
नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले भनिदिए, 'कांग्रेस अहिले पनि यथा अवस्थाकै पार्टी हो । गुरुङले मंगलबार कांग्रेसमा नयाँ अनुहार आएको, तर नयाँ भिजन नआएको बताए ।
‘कांग्रेसको विशेष महाधिवेशनपछि पनि उहाँहरूको सिद्धान्त, विचार र दर्शनमा कुनै फेरबदल भएको छैन । त्यसैले कांग्रेस यथा अवस्थामै छ‚’ उनको भनाइ थियो ।
‘बदलियो कांग्रेस‚ बदल्छौं देश’ पुरानो दल नेपाली कांग्रेसको नारा बनेको छ । हरेक उम्मेदवार‚ नेता/कार्यकर्ता तथा शुभेच्छुकका फेसबुक वाल लगायत सामाजिक सञ्जालमा यही नाराका पर्चाहरू असरल्ल देखिन्छन् ।
विश्लेषणको पाटोबाट हेर्दा कांग्रेस अहिले पनि पुरानै पारामा चलेको देखिन्छ ।
एमाले उपाध्यक्ष गुरुङको विश्लेषण जस्तै कांग्रेस आक्रामक ढंगले चुनावी प्रचारमा उत्रिन सकेको छैन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा नयाँ शक्तिहरूले चुनावी माहोललाई आफ्नो पक्षमा बलियो बनाउँदै लगेका छन् । तर‚ दोस्रो विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गरेर जनतामा कांग्रेस बदलेको भने पनि त्यसको उपयोगिता चुनावी मैदानमा पर्न सकेको छैन ।
२३ र २४ भदौको जेनजी विद्रोह नै आसन्न निर्वाचनको आधार हो । पुरानो दल नेपाली कांग्रेसभित्र पनि २७-३० पुसको विशेष महाधिवेशनको सूत्रपात त्यही दुई दिनको घटना हो ।
उक्त विशेष महाधिवेशनले वर्षौंदेखि दलमा एकछत्र राज गरेका नेताहरूलाई किनारा लगायो र नवीन कांग्रेस बनाउँदै रूपान्तरण र पुस्तान्तरण एक साथ गरेको दाबा पनि गर्यो ।
एकपक्षीय व्यापक असन्तुष्टिबीच नेतृत्व परिवर्तन गरेको र आसन्न निर्वाचनमा टिकट वितरण गर्दै कांग्रेसले १०६ नयाँ अनुहारलाई टिकट दिएको छ । स्वयं पार्टी उपसभापति विश्वप्रकाश शर्मा निर्वाचन नलडेर सबैलाई निर्वाचन जिताउने कमान्डर बनेका छन् ।
सभापति गगनकुमार थापा काठमाडौं छाडेर चुनाव लड्न मधेश झरेका छन् । निवर्तमान सभापति शेरबहादुर देउवा कार्यवाहक सभापति पूर्णबहादुर खड्का मात्र होइन, कांग्रेसभित्रका ‘राजकुमार’हरू शशांक कोइराला र प्रकाशमान सिंह पनि यसपटक चुनाव लड्दै छैनन् ।
यसबाहेक बालकृष्ण खाँण‚ वीरबहादुर बलायर‚ रमेश लेखकजस्ता प्रभावशाली नेताहरू पनि चुनाव लड्दै छैनन् । रामहरि खतिवडा‚ गुरू बराल‚ सीता गुरुङ‚ किरण पौडेलजस्ता नेताहरू पनि चुनावी मैदानमा छैनन् । यतिमात्र होइन, यी नेताहरू विशेष महाधिवेशनबाटै असन्तुष्ट छन् ।
अर्कोतर्फ यी नेताहरूले टिकट नपाउँदा कांग्रेस बदलियो‚ दागी र बुढाहरूलाई किनारा लगाएर नवीन कांग्रेस बनाइयो भनेर पार्टीले चुनावी मार्केटिङ पनि गर्न सकेको छैन ।

यतिसम्म कि ‘संसदीय व्यवस्था’मा पार्टी सभापति गगनकुमार थापालाई प्रधानमन्त्री घोषणा गरेर गएको कांग्रेसले चुनावी माहोललाई आमूलरूपमा आफ्नो पक्षमा पार्यो भन्न सकिँदैन ।
‘निर्वाचन आयोगले ४ जेठपश्चात मात्र आमसभा र चुनावी र्यालीहरू गर्न पाउने भनेकाले आयोगको नियम मान्नैपर्छ,’ पार्टी प्रवक्ता देवराज चालिसे भन्छन् ।
