०१ असार २०८३, सोमबार

रुसको विषयमा फिफा अध्यक्षलाई युक्रेनी मन्त्रीको जवाफ : ‘युद्ध अपराध हो, राजनीति होइन’

माघ २०, २०८२
काठमाडौं
रुसको विषयमा फिफा अध्यक्षलाई युक्रेनी मन्त्रीको जवाफ : ‘युद्ध अपराध हो, राजनीति होइन’

विश्व फुटबल महासंघ (फिफा)ले रुसमाथि लगाइएको प्रतिबन्ध हटाउने विषयमा विचार गर्ने भनी दिएको प्रतिक्रियाले युक्रेन असन्तुष्ट बनेको छ ।

युक्रेनको खेलकुद मन्त्रालयले रुसको विषयमा फिफाले सार्वजनिक गरेको पछिल्लो धारणालाई ‘गैरजिम्मेवार’ र ‘केटाकेटीपन’ भनेर टिप्पणी गरेको छ ।

केही समयअघि फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने गरी रुसमाथि लगाइएको प्रतिबन्ध हटाउने विषयमा विचार गरिने बताएका थिए ।

युक्रेनमाथि आक्रमण गरेको कारण देखाउँदै फिफा र युरोपेली फुटबल महासंघ (यूईएफए) ले सन् २०२२ को फेब्रुअरीमा रुसी राष्ट्रिय टोली र क्लबहरुमाथि प्रतिबन्ध लगाएका थिए ।

‘यो प्रतिबन्धले कुनै पनि उपलब्धि हासिल भएको छैन । केवल थप निराशा र घृणा सिर्जना गरेको छ,’ फिफा अध्यक्ष इन्फान्टिनोको धारणा छ, ‘प्रतिबन्ध हटाइएमा रुसका बालबालिकालाई युरोपका विभिन्न भागमा फुटबल खेल्ने अवसर जुर्नेछ ।’

इन्फान्टिनोको सोही धारणाको जवाफमा युक्रेनका खेलकुदमन्त्री माटवी बिडनीले फिफा अध्यक्षको प्रतिक्रिया गैरजिम्मेबार भनेर टिप्पणी गरेका हुन् ।

‘फिफा अध्यक्षको भनाइ गैरजिम्मेबार र केटाकेटीपनको छ,’ स्काई न्यूजसँगको कुराकानीमा युक्रेनी खेलकुदमन्त्री माटवी बिडनीले भनेका छन्, ‘फिफाले रुसकै कारण हजारौं बालबालिकाको मृत्यु भएको कुरालाई पनि बुझ्नु आवश्यक छ ।’

लामो समयदेखि प्रतिबन्धमा परेका कारण रुसले सन् २०२२ को विश्वकप फुटबलमा सहभागिता जनाउन पाएको थिएन । रुसले सन् २०२४ को यूईएफए युरो पनि खेल्न पाएको थिएन ।

यसका अतिरिक्त, प्रतिबन्धकै कारण रुसले सन् २०२६ को फिफा विश्वकपमा पनि सहभागी हुन पाउने छैन । ‘युद्ध अपराध हो, राजनीति होइन । फिफाले यस विषयमा पनि सोच्नु आवश्यक छ,’ युक्रेनी मन्त्री बिडनीले भनेका छन् ।
 

 

salt training

कमेन्ट गर्नुहोस्