रुपैयाँ बराबरको घिउ निर्यात गरेको थियो। यस वर्षदेखि नेपालले घिउको निर्यात खुला गरेको थियो। यसअघिसम्म नेपालबाट घिउको निर्यातमा रोक लगाइएको थियो।
निकासी फुकुवा गरिएको दोस्रो वर्ष २०७८/७९ मा नेपालले क्यानडा, जापान, भारत र हङकङमा घिउ निकासी गरेको थियो। यस वर्षभरि नेपालले भारतलाई ३ लाख ९२ हजार, क्यानडालाई १ लाख ९० हजार, हङकङलाई १ हजार र जापानलाई १ करोड ९३ लाख ५२ हजार रुपैयाँ बराबरको घिउ पठाएको थियो।
तेस्रो वर्ष २०७९/८० मा नेपालले अष्ट्रेलिया र जापानलाई मात्रै घिउ निर्यात गरेको थियो। यस वर्षभरि नेपालले अष्ट्रेलियामा २५ लाख ७१ हजार र जापानमा १ करोड ६० लाख ४९ हजार रुपैयाँ गरी कुल १ करोड ८६ लाख २० हजार रुपैयाँ बराबरको घिउ निकासी गरेको थियो।