३० दिन पश्चात् देशमा २७५ सांसद चुनिँदै छन् । २१ फागुनमा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सीट आफ्नो पक्षमा पार्न दलहरू मतदाताको दैलोमा छन् ।
चुनावी क्षेत्र‚ घरदैलो‚ सामाजिक सञ्जाल लगायत चुनाव प्रचार हुने अन्य स्थानमा विशेषगरी नयाँ दलहरूको पक्षमा माहोल छ । सामाजिक सञ्जालको अल्गोरिदमदेखि मतदाताहरूको निराशामा पनि पुराना दल पिसिएका छन् । समग्रमा समाजमा माहोल र परिस्थिति नयाँ शक्तिहरूप्रति सकारात्मक हुँदै गएको देखिन्छ । पुरानो दल कांग्रेस भने नेतृत्व परिवर्तनपछि पनि डिफेन्सिभ नै देखिन्छ ।
रास्वपा लगायत नयाँ दल र उम्मेदवारले भ्रष्टाचारका अनेक काण्डहरूको उजागर गरिरहेका छन् । कांग्रेस, एमालेलगायत पुराना दल मिलेर देशमा लुटतन्त्र मच्चाएको भन्दै चुनावी प्रचारलाई बलियो बनाउने र आफ्नो पक्षमा माहोल बनाउने प्रयत्न उनीहरूको छ।
आफूहरू जिते केसम्म गर्न सकिन्छ भनेर मतदातालाई बुझाउन खोजिरहेका छन् । तर‚ कांग्रेसले भने नेतृत्व बदलेर पनि त्यसको ब्रान्डलाई स्थापित गर्न सकिरहेको छैन । केन्द्रीय नेतृत्व परिवर्तन गरेर देश बदल्छौं भन्ने नाराभित्र के लुकेको छ भन्ने कांग्रेसले स्पष्ट पार्न सकेको छैन ।
पहाडका केही निर्वाचन क्षेत्र घुमेर मोरङ पुगेकी पार्टी सहमहामन्त्री डिला संग्रौला पार्टीको चुनावी अभियान आक्रामक भाषाभन्दा पनि परिवर्तनको स्पष्ट भिजनसहित अघि बढिरहेको बताउँछिन् ।
चुनाव प्रचार-प्रसार गर्दा एक-अर्कालाई गाली गर्ने राजनीति कांग्रेसभित्र नभएको र आफ्ना मुद्दा तथा एजेन्डा लिएर जनतामाझ गइरहेको उनको भनाइ छ ।
‘मैले होसियारीपूर्वक आफू पुगेको निर्वाचन क्षेत्रमा स्थिति बुझेर आएको छु । देश बदल्ने उद्देश्यका साथ नेपाली कांग्रेस अघि बढिरहेको यो समयमा कतै निर्वाचनको परिणाम अरू शक्तिले आफ्नो पक्षमा लैजाने हो कि भन्ने चिन्ता स्वाभाविक रूपमा देखिन्छ‚’ उनी भन्छिन् ।
कांग्रेस नेताहरूको दाबी सुन्दा अन्य दलले ‘पपुलिजमको टेको’ समाएर मात्र चुनाव लडिरहेका छन् भन्ने बुझिन्छ । आम जनता‚ नयाँ मतदाता र पटक-पटक आफूलाई नै मत हाल्दा दिक्क भएका नेता कार्यकर्ताको मन बुझ्ने फुर्सद नै छैन । विगतमा ‘रूख’भन्दा बाहिर मत नहाल्ने मतदातालाई सिद्धान्तै नमिल्ने पार्टीलाई भोट हाल्न लगाएर अत्याचार गरेको भेउ पाएकै छैनन् ।
यसपटक सबैतिर आफ्नै उम्मेदवार उठाएर ‘रूखमै मत’ भने पनि चित्त दुखाएर बसेका मतदाताहरूलाई फर्काउन पार्टीले भूमिका खेल्न नसकेको अनौपचारिक कुराकानीमा नेताहरूले बताउने गरेका छन् ।
यद्यपि, सहमहामन्त्री संग्रौला पार्टीप्रति जनताको आशा, भरोसा, विश्वास कायम रहेको बताउँछिन् । पार्टीलाई समयानुसार परिमार्जन गर्दै बदलिएर जनताको बीचमा पुगेको दाबी उनको छ ।
‘मैले यो कुरा केवल सतहबाट होइन, गहिराइमा पुगेर बुझ्ने प्रयास गरेको छु। पहाडबाट तल हेरेजस्तै समग्र अवस्था नियाल्दा, सामाजिक सञ्जालमा देखिने हिम्मत र उत्साह यथार्थमै पनि रहेको मैले पाएको छु‚’ उनको दाबी छ‚ ‘देश बदल्ने हाम्रो संकल्प निर्वाचनको क्रममा ओझेल परेको छैन । बरु, त्यही संकल्पअनुसार नै हाम्रो प्रचार-प्रसार अघि बढिरहेको छ ।’
देश बदल्ने एजेन्डा के हो त?
