
आईसीसी टी–२० विश्वकप क्रिकेटको औपचारिक अभ्यास खेलमा मंगलबार नेपाली टोली परिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई)सँग भिड्दै छ ।
नेपाल र यूएईबीचको खेल भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा नेपाली समय अनुसार, साँझ १७:१५ बजे शुरू हुनेछ । नेपाली टोली यसअघि नै चेन्नई पुगिसकेको छ ।
विश्वकप शुरू हुनुअघि नेपाली टोली दुईवटा औपचारिक अभ्यास खेल खेल्ने कार्यक्रम छ । नेपालले दोस्रो अभ्यास खेल बिहीबार क्यानडासँग चेन्नईमै खेल्नेछ ।
टी–२० विश्वकपको १०औं संस्करण फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ ।
आगामी विश्वकपमा नेपाली टोली समूह ‘सी’ मा परेको छ । उक्त समूहमा नेपालसँगै इङ्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र स्कटल्यान्ड रहेका छन् ।
त्यसमध्ये इङ्ल्यान्ड र वेस्ट इन्डिज टी–२० विश्वकपका पूर्वविजेता हुन् । अन्तिम समयमा बंगलादेशले विश्वकप बहिस्कार गरेपछि स्कटल्यान्डले खेल्ने अवसर पाएको हो ।
नेपाल र यूएईबीच हालसम्म ११ वटा टी–२० अन्तर्राष्ट्रिय खेलिएको छ । त्यसमध्ये ६ खेलमा नेपाल र पाँच खेलमा यूएई विजयी भएका छन् ।
पछिल्लो पटक यी दुई टोली सन् २०२५ को अक्टोबर १२ तारिखमा आपसमा भिडेका थिए । टी–२० विश्वकपको एसिया प्रशान्त क्षेत्रीय छनोटअन्तर्गत खेलिएको उक्त खेलमा नेपाली टोली एक रनले विजयी भएको थियो ।