नारामा कांग्रेस बदलेको र देश बदल्छौं भन्ने नारा राखे पनि एजेन्डागत रूपमा पार्टीले बुझाउन सकेको छैन । चुनावी प्रचारमा पनि कसरी कांग्रेस बदलियो भनेर चिनाउन सकिरहेको छैन । आफ्नै अन्तरघातको पीडा र रोगलाई निको बनाउन नसकिरहेको पार्टीले ‘पपुलिजम’को कार्ड खेल्ने दल र उम्मेदवारलाई काउन्टर दिन सकेकै छैन । यसले आफ्नो एजेन्डा स्थापित गर्नभन्दा पनि पार्टीलाई डिफेन्सिफतिरै धकेल्दै लगेको छ ।
विशेष महाधिवेशनपश्चात् बसेको पहिलो केन्द्रीय समिति बैठकले सभापति गगनकुमार थापालाई घोषणा पत्र लेखनको जिम्मेवारी दियो । थापा मधेशमा चुनाव प्रचारमा गए । उनको टीमले घोषणा पत्र लेखिरहेको छ । त्यसैले घोषणापत्र नआएसम्म देश बदल्ने एजेन्डा के हो भन्ने अन्योल छँदैछ ।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा कांग्रेसबारे विभिन्न पुस्तक लेखिसकेका डा. जगत नेपाल ‘देश बदल्ने’ भन्ने विषय चुनावी नारा भएको र यसको यथार्थको मापन सरकारमा पुगेपश्चात् हुने धारणा राख्छन् ।
‘देश बदल्नका लागि पहिला निर्वाचन जित्नैपर्छ, सरकारमा जानैपर्छ । निर्वाचन नजितेसम्म क्याम्पेनिङबाहेक गर्न सकिने काम सीमित हुन्छन्‚’ उनले भने ।
नेपालले उक्त विश्लेषण सुनाएपनि निर्वाचन जित्ने एजेन्डा र मतदाता आकर्षित गर्दै राजनीतिलाई नै ध्रुवीकरण गर्ने काम कांग्रेसले गर्न सकेको छैन । जस्तो कि रास्वपाले बालेनलाई प्रधानमन्त्री घोषणा गरेर देशदौडाहा गरायो । पूर्वमा झापादेखि पश्चिम सुदूरपश्चिमको भूभागसम्म पुर्याएर बालेनले माहोल बनाउन चाहे । जनकपुरमा गएर मैथिलीमा भाषण गरेर उनले मधेशको सेन्टिमेन्ट रास्वपातिर तान्ने प्रयास गरे । सामाजिक सञ्जाल‚ चर्चित सञ्जालका ग्रुपसम्म बालेन र उनको क्रेजलाई ब्रान्डिङ गर्ने हरसम्भव प्रयासहरू भइरहेका छन् । यस्तो माहोल चिर्न कांग्रेस विशेष गरी गगन-विश्वको जोडीले आजको दिनसम्म कुनै रणनीतिक काम गर्न सकेको छैन ।

विश्लेषक नेपाल चुनाव जित्नुअघि गर्नुपर्ने मिहिनेत र चुनाव जितेपश्चात् पार्टीले देशलाई हाँक्ने स्पष्ट खाका दिन सक्नुपर्ने धारणा राख्छन्, किनभने कांग्रेसले तत्काल आफूलाई सुधार गर्न सकेन भने पार्टीको औचित्य नै समाप्त हुने खतरा उनी देख्छन् । त्यसैले अहिले कांग्रेसले गरिरहेको प्रयास बाध्यात्मक मात्र नभई समयको माग समेत भएको बुझाइ उनको छ ।
२३-२४ भदौपश्चात बदलिएको राजनीतिले दबाबमा गगन विश्वलाई ल्याइदिएको छ । उनीहरूको जबजस्त हस्तक्षेपले पार्टीभित्र ठूलो भुइँचालो गएको छ । २१ फागुनमा हुने निर्वाचनमा पनि त्यस्तै भुइँचालो जाने गरी रणनीतिक रूपमा‚ आक्रामक भएर निराशाको व्यापार फस्टाएको समाजलाई सही ट्र्यायकमा लैजानुपर्ने दबाब वर्तमान कांग्रेस नेतृत्वमा छ । यसका लागि पहिलो कुरा चुनाव जित्नुपर्ने, चुनाव जित्नका लागि जनताको विश्वास पुनः आर्जन गर्नुपर्ने दबाबमा कांग्रेस छ । जनताको विश्वास प्राप्त नगरी पार्टी बदले पनि देश बदल्न सकिन्न भन्ने नेतृत्वकर्ता गगन-विश्वलाई थाहा हुनुपर्ने छ ।
‘उनीहरूले अहिलेको नेतृत्वले समाजमा देखिएको निराशा, ध्रुवीकरण र असन्तोष चिर्ने प्रयास गरेको देखिन्छ‚’ नेपाल थप्छन्‚ ‘अघिल्लो नेतृत्वले भित्र्याएको विकृति–विसंगति, लामो समयसम्म नेतृत्व नबदलिँदा पैदा भएको ब्युरोक्रेटिक प्रवृत्ति र सीमित समूहमा शक्ति केन्द्रित हुने अवस्थाले जनतामा निराशा जन्माएको थियो। अहिले त्यो संरचना तोड्ने प्रयास भएको छ, जसले केही हदसम्म आशा सिर्जना गरेको छ।’
त्यो आशालाई परिणाममा बदल्न फेरि पनि चुनाव जित्नैपर्ने र कार्यान्वयनको पाटो भने सरकारमा गएपछि मात्रै देखिने नेपालको तर्क छ । ‘पार्टीको संस्कार, गल्ती स्वीकार गर्ने साहस र सुधारको इच्छाशक्ति पनि महत्त्वपूर्ण संकेत हुन्‚’ उनी भन्छन्‚ ‘नेपालको सबैभन्दा पुरानो र शिक्षित पार्टीका रूपमा कांग्रेसले ‘हामीबाट गल्ती भयो’ भनेर स्वीकार गर्नु नै आजको सन्दर्भमा ठूलो राजनीतिक परिपक्वता हो।’
दलीय व्यवस्थामा राजनीतिक संस्कारलाई अघि बढाउने दलहरूले नै हो । बाहिरबाट नयाँ दल वा नयाँ मानिस आयात गरेर देश चलाउने अवस्था रहँदैन । उदाएका नयाँ शक्ति‚ यहीँ स्थापित दल र यहीँ परीक्षण भइसकेका नेताहरूबीचबाट जनताले विवेकपूर्ण छनोट गर्नुपर्छ । अनुभव बटुलेका दलहरूले आफ्ना कमजोरी सुधार्न सक्छ र सक्नुपर्छ । अनुभव नभएकाहरूले अनुभव संगाल्न र सिक्न लाग्नुपर्छ ।
समय लोकरिझ्याइँको पछि दगुरेको छ । परिस्थितिलाई यहाँसम्म पुर्याउने काम पनि राजनीतिक दलहरूकै हो । चरम असन्तोषलाई चिर्न नसक्नु‚ सरकारमा गएपश्चात् चुनावी वाचा भुल्नेजस्ता कारणले समाजलाई अराजक बनाएको यथार्थमा हो । त्यसैले जनतामा पटक-पटक टेस्ट भएका दलहरूले परिस्थितिको मूल्यांकन गर्ने र देशको भाग्य-भविष्य बदल्ने संकल्प लिन सक्नुपर्ने जोड विश्लेषक नेपालको छ ।
‘लोकप्रियताको हुइँमा बगेर गलत मान्छे चुनिए भने देश फेरि गलत दिशामा जान सक्छ। मूल्य, नैतिकता र काम गरेर देखाएका व्यक्तिहरू अगाडि आए भने गल्तीको सम्भावना स्वतः घट्छ‚’ नेपालले भने‚ ‘अहिले कांग्रेसले यही पपुलिजम र भावनात्मक हुइँलाई चिर्ने प्रयास गरिरहेको देखिन्छ, यद्यपि त्यसको प्रस्तुति अझै पर्याप्त प्रभावशाली हुन सकेको छैन।’
भिजन १० ले बनाउला कांग्रेसलाई भरोसायोग्य दल?
बदलिएको दाबी गर्दै आएको कांग्रेसले देश बदल्न ‘भिजन १०’ भनेर घोषणापत्र ल्याउने बताएको छ । जेनजी विद्रोहको मेरुदण्ड सुशासन र समुन्नतिलाई आधार बनाएर घोषणा पत्र ल्याउने तयारी कांग्रेसको छ । जहाँ पूरा गर्न नसकिने बाचा नराख्ने गरी शिक्षा, स्वास्थ्य रोजगारी अर्थतन्त्र‚ बदलिएको प्रविधिको समाज तथा लोककल्याणकारी राज्य स्थापित गर्ने गरी घोषणा पत्र लेख्ने काम भइरहेको सभापति थापाको सचिवालयमा बसेर काम गरिरहेका प्रताप पौडेल बताउँछन् ।
कांग्रेस नेतृत्वमा रहेकाहरूको दाबीअनुसार अहिले कांग्रेसले अलि फरक ढंगले काम गरिरहेको छ । संगठन, तयारी र रोजगारीसम्बन्धी योजनाहरू पनि पहिलेभन्दा व्यवस्थित हुँदै गएको दाबी उनीहरूको छ । मुख्य प्रश्न अर्थतन्त्रलाई कसरी पुनर्जीवित गर्नेमा कांग्रेसले आर्थिक सुधार, संरचनात्मक रिफर्म, शिक्षा प्रणालीको सुधार तथा विशेष गरी विदेश पलायन भइराखेको शिक्षालाई कसरी देशभित्रै गुणस्तरीय बनाउने भन्ने विषयमा गम्भीर भएर काम गरेको सहमहामन्त्री बहादुर सिंह लामा बताउँछन् ।
‘हाम्रो दृष्टिकोण ‘विनाशकारी परिवर्तन’ होइन, सुधारमुखी रिफर्म हो । भएका संरचनालाई ध्वस्त पार्ने होइन, तिनै संरचनालाई सुधार गरेर अघि बढ्ने हो‚’ उनी भन्छन्‚ ‘प्रशासन, सुशासन र गभर्नेन्सको सवालमा पनि अब फरक ढंगले जानुपर्छ । सूचना प्रविधिलाई प्राथमिकतामा राखेर सबै कुरा डेटाबेसमा लैजानु आवश्यक छ । डाटामा आधारित प्रणाली लागू गरियो भने आय-स्रोत, कर प्रणाली, व्यापार, रोजगारी-सबै पारदर्शी हुन्छन् । यही पारदर्शिताले भ्रष्टाचार नियन्त्रण गर्न मद्दत गर्छ ।’
बागमती प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका लामा उद्योग, कलकारखाना र रोजगारी सिर्जनाका लागि सहजीकरण गर्ने र लगानीकर्तालाई सुरक्षा ग्यारेन्टी दिँदै उत्पादन र रोजगारी दुवै बढाउने गरी पार्टी घोषणापत्र आउने बताउँछन् ।
‘अहिले पार्टी ‘डिफेन्स मोड’मा छैन। पहिला भ्रष्टाचार र कमजोरीका विषयमा बचाउमै समय बित्थ्यो, अहिले पार्टी सुधारको एजेन्डासहित अघि बढेको छ‚’ उनी थप्छन्‚ ‘देश बदल्छौँ भन्ने नारा पनि त्यसैको अभिव्यक्ति हो।’
तर, कांग्रेसको मत माग्ने शैली र प्रचारमा यी सबै विषय समेटिएको देखिँदैन नि ? भन्ने प्रश्नमा उनी राजनीति केवल दौडधूप र नाराबाजी मात्र नभएको भन्दै पार्टी भावनात्मक लोकप्रियतामा नभई व्यावहारिक र सम्भव सुधारका एजेन्डामा आधारित राजनीतिमा लागेको बताउँछन् ।
‘झुटा सपना बाँडेर ‘सबै गरिदिन्छौं’ भन्नु जिम्मेवार राजनीति होइन। सकिने कुरा गर्ने, भएको संरचनालाई सुधार गर्ने भन्ने बाटोमा कांग्रेस अघि बढिरहेको छ‚’ उनले थपे